बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डेंगु प्रभावित क्षेत्रमा बागमती सरकारको अध्ययन टोली परिचालन

संक्रमण नियन्त्रणका लागि ‘खोज र नष्ट गर अभियान’ मै जोड
आइतबार, २१ साउन २०८०, १५ : २२
आइतबार, २१ साउन २०८०

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले मन्त्रालयको पहलमा डेंगु नियन्त्रणका लागि लामखुट्टेको स्रोतमै पुगेर रोकथाम र नियन्त्रणका उपाय अपनाउने गरी काम सुरु गरिएको बताएका छन् ।

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको उनले बताए । डेंगु नियन्त्रणका लागि मन्त्रालयले आवश्यक छलफल र परामर्शबाट गरेर ‘एक्सन प्लान’ बनाइ कार्यान्वयनमा अघि बढेको पनि उनले जानकारी दिए ।

डेंगुको ठोस उपचार र औषधि नहुने भएकाले संक्रमण हुनबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भएको मन्त्री जोशीको भनाइ छ । डेंगु रोगको संक्रमण नियन्त्रणका लागि आम नागरिक नै सचेत हुनुपर्ने हुन्छ, त्यसैले सचेतना अभियान नै यसका लागि उपयुक्त हुने उनले बताए ।

सचेतनाको अभियान सञ्चालनका लागि मन्त्रालयले मातहतका स्वास्थ्य कार्यालयहरुलाई निर्देशनसमेत दिएको मन्त्री जोशी बताउँछन् । स्वास्थ्य कार्यालयहरुले स्थानीय तहसँग समन्वय गरी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको उनले बताए ।

यो अभियान निरन्तर रहने जानकारी दिँदै मन्त्री जोशीले विगतको जस्तो समस्या नहोस् भनेर मन्त्रालयले सबै पक्षलाई तयारी अवस्थामा राखेको बताए ।

मन्त्री जोशीका अनुसार मन्त्रालयले संक्रमितहरुको उपचारमा समस्या नहोस् भनेर मातहतका अस्पतालहरुमा पूर्व तयारीका काम गर्न निर्देशन दिएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै प्रादेशिक अस्पतालहरुमा बेड संख्या थप गर्ने र आवश्यक मात्रामा परीक्षण किटहरु खरिद तथा स्टोर गर्ने कामसमेत अघि बढाइएको उनको भनाइ छ ।

मन्त्रालयले संक्रमण दरको अवस्था हेरेर सम्बन्धित अस्पतालहरुमा जनशक्ति, स्वास्थ्य सामग्रीको सुनिश्चिताका लागि बजेटको समेत व्यवस्था गरेको उनले बताए ।

मन्त्रालयको अध्ययन टोली फिल्डमा

पछिल्लो समय डेंगु संक्रमण तीब्र गतिमा फैलिएसँगै मन्त्रालयबाट अध्ययन टोली फिल्डमा खटाइएको मन्त्री जोशीले बताए । विज्ञसहितको अध्ययन टोली संक्रमण दर उच्च भएका जिल्लामा जाने र डेंगु नियन्त्रणका लागि आवश्यक काम गर्ने उनले बताए ।

उनका अनुसार निरन्तरको प्रयासका बाबजुद पनि डेंगु संक्रमण दर तीब्र रुपमा फैलिएका कारण धादिङमा मन्त्रालयबाट अध्ययन टोली खटाइएको छ । सो टोलीले धादिङको संक्रमण दर र नियन्त्रणको प्रयासका विषयमा अध्ययन गर्ने र संक्रमण दर नियन्त्रण तथा उपचारमा गर्नुपर्ने थप कार्य अघि बढाउने उनले बताए ।

उक्त टोलीको सुझाव अनुसार मन्त्रालयले डेंगु नियन्त्रणका लागि आवश्यक काम गर्ने पनि मन्त्री जोशीले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप