शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

स्थापित र यादव एमालेबाट बिदा, मणिलाई स्पष्टीकरण !

मङ्गलबार, ३० साउन २०८०, २० : ४०
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । नेकपा एमालेले दुई जना नेतालाई पार्टीबाट बिदा गरेको छ । त्यस्तै एक जना स्थायी कमिटी सदस्यलाई केही दिनमै हटाउने एमालेको तयारी गरेको छ ।

सोमबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वमन्त्री र प्रदेश सभा सदस्य समेत रहेका केशव स्थापित र केन्द्रीय सदस्य प्रमोदनारायण यादव (सिराहा)लाई पार्टीबाट हटाएको हो । 

स्थापित २०७९ को निर्वाचनमा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । स्थापित र यादवले पार्टीमा सक्रिय हुन नसक्ने मौखिक जानकारी दिएपछि उनीहरूलाई पार्टीले बिदा गरेको उपाध्यक्ष सुवास नेम्वाङले बताए । पार्टीमा रहेर पनि सक्रिय नहुने नेताहरूलाई क्रमशः हटाउँदै जाने नीति अनुसार दुई जना नेतालाई सोमबारको सचिवालय बैठकले निर्णय गरेर हटाएको हो ।

त्यस्तै पूर्वमन्त्री समेत रहेका माओवादी पृष्ठभूमिका स्थायी कमिटी सदस्य मणि थापालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमालेका एक नेताले जानकारी दिए । ‘लामो समयदेखि पार्टी कमिटीमा रहेर पनि कुनै पनि काममा नलाग्नेहरुलाई छाँट्दै जाने नीति पार्टीको छ । सोही अनुसार सक्रिय हुन नसक्नेहरूलाई बिदा दिने निर्णय भएको हो’, एमालेका एक पदाधिकारीको भनाइ छ । 

ती पदाधिकारीका अनुसार स्थायी कमिटी सदस्य थापाको हकमा एकपटक स्पष्टीकरण सोधेपछि निर्णयमा पुग्ने निर्णय सचिवालयले गरेको छ । 

सचिवालय बैठकले २ जना नेतालाई केन्द्रीय कमिटीबाट बिदा गरेर अरू दुईजना केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा थप्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप