आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित

आइतबार, ०३ भदौ २०८०, २१ : २१
आइतबार, ०३ भदौ २०८०

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो । 

पुल निर्माण कम्पनीले गत आवकै रु २२ करोड रकम पाउन बाँकी छ । तर चालु आवमा पुल योजनाका लागि रु १८ करोड मात्रै बजेट आएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

“गत वर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गर्न सकिएको छैन,” गुरुङले भने, “चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन ।” उनले बजेट थपका लागि विभाग र मन्त्रालयमा पेश गरेको बताए ।

पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ । तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजिन नहुँदा निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नरहेको जनाएको छ । महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले काम गरेकै पैसा नै भुक्तानी नहुँदा थप काम गर्न समस्या भएको बताए । 

“पुल निर्माण सम्पन्न भएर आवागमन भइरहेको छ, पुलसँगै बन्ने पहुँच मार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छ,” पाण्डेयले भने, “गत वर्षकै भुक्तानी नभएको अवस्था थप काम गर्न निकै सकस छ ।” उनले काम गरेको भुक्तानी नहुँदा निर्धारित समयमा नै काम सम्पन्न नहुने बताए ।

शनिबार मात्रै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले महाकाली पुलको स्थलगत निरीक्षण गरेका थिए । पुलको अवलोकन गर्दै मन्त्री ज्वालाले आर्थिक अभावकै कारण पुल निमार्णको काम नरोकिने प्रतिबद्धता जनाए । “आर्थिक अभावकै कारण पुल निमार्णको काम रोकिने छैन,” उनले भने, “मन्त्रीपरिषद्को निर्णय गराएर पुल योजनालाई आवश्यक बजेटको व्यवस्था गर्छौँ ।” 

महाकालीपारिको बस्तीलाई यही पुलले सडक सञ्जालसँग जोडेको छ । विसं २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निर्माणको काम २०७७ भदौमा सम्पन्न गर्ने भने पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । विसं २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको काम पछि धकेलिँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप