सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा माओवादीको विस्तारित बैठक : प्रदेशमा पार्टी र सत्ताको तालमेल नमिलेको निष्कर्ष !

भ्रष्टाचारप्रति मुख्यमन्त्री निर्मम हुनुपर्ने, पार्टी रूपान्तरणको अभियानमा सक्रिय हुन निर्देशन
आइतबार, ०३ भदौ २०८०, २१ : १८
आइतबार, ०३ भदौ २०८०

सुर्खेत । शनिवारदेखि जारी नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक आइतबार सम्पन्न भएको छ । प्रदेश राजधानीको शुभ होटेलमा सञ्चालित बैठकमा पार्टी निर्माण सम्बन्धी उच्चस्तरको बहससहित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको प्रदेशस्तरीय कार्यक्रमको तय तथा कार्य विभाजन लगायतका निर्णय भएका छन् । 

बैठकले माओवादीले सुरु गर्न थालेको तीन महिने अभियानको कार्य योजना तयार गरेको छ । माओवादीका केन्द्रीय सदस्य झकबहादुर मल्लका अनुसार प्रदेशसभा सदस्यको कार्य विभाजन र भदौ १६ गते प्रदेशका सबै वडा–वडामा अभियानको उद्घाटन हुने छ । 

केन्द्रले तयार गरेको लक्ष्य र उद्देश्यको जगमा टेकेर ठोस् कार्य योजना तयार भएको र सोही अनुसार सबै नेता, कार्यकर्ता, सङ्गठनलाई प्रशिक्षण गरिएको छ ।

दुई दिने बैठकमा धेरैजसो नेता, कार्यकर्ताले ठुला नेता र पार्टीको वर्तमान साङ्गठनिक अवस्थाबारे प्रश्न उठाएका थिए ।

बैठकमा सहभागीहरूले समग्रमा पार्टी निश्चित मान्छेको दलदलमा फसेको, पार्टी र सत्ताको तालमेल नभएको कुरा उठाएका थिए । 

बैठकले पार्टीबाट तिनवटै सत्ता निर्देशित हुने, माओवादीको नेतृत्वमा रहेका स्थानीय तहमा  एउटा नमुना काम गर्ने, तोकेको फिल्डमा नेता, कार्यकर्ता जानै पर्ने, भ्रष्टाचारप्रति मुख्यमन्त्री र सङ्घीय मन्त्री पनि निर्मम हुनुपर्ने र उत्पादनलाई श्रमसँग जोडेर पार्टी कार्यकर्ताको आर्थिक भविष्य सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ । 

पार्टी उपमहासचिव एवं प्रदेश इन्चार्ज मातृका यादवले पार्टीले गरेको निर्णयमा सबै प्रतिबद्ध भएर लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए । 

ऊर्जामन्त्री समेत रहेका नेता शक्ति बस्नेतले सरकारले थालेको सुशासनको विषयमा नेता, कार्यकर्तालाई जानकारी गराएका थिए । साथै उनले ऊर्जाका क्षेत्रमा गर्न लागेका कार्य र माओवादीले अघि सारेको समाजवादको आधार र समाजवादी मोर्चाको आधार निर्माणका विषयमा कुरा राखेका थिए । पूर्व मुख्यमन्त्री एवं नेता महेन्द्रबहादुर शाहीले पार्टीभित्र विभिन्न सिमा समस्याहरू रहेको र ती समस्याहरू तीन महिने अभियानले हल गर्ने विश्वास व्यक्त गरे । 

बैठकमा कर्णाली सरकारको बारेमा पनि कुरा उठेको थियो । माओवादीले नै नेतृत्व गरेको सरकारले जनताको पक्षमा रहेर काम गर्नुपर्ने आवाज उठेको थियो । मुख्यमन्त्री राजकुमार शर्माले रोजगारीका कुरालाई सरकारले अघि सारेको र कर्णाली निर्माणमा आफू अग्रसर भइरहेको जवाफ दिएका थिए । 

‘ पार्टी रूपान्तरणको नयाँ उचाइमा उठाउने अन्तिम प्रयत्न हो,’ केन्द्रीय सदस्य झकबहादुर मल्लले भने,‘ कर्णालीमा माओवादीलाई अझै बलियो पार्ने गरी लाग्नुपर्ने अवस्था छ ।’ 

बैठकमा यसअघिका कमी कमजोरीबारे बृहत् समीक्षा भएको पनि मल्लले बताए । 

भोलि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ । सोमबारको पार्टी प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप