आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कुकुरबीच झगडा भयो, मालिकले गोली चलाए : दुईजनाको मृत्यु, ६ जना घाइते

शुक्रबार, ०१ भदौ २०८०, १३ : १९
शुक्रबार, ०१ भदौ २०८०

कुकुरका कारण निम्तिएको झगडामा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा घरपालुवा कुकुरलाई लिएर झडप भएपछि एक कुकुर मालिकले थुप्रै राउन्ड फायर गरेका छन् ।

सो गोलीबारीमा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईले जारी गरेको भिडियोमा एक व्यक्तिले आफ्नो राइफलबाट फायर गरिरहेको देखिन्छ ।

यो भिडियो स्थानीय व्यक्तिले रेकर्ड गरेका हुन् । समाचार एजेन्सी एएनआईले इन्दौरका अतिरिक्त डीसीपी अमरेन्द्र सिंहसँग कुरा गरेको छ । उक्त कुराकानीमा उनले गोली चलाउने व्यक्ति बैंकमा सेक्युरिटी गार्डको रूपमा काम गर्ने र उनको नाम राजपाल राजावत रहेको बताए ।

डीसीपी अमरेन्द्र सिंहले भने, ‘एक व्यक्ति आफ्नो कुकुरलाई घुमाइरहेका थिए र उनको  कुकुरले छिमेकीको कुकुरसँग झगडा गर्‍यो । जसका कारण घरधनीहरुबीच झडप भएको थियो । झगडाका कारण त्यहाँ केही मानिस जम्मा भएका थिए ।’

उनका अनुसार कुकुरका मालिक सेक्युरिटी गार्ड राजपाल अचानक आफ्नो घर गए र बन्दुक लिएर पहिला हावामा फायरिङ गरे । त्यसपछि मुनी  गोली चलाए । घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जनाको उपचार भइरहेको छ । गोली चलाउने राजपाल पक्राउ परेका छन् । बन्दुक समेत बरामद गरिएको छ । थप अनुसन्धान जारी छ ।

उनीहरुबीच यसअघि कहिल्यै विवाद नभएको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप