शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

तीन लघुकथा

शनिबार, २० साउन २०८०, ०६ : ५८
शनिबार, २० साउन २०८०

 १. चेतना
“तिमीलाई थाहा छ ? मेरो मामुको बूढो मामा घर यहीँ हो रे । ” उदितले भन्यो । 
“कस्तो रमाईलो ठाउँ ।” दीपाले भनिन् । 
“त्यही भएर मैले रेस्टुरेन्टमा भन्दा यता मज्जा आउँछ भन्या नि ।” उदितले भन्यो । 
“पानी त फोहोर भएछ है ।” दीपाले भनिन् । 
“मामुको बूढो मामाहरूले यहीँको पानी खाएर हुर्किया  रे । ” उसले भन्यो । 
“पुरै हरियो घाँस छ त । यसले त पुर्न आँट्या जस्तो छ ।” दीपाले भनिन् । 
“यो जलकुम्भी हो नि । पैसा मात्र खान्छन्, कसैलाई मतलब छैन भन्या । सफा राख्नुपर्छ नि ।” उसले आफ्नो धारणा राख्यो । 
उनीहरूले आफ्नो आफ्नो झोला खोले । 
“ए गिलास पनि ल्या हो ?” उदितले सोध्यो । 
“तिमी जस्तो हो र ? ठाडै पार्ने ।” दीपाले भनिन् । 
करिब एक घण्टापछि फेवाको किनारमा फोहोर फाल्ने टोकरीभन्दा चार हात पर ड्राई फ्रुटको खाली प्याकेट, दुईवटा प्लास्टिकका गिलास र दुईवटा बियरका खाली बोतल लडिरहेका देखिन्थे ।

२. अन्न
“कहाँबाट आयौ सानो बच्चा बोकेर ?” उनलाई सोधियो । 
“घरमा अन्नको गेडा छैन । खाद्यको डिपो पुगेर आएको, थकाई लागेको छ ।” उनले भनिन् । 
“कति केजी दिएछ ? ” उनलाई सोधियो । 
“कहाँ पाउनु, आफ्नो पालो आउनै लाग्दा सकियो नि ।” उनले निराश भएर भनिन् । 
“अब के गर्ने त ?” 
अर्को हप्ता आउँछ भन्या छन् ।” उनले भनिन् । 
“अलि अगाडि गएको भए त पाउँथ्यो होला, है ?” उनलाई सोधियो । 
“दिनदिनै धाउनुपर्छ । पोहोर पनि चामल लिन खाद्य डिपो धाउँदा कोदो गोड्न बितिगयो । अहिले पनि कोदो गोड्न पाउने छाँट छैन ।” उनले भनिन् । 
यो सबै कोदोले घाँसभित्र लुकेर सुनिरहेको थियो ।

३. स्थानीय विकास
“गाउँपालिकाबाट बजेट परेछ, ल काम गर्नुपर्‍यो ।” हरिप्रसादले भने । 
उपभोक्ता समिति गठनको लागि भेला बोलाइयो । 
“के कामको लागि परेछ ?” हर्क बहादुरले सोधे । 
“हाम्रो पुरानो पँधेरोलाई व्यवस्थित बनाउनु पर्‍यो । त्यसैका लागि हो ।” हरिप्रसादले भने । 
उपभोक्ता समिति गठन भयो । आवश्यक रकम उठाएर बैंक खातामा जम्मा गरियो । गाउँपालिकाबाट छुट्ट्याइएको रकम पनि उक्त खातामा जम्मा गरियो । 
काम सम्पन्न भयो तर धाराबाट एक थोपा पानी चुहिएन । 
“पानी आउँदैन त, के भयो ?” उमेशले भन्यो । 
“वर्षामा आउँछ नि,” हरिप्रसादले भने । 
“वर्षामा त बलेसीमा नि आउँछ नि,” उमेशले भन्यो ।

पोखरा–७, मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप