मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
आँखा पाक्ने रोग

के आँखा पाक्ने रोगले प्रकोपको रूप लिँदै गएको हो ?

आँखा पाक्दा यस्तो गर्न हुँदैन
सोमबार, २२ साउन २०८०, १० : ५०
सोमबार, २२ साउन २०८०

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिकामा आँखा पाक्ने रोगले सताएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । आँखा पाक्ने रोगको प्रकोप तीव्र गतिमा फैलिएकाले यसलाई रोक्न यही साउन २१ देखि २३ गतेसम्म बिदा गरिएको सो गाउँपालिकाले जनाएको छ । 

प्रतापपुर गाउँपालिका अन्तरगत सबै सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरूमा पठनपाठन तीन दिनसम्म रोकिएको हो । 

यता, काठमाडौँका अस्पतालहरूका ओपीडीमा पनि आँखा रातो, गुलाबी हुने अर्थात् आँखा पाक्ने बिरामीको चाप बढेको छ । तिलगंगा आँखा अस्पतालमा दैनिक सयभन्दा धेरै आँखा पाक्ने बिरामी ओपीडीमा पुग्ने गर्छन् । यस्तै, त्रिवि शिक्षण  अस्पताल (टिचिङ), पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठान, ग्लोबल आँखा अस्पतालको ओपीडीमा दैनिक ४० देखि ४५ जना आँखा पाक्ने बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

यस सङ्क्रामक रोगले साना बालबालिकादेखि युवा, वयस्क, ज्येष्ठ  नागरिकलाई सताएको चिकित्सकहरू बताउँछन् । 

पाटन अस्पतालका आँखा विभागका डा. रञ्जना शर्माले राजधानीसँगै हिमाली, पहाडी र तराईका जिल्ला पुगेर आएकाहरू आँखा पाक्यो भन्दै ओपीडीमा आउने दर बढेको सुनाइन् ।

eye hospital

किन बढ्यो आँखा पाक्ने रोग ? 

गएको ३ वर्ष यता आँखा पाक्ने बिरामीको अस्पतालमा चाप बढेको पाटन डा. शर्माले बताइन् । अघिल्ला वर्ष कोरोना महामारी कालमा मानिसहरूको आवत जावत, भेटघाट कम हुँदा आँखा पाक्ने दर कम देखिएको उनको भनाइ छ ।

यस्तै, काठमाडौँ उपत्यका लगायतका स्थानमा बायु प्रदूषणले पनि आँखा पाक्ने प्रकोपलाई सहयोग गर्ने त्रिवि शिक्षण अस्पताल अन्तर्गतका आँखा विभागका दृष्टि विशेषज्ञ डा. सञ्जीव भट्टराईले बताए ।

मौसम परिवर्तन हुँदा रोग प्रतिरोधात्मक क्षमतामा परिवर्तन आउने भएकाले विभिन्न भाइरसले आक्रमण गर्ने ग्लोबल आँखा अस्पतालकी डा. विन लिम्बुले बताउँछन् । उनका अनुसार आँखा पाक्ने एडिनो भाइरस अर्थात् कम्युनिटी भाइरसको सङ्क्रमणले प्रकोपको रूप लिएको हो ।

डा. लिम्बू अगाडि  भन्छन्, यस रोगले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी सताउँछ । आँखा पाक्दा उनीहरूलाई ज्वरो, रुघा खोकी लगायतका थप समस्या समेत आउन सक्छ ।

‘विगतमा आँखा पाक्ने समस्या लिएर अस्पताल आउनेहरूमा रुघा, खोकी, ज्वरो लगायतको पनि समस्या देखिन्थ्यो ।’ उनले भने, ‘अहिले भने आँखाको मात्रै समस्या लिएर आएका छन् ।’

आँखा पाक्ने रोगको औषधि छ ?

डा. लिम्बुका अनुसार एडिनो भाइरस सङ्क्रमणबाट आँखा पाकेमा यसको औषधि हुँदैन । यस भाइरसका कारण आँखा पाकेमा एक सातादेखि दुई सातामा निको हुन्छ । 

यो सुरुमा लाग्दा र निको हुने क्रमका बीचमा आँखा पाकेर बिरामी मेडिकल, फार्मेसी र चिकित्सकमा पुग्ने गर्छन् । विभिन्न किसिमका औषधि आँखा राख्दा झन् निको हुन ढिला हुने उनको जिकिर छ । 

‘बिरामी सङ्क्रमण भई रोग बढ्ने क्रममा डाक्टरकोमा पुग्ने गर्नु हुन्छ,’ उनले भने, ‘धेरै जनाले डाक्टरमा गएर पनि निको भएन भन्नु हुन्छ । वास्तवमा यस भाइरल रोगको औषधि छैन । बिस्तारै आफै निको हुन्छ ।’ 

आँखा पाक्ने रोग आफै निको भए पनि केही व्यक्तिमा रगतले प्रतिक्रिया देखाउन सक्ने भएकाले चनाखो हुनुपर्ने उनको भनाइ छ । 

यस्तै, डा. शर्माका  अनुसार आँखा पाक्दा कालो नानी छोएर दृष्टिमा असर गर्नुलाई मेडिकल्ली भाषामा सिभीरिटी भनिन्छ । आँखा पाक्दा आँखा रातो त हुन्छ । तर, विगतमा भन्दा अहिले आँखा पाक्दा केही कुरा फरक देखिएको उनले अनुभव गरेका बताइन् । 

उनका अनुसार आँखा पाकेर अस्पतालसम्म पुग्दा दृष्टिमा असर पुर्‍याएको पाइएको छ । यदि, दोस्रो सातासम्म पनि पाकेको आँखा निको नभई धमिलो हुने, बत्तीको वरिपरि इन्द्रेणी देखिएमा तत्काल डाक्टरलाई देखाउन उनको सुझाव छ । 

अपनाउनु पर्ने सावधानी

डा. सञ्जीव भट्टराईका अनुसार अनुसार आँखा पाक्ने समस्या भएका बिरामीले हेर्दा, आँखा जुधाएर बस्दा सर्छ भन्ने भ्रम छ तर सर्दैन । आँखा पाकेमा अपनाउनु पर्ने सावधानी यस्ता छन्:

-एक आँखाबाट अर्को आँखामा यो रोग सर्न नदिन रुमालले एउटा आँखा पुछेर, अर्को आँखा त्यही रुमालले पुछ्नु हुन्न । 

-आँखामा औषधि लगाउँदा सङ्क्रमित आँखालाई छोएर हात सफा तत्काल गरेर मात्रै अर्को आँखा छुनुपर्छ । 

-परिवार तथा अन्य व्यक्तिमा सर्न नदिन चस्माको प्रयोग गर्नुपर्छ । सङ्क्रमित सुतेको ओछ्यानमा अरूलाई सुत्न दिनु हुँदैन । 

-विद्यालय, कलेज तथा कार्यालयमा जानेहरूमा आँखा पाक्ने समस्या देखिएमा सकेसम्म दुई हप्ता आराम गर्ने वातावरण मिलाउनु पर्छ । 

-भिड हुने स्थानमा जान हुँदैन ।

-ठुला अस्पतालहरूले आँखा पाकेको समस्या लिएर परीक्षण गर्न जाने बिरामीलाई उपचार गर्ने कक्ष छुटै बनाउनु पर्छ । 

-आँखा पाक्ने रोगले प्रकोपको रूप लिएकाले साधारण रोग लाग्नेहरू अलि पछि जँचाउन जाँदा हुन्छ ।

आँखा पाक्दा यस्तो गर्न हुँदैन  

–आँखा पाक्दा दूध आँखामा नराख्ने । 

–आइसले आँखा नसेक्ने

–तातो पानीले पनि आँखा नसक्ने ।

आँखा पाक्दा के हुन्छ ?

आँखा रातो हुने  ।

आँसु आउने ।

बिहान चिप्रा आउने ।

चिलाउने, पोल्ने ।

घाममा हेर्दा गाह्रो हुने ।

परेलाका डिल सुनिने ।

कहिलेकाहीँ आँखा रातो अन्य कारणले पनि हुन सक्छ । आँखा पाक्यो भनेर घरमा बस्दा झन् समस्या बढ्न सक्ने भएकाले समस्या बढ्दै गएमा चिकित्सकलाई देखाउन डा. भट्टराईको सुझाव छ । उनले भने ‘आँखा रातो  सङ्क्रमणले भएको वा अन्य कारणले भएको हो भन्नेबारे थाहा पाउनुपर्ने हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप