आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
त्रिविमा वेथिति

त्रिविको ‘विद्युतीय हाजिरी’ले जब प्राध्यापक, कर्मचारीलाई झट्का लाग्यो...

‘विद्युतीय हाजिरी’ कसले बोकेर हिँड्यो ?
बुधबार, २४ साउन २०८०, १६ : २२
बुधबार, २४ साउन २०८०

काठमाडौं । २०७९ को भदौमा त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीका लागि विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको थियो । त्रिवि कार्यकारी परिषद्को २०७९ भदौ ७ गते बसेको बैठकको निर्णय नम्बर १५६२ मा डिजिटल हाजिरीसम्बन्धी व्यवस्था गर्ने निर्णय गरिएको थियो । 

शिक्षक कर्मचारीहरू समयमा अफिस नआउने, आएपछि चाँडै निस्किने जस्ता विकृति अन्त्य गर्न त्रिविले विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको थियो । तर, त्रिविको उक्त निर्णयको प्राध्यापक कर्मचारीहरूले खुलेरै विरोध जनाए । 

यतिसम्म कि उनीहरूले विज्ञप्ती नै जारी गरेर विद्युतीय हाजिरी हामी मान्दैनौं सम्म भनेका थिए । 

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले प्रेस विज्ञप्ती नै जारी गरेर उक्त निर्णय नमान्ने बताएको थियो । संघका सभापति प्राडा बसन्त ढकालले जारी गरेको विज्ञप्तीमा उक्त अव्यवहारिक निर्णय समयमै फिर्ता लिन र नलिए प्राध्यापकीय मर्यादा, प्राज्ञिक स्वतन्त्रता, पेशागत हित र विश्वविद्यालयको स्वायत्तताका निम्ति एकबद्ध भई चरणबद्ध आन्दोलनका निम्ति तयार रहन आग्रह गरेका थिए । 

TU-Pradhyapak-sang-Birodh_letter

संघले मात्र नभई विभिन्न राजनीति दलप्रति आस्थावान प्राध्यापक कर्मचारी संघ संगठनहरूले समेत उक्त निर्णयको विरोध जनाएका थिए । 

यतिसम्म कि विद्युतीय हाजिरी राखेको खण्डमा फालिदिने चेतावनीसम्म दिएका थिए । त्यसपछि त्रिवि प्रशासन आफ्नो निर्णय कार्यान्वयन गर्नबाट पछि हटेको थियो । 

लामो समय सम्मको गृहकार्यपछि गत फागुन १ गतेदेखि विद्युतीय हाजिरी लागू गरिएको थियो । तर, त्यसको समेत प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

त्रिविअन्र्तगत सम्पूर्ण आंगिक क्याम्पसहरूमा समेत विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । त्रिवि केन्द्रीय कार्यालयका प्रत्येक विभागमा समेत विद्युतीय हाजिरीको व्यवस्था छ । तर, त्यसको  प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

अहिले पनि प्राध्यापकहरू हाजिरी गर्ने र दिनभर बाहिर हराउने गरेका त्रिविका विद्यार्थीहरूले बताएका छन् । स्नातकोत्तर तहमा अध्ययनरत एक विद्यार्थीले प्राध्यापक शिक्षक, कर्मचारीहरूमा विद्युतीय हाजिरीको व्यवस्था हुँदासमेत कुनै प्रभाव नपरेको बताए । 

‘सरहरु आउनुहुन्छ । हाजिर गरेर कता जानुहुन्छ पत्तै पाइँदैन । इमान्दर सरहरूको हकमा यो समस्या नभए पनि, विशेष गरी नेता शिक्षक कर्मचारीको हकमा भने हाजिरी गरेर भाग्ने र बेलुका फेरि हाजिरी गर्न आउने समस्या यथावतै छ ।’ ती विद्यार्थीले भने । 

जब विद्युतीय हाजिरीको एडप्टर चुँडालियो 

कोभिडको समय थियो । त्रिविले अनलाइनमार्फत् कक्षा सञ्चालन गर्ने गरी सफ्टवेयरको विकास गरेको थियो । सम्बन्धित प्राध्यापकले अनलाइनमार्फत् कक्षा लिनुपर्ने भन्ने थियो । 

अनलाइन कक्षा लिनुपर्ने र ई–हाजिरीमा हाजिरी गर्नुपर्ने व्यवस्था थियो । त्यही अनलाइन हाजिरी हेरेर त्रिविले तलब दिने व्यवस्था मिलाएको थियो । अनलाइनमा हाजिरी नभएका शिक्षकहरूको त्रिविले तलब रोकेको थियो । 

त्यसपछि शिक्षकहरू आन्दोलित बनेका थिए, जसको अगुवा थिए उपप्राध्यापक केशवराज पौडेल । आफूले अनलाइनमार्फत् पढाएको र त्यही आधारमा तलब पाउनुपर्ने माग राखेका थिए । तर, त्रिविले अनलाइनमा हाजिरी गरेको नदेखिएको भन्दै उनको तलब रोकिदिएको थियो । 

तलब रोकिएपछि उनले विद्युतीय हाजिरीको एडप्टर नै चुँडाएर हिडेका थिए । त्यसपछि त्रिवि शिक्षाशास्त्र विभागले उनीमाथि कारवाहीका लागि त्रिविलाई पत्राचार गरेको थियो । तर, उनलाई कुनै कारवाही नगरेको बरु उल्टै आफ्नो ज्यान धरापमा परेको त्रिवि शिक्षाशास्त्र विभागका विभागीय प्रमुख कविराज पोखरेलले बताए । 

‘त्यो बेला कारवाहीका लागि लेखेर पठाएका थियौं तर केही कारवाही गरेनन् । पछि विभागले नै एडप्टरको व्यस्थापन गरेको थियो । सरकारी सम्पत्तिमाथि तोडफोड गर्नेलाई कारवाहीको माग गर्दा उल्टै म माथि पटक पटक हमला भयो ।’ उनले भने ।  

उपकुलपतिमाथि खनिए प्राध्यापक   

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत राख्न नदिएको बताएका थिए । शुक्रबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उनले सो मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरेका थिए ।

‘हाम्रा त शिक्षकहरु पनि यस्ता भए कि महिनाको २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन छ । आएर हाजिर ग¥यो, तलब बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले बोकेर हिँडे । पुलिसलाई ल कारबाही गर भन्दा पुलिसले निवेदन नलिने ।’ उनले भनेका थिए । 

उपकुलपतिको भनाईप्रति प्राध्यापकहरूले भने आपत्ति जनाएका छन् । विज्ञप्ती जारी गर्दै उनीहरूले आफ्नो पदको गरिमा कायम राख्नसमेत आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघ तथा त्रिवि प्राध्यापक संघले विज्ञप्ती जारी गर्दै उपकुलपतिलाई आफ्नो अभिव्यक्ति सच्याउन माग गर्यो । 

उपकुलपति बास्कोटाले आफ्नो गल्ती कमजोरी ढाकछोप गर्न अरूलाई दोष लगाउने र एउटा कुनै घटनालाई सामान्यीकरण गर्दै सम्पूर्ण प्राध्यापकहरूप्रति लगाएको आरोप गैरजिम्मेवार र निन्दनीय रहेको बताएका छन् । 

उत, विद्युतीय हाजिरी नै बोकेर लगेको भन्दा नराख्न चेतावनीसहितका विज्ञप्ती प्राध्यापकहरूबाटै आएको एक उपप्राध्यापकले बताए । 

‘प्राध्यापक, शिक्षक तथा कर्मचारीमा अनुशासन कायम राख्न त्रिविले विद्युतीय हाजिरी राख्न खोजेको थियो । कामै नगरेर महिनाको अन्तिममा आएर हाजिरी गर्दै आएका प्राध्यापक कर्मचारीले खुलेरै विरोध गरेका थिए,’ ती उपप्राध्यापकले भने, ‘विज्ञप्ती नै जारी गरे पनि अहिले आएर हामीले त्यस्तो गरेका छैनौं भन्नु लाजमर्दो कुरा हो । काम नगर्ने, नीति नियम मान्दिन भन्ने । कामै नगरी तलब मात्रै बुझ्न खोज्नेबाट समस्या भयो ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप