मृत हात्तीको दाहसंस्कार
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर आज मृत्यु भएको जङ्गली हात्तीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।
ट्याङ्कीमा फसेर मृत्यु भएको हात्तीलाई दुई वटा ब्याक हो लोडर (जेसिवी) मेसिनको सहायाताले निकालेर खाल्डो खनी त्यसमा राखेर दाहसंस्कार गरिएको छ । खाल्डामा हात्ती राखेपछि धूपबत्ती गरी कात्रो ओढाई, फूलमाला लगाई अबिर दलेर दाहसंस्कार गरिएको सामुदायिक वनका अध्यक्ष लोकेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार हात्ती राखिएको खाल्डोमा तीन क्विन्टलभन्दा बढी नून छर्किएको थियो ।
यी सबै प्रक्रिया पूरा गरेपछि खाल्डोमा हालिएको हात्तीलाई उपस्थित सबैले माटो दिएपछि खाल्डो पुर्ने कार्य गरिएको थियो । “हिन्दू परम्पराअनुसार हात्तीलाई भगवान् गणेशको अवतारका रूपमा लिइन्छ”, जोशीले भने, “त्यही भएर हात्तीलाई विधि विधानअनुसार दाहसंस्कार गरेका हौँ ।” मरेको हात्तीको दर्शन गर्न स्थानीय बासिन्दाको सामुदायिक वन परिसरमा भीड लागेको थियो ।
स्थानीयवासी अर्जुन मल्लले हात्तीलाई भगवान् गणेशको अवतारका रूपमा लिइने भएकाले दर्शन गरी फूलमाला चढाएर फर्किएको बताए । हात्तीलाई खाल्डोमा राखेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिकले स्वास्थ्य परीक्षण गर्ने कार्यसँगै नाप लिने कार्य गरेका थिए । घटनास्थलमा मुचुल्का बनाउने कार्य कर्मचारीले गरेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले हात्तीलाई बुद्धिमान् प्राणीका रूपमा लिइने गरिएको बताए । “सेफ्टी ट्याङ्कीमा परेर हात्तीको मृत्य भएको पहिलो घटना देखेँ”, उनले भने, “हात्तीले जहिले पनि सुँढले छामेर मात्रै पाइला चाल्ने गर्दछ, कमजोर भए त्यस ठाउँमा जाँदैन, यो घटनामा त्यो भएको देखिएन ।”
मरेको हात्ती पोथी रहेको छ । हात्तीको उमेर अन्दाजी ४० वर्ष रहेको निकुञ्जका प्राविधिकको भनाइ छ । झुण्डबाट छुट्टिएर यस क्षेत्रमा पुगेको हुन सक्ने बताइएको छ । जङ्गली हात्तीको झुण्ड सामुदायिक वन क्षेत्रमै रहेको स्थानीय बासिन्दाको भनाइ छ । प्रत्येक वर्ष चुरे क्षेत्रका सामुदायिक वनमा भारतीय दुधुवा नेशनल पार्कबाट हात्तीको झुण्ड यहाँ आइपुग्ने गरेका छन् ।
दुधुवा नेशनल पार्कमा वर्षाको पानी भरिन सुरु भएपछि चुरे क्षेत्र नजिकका वनमा जङ्गली हात्तीका झुण्ड पुग्ने गर्दछन् । धान काटेर सिद्धिएपछि मात्रै पुनः दुधुवा नेशनल पार्कमा फर्किने गर्दछन् । पुनः गहुँले बाला छाड्ने बेला हात्तीको झुण्ड यहाँ आइपुग्छन् । जङ्गली हात्तीको झुण्डले प्रतिवर्ष मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण