सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनाभित्र ‘खाल्डाखुल्डीरहित काठमाडौँ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन

मङ्गलबार, ३० साउन २०८०, १८ : ०९
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्सातको समय सकिएलगतै ‘खाल्डाखुल्डीरहित काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौँका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

खानेपानी, नेपाल विद्युत् प्राधिकरण र वर्षातले काठमाडौँका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन् । संघीय सरकारको मातहतमा रहेका सडकहरु वर्षात हटेलगतै स्तरउन्नतीको काममा लाग्ने मन्त्री ज्वालाले बताए । 

मंगलबार चक्रपथ बुढानीलकण्ठको सडक अवलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डी रहित काठमाडौँ बनाउने बताए । ‘दैनिक लाखौँ मानिस हिँड्ने बाटो खाल्डा र खुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौ’ मन्त्री ज्वालाले भने ‘खाल्डा खुल्डी पुर्न र सडकको स्तरउन्नती गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौ भने सडकको अवस्था हेर्न म आफै नियमित आउँछु ।’ 

खानेपानी, नेपाल बिद्युत् प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिने गरेको छ । खानेपानी, नेपाल विद्युत् प्राधिकरण, सडक विभाग र काठमाडौँ महानगरपालिकासहितको एउटा समिति पनि बनेको छ । समितिको बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए । 

‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत् प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ’ मन्त्रालयका सचिव केशव शर्माले भने, ‘अब यो अवस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौ र स्थायी निकास निकाल्छौ ।’ 

वर्षात हटेलगतै भदौको दोस्रो साताबाट सडक मर्मत सम्भारको काम शुरु गरिने भएको छ । महाराजगञ्ज–बूढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडक खाल्डा र खुल्डी परेको छ । यो समस्या तत्काल हल गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप