शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मणिपुर हिंसाबारे ‘सरकारले निष्क्रियता देखाएको’ काङ्ग्रेस नेता गान्धीको आरोप

बुधबार, २४ साउन २०८०, १६ : १०
बुधबार, २४ साउन २०८०

नयाँदिल्ली । भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप बुधबार लगाएका छन् । मणिपुर राज्यमा कम्तीमा १२० जनाको ज्यान जाने गरी भएको हिंसालाई लिएर विपक्षी दलहरूले गरेको आलोचनाप्रति मोदी प्रशासनले यसै साता आफ्नो धारणा राख्दै विपक्षीहरूको आरोपको खण्डन गरेको छ । 

संसदमा गान्धीले गरेको कडा सम्बोधन महिनौंसम्म अशान्ति लाई भड्काउन दिएकोमा सरकारको राजिनामाको मागसहित दर्ता भएको अविश्वास मतको बहसमाथिको एक हिस्सा हो ।  उनले भने, “तपाईंहरू देशैभरि मट्टितेल फ्याँक्दै हुनुहुन्छ । तपाईंले मणिपुरमा मट्टितेल फ्याँक्नुभयो यसबाट द्वन्द्व (आगो दन्किएको) छ,” गान्धीले समर्थकको जयजयकार र प्रतिद्वन्द्वी सांसदहरूको कटाक्षबीच भने ।

भारतमा अर्को वर्षको सुरुमा आम निर्वाचन हुनेछ । मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) लाई विपक्षीहरूले चुनावी उद्देश्यका लागि विभाजन भड्काएको आरोप लगाउँदै आएका छन् ।  भाजपाको बृहत् बहुमत रहेको ५४३ सदस्यीय तल्लो सदनमा अविश्वासको मतलाई भाजपाले सहजै बहुमतद्वारा असफल पार्ने अपेक्षा गरिएको छ ।

“भारतीय सेनाले एक दिनमा शान्ति ल्याउन सक्छ, तर तपाईंहरूले त्यसको प्रयोग गरिरहनुभएको छैन,” गान्धीले भने । गान्धीले भने, “यदि प्रधानमन्त्री मोदीले भारतको आवाज सुन्नुहुन्न भने कसको आवाज सुन्नुहुन्छ ?”

हिंसा नियन्त्रणका लागि भारतका अन्य भागबाट सैनिकहरू तैनाथ गरिएको छ र राज्यका अधिकांश भागमा कर्फ्यु र इन्टरनेट बन्द भएको छ। भारतको सर्वोच्च अदालतले गत साता ‘मोदी’ समुदायको आलोचना गरेको भन्दै गान्धीविरूद्धको मानहानिको सजाय स्थगन गरेपछि गान्धीलाई सोमबार संसद्मा पुनः स्थापित गरिएको थियो ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा राजनीतिक विरोधलाई दबाउने प्रयासको रूपमा आलोचकहरूले उठाएको मुद्दामा गान्धीलाई मार्चमा दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

त्रिपन्न वर्षीय गान्धी स्वतन्त्रताका नेता जवाहरलाल नेहरुदेखि सुरु भएका तीन पूर्व प्रधानमन्त्रीका छोरा, नाति र पनाति हुन् । राहुलका मावली हजुरबुवा नेहरू, हजुरआमा इन्दीरा गान्धी र पिता राजिब गान्धीले भारतको प्रधानमन्त्रकिो जिम्मेवारी बहन गरिसकेका छन् । 
कुनै समय भारतको प्रमुख राजनीतिक शक्ति रहेको गान्धीको दल भारतीय काङ्ग्रेसले भाजपाविरुद्ध दुई पटक पराजय भोगिसकेको छ । 

गान्धी र उनका सहयोगीहरूले अर्को वर्ष हुने राष्ट्रिय चुनावअघि साना पार्टीहरूको ठूलो गठबन्धन बनाउने प्रयास गरिरहेका छन् भने भारतीय प्रधानमन्त्री मोदीले लगातार तेस्रो कार्यकालका लागि निर्बाचन अभियानमा जाने तयारी गरिरहेका छन् ।
मणिपुरमा हिन्दू बहुल मेइतेई बहुल र क्रिश्चियन समुदायको बाहुल्यता रहेको कुकी समुदायबीच गत मे महिनायता भएको सशस्त्र झडपमा कम्तीमा १२० जनाको मृत्यु भइसकेको छ ।

विरोधी समुदायका सदस्यहरूलाई बाहिर राख्न प्रतिद्वन्द्वी मिलिशियाहरूले नाकावन्दीहरू खडा गरेपछि राज्य जातीय आधारमा विभाजित भएको छ । 

झडप सुरु भएदेखि नै द्वन्द्वबारे बोल्न दुई महिनाभन्दा बढी समय लागेको भन्दै विपक्षीहरूले मोदीको आलोचना गर्दै आएका छन् ।  अविश्वासको बहसको अन्त्यमा प्रधानमन्त्रीको सम्बोधन हुने र सम्भवतः बिहीबार यसमा मतदान हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप