शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

पक्राउ परेका दुई चिनियाँ गाडीमा सुन ओसार्थे, वेन दम्पती रेस्टुरेन्ट सञ्चालक

बुधबार, ३१ साउन २०८०, २२ : ४१
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा बुधवार चार जना चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीयान मि, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाई छन् ।

चार जना चिनियाँ नागरिकलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायले रातोपाटीलाई बताए । ४ चिनियाँ सुन तस्करीमा अहिलेसम्म पक्राउ गरिएको मध्ये सबैभन्दा माथिल्लो तहको भएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । सुन प्रकरणमा संलग्नहरू विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले ‘सङ्गठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

बुधवार पक्राउ गरिएको दुईजना चिनियाँ नागरिक सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ । सुन ओसार्ने काममा संलग्न थिए चिनियाँ नागरिक डिङ सेग्फा र ली–नेङकाई । ‘भाडामा लिएको गाडीमा उनीहरूले विमानस्थलबाट सुन गोदाम र टोखास्थित गाल्ने ठाउँमा लैजाने गरेको भेटिएको छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘मुख्य तस्करको निकटमा रहेर उनीहरुले काम गरेको देखिन्छ ।’

सुनको काम गर्न तस्करले चारवटा गाडी भाडामा लिएका थिए । सो गाडीमा डिङ सेग्फा र ली–नेङकाईले सुन ओसार्ने गरेका थिए । पक्राउ परेका टीयान मि र वेन तोङ दम्पती हुन् । उनीहरूले ठमेलमा ‘केटीबी’ नामको रेस्टुरेन्ट सञ्चालन गरेका छन् । चिनियाँ लाईभ म्यूजिक आयोजना हुने ‘काराओके रेस्टुरेन्ट’का सञ्चालक दम्पती र सुन तस्करबीच कनेक्सन देखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सुन तस्करी विरुद्ध सीआईबीले अपरेसन सुरु गरेपछि वेन दम्पती लुकेर बसेका थिए । उनीहरूलाई ब्युरोको टोलीले ललितपुरको धापाखेलबाट पक्रेर अनुसन्धान गरिरहेको छ । चिनियाँले सुनको काम गर्न भाडामा लिएको चारवटा गाडी होटल भियानाको नाममा भाडामा लिएको भेटिएको छ । भियना होटलका सञ्चालक  तिब्बतीय मूलका बेल्जियन नागरिक दावा छिरिङ यसअघि नै पक्राउ परेका छन् ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ सहित २१ जना हिरासतमा छन् ।

हालसम्म पक्राउ : रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप