शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

कर्जा लगानीमा बैंकहरु खुम्चिए : रक्सी, चुरोट उद्योगमा ३७ अर्ब ९८ करोड व्यावसायिक ऋण !

मङ्गलबार, ०५ भदौ २०८०, १३ : २९
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । आर्थिक मन्दीको प्रभाव बजार र उत्पादनमा पर्दा यसको असर बैंकहरुको कर्जा लगानीसमेत देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा बैंकहरुको कर्जा लगानी ९.३ प्रतिशतले घट्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म बैंकहरुले कुल ५७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँमात्र कर्जा लगानी गरेका छन् । अघिल्लो वर्ष बैंकहरुले ५१ खर्ब ५८ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४७ खर्ब ९ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । तथापि, अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश अधिकतम ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत थियो ।

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७९ असार मसान्तसम्म यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

यस्तै समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।

कुन क्षेत्रमा कर्जाको स्थिति के छ ?

कृषिः

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमार्फत कृषि क्षेत्रमा कुल ४ खर्ब १४ अर्ब ६६ करोड रुपैयाँ लगानी गएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ६.८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरुले कुल ३ खर्ब ८८ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । अघिल्लो वर्ष कृषि कर्जाको वृद्धिदर १९.७ प्रतिशत थियो ।

समीक्षा वर्षमा बैंकहरुले कृषि सेवामा ९० अर्ब ९३ करोड रुपैयाँ, चिया उत्पादनमा ५ अर्ब १० करोड रुपैयाँ, पशुपन्छी पालनमा १ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ, वन तथा माछापालनको क्षेत्रमा ३ अर्ब १५ करोड रुपैयाँ र अन्य कृषि उत्पादन र सेवाको क्षेत्रमा १ खर्ब ६० अर्ब ८६ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

तथापि, खानीजन्य क्षेत्रमा आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुले ३४ प्रतिशतले लगानी बढाउँदै ११ अर्ब ७७ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो वर्ष यो क्षेत्रमा बैंकहरुले जम्मा ८ अर्ब ७८ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।

औद्योगिक क्षेत्र:

कृषि पछिको प्रमुख उत्पादनको क्षेत्र औद्योगिकतर्फ बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा कुल ७ खर्ब ५२ अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अघिल्लो वर्षको लगानीभन्दा जम्मा ८.३ प्रतिशतको वृद्धि हो । आर्थिक मन्दीको प्रभाव उपभोग्य बजार नै शिथिल हुँदा मागमा कमी आई उत्पादन कम हुँदा बैंकहरुको लगानीसमेत बढ्न नसकेको हो ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म बैंकहरुले औद्योगिक क्षेत्रमा कुल ६ खर्ब ९५ अर्ब ९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।

समीक्षा वर्षमा बैंकहरुले खाद्यान्न उद्योगतर्फ १ खर्ब १७ अर्ब ५० करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् भने कृषि र वन पैदावर उत्पादनमा ३० अर्ब ३५ करोड २० लाख रुपैयाँ लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

पेय पदार्थ (अल्कोहल तथा नन् अल्कोहल) बियर, विभिन्न ब्राण्डका वाइन (रक्सी) जन्य उत्पादनका उद्योगहरुमा ३६ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले यसै वर्ष टोबाको (चुरोट तथा सुर्तीजन्य) उत्पादनका लागि १ अर्ब १७ करोड १० लाख रुपैयाँ लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

तथापि, पेय पदार्थतर्फ आर्थिक वर्षमा १६ प्रतिशतले कर्जा लगानी बढ्दै गर्दा सुर्तीजन्यतर्फ १५.७ प्रतिशतले लगानी घट्न पुगेको हो ।

यस्तै, ह्याण्डीक्राफ्ट उद्योगतर्फ १४ अर्ब ४२ करोड ८० लाख रुपैयाँ, गार्मेन्ट उद्योगमा ३० अर्ब ३४ करोड ४० लाख रुपैयाँ, फर्निचर उद्योगमा ३४ अर्ब २५ करोड ५७ लाख रुपैयाँ, कागज उद्योगमा १६ अर्ब ४१ करोड ७० लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

यसैगरी छापाखाना तथा प्रकाशन उद्योगमा १२ अर्ब ७१ करोड ४० लाख रुपैयाँ, औषधिजन्य उद्योगमा २८ अर्ब ९९ करोड ३० लाख रुपैयाँ, तेल प्रशोधन तथा उत्पादनमा ५ अर्ब ५२ करोड रुपैयाँ, रबर टायर उद्योगमा २ अर्ब १९ करोड ७० लाख रुपैयाँ, लेदर, प्लास्टिक उद्योगमा क्रमशः २ अर्ब ६९ करोड ६० लाख रुपैयाँ र ३४ अर्ब ३२ करोड ९० लाख रुपैयाँ कर्जा लगानी भएका छन् ।

यस्तै, सिमेन्ट उद्योगका लागि १ खर्ब ३० अर्ब २० करोड ८० लाख रुपैयाँ कर्जा लगानी भएको केन्द्रीय बैंकले जनाएको छ ।

निर्माण क्षेत्र:

भौतिक पूर्वाधार तथा आवास निर्माण, कन्स्ट्रक्सन क्षेत्रमा समीक्षा वर्षमा २ खर्ब २ अर्ब ९६ करोड ३० लाख रुपैयाँ कर्जा लगानी भएको केन्द्रीय बैंकले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६.७ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले कन्स्ट्रक्सन क्षेत्रमा १ खर्ब ९० अर्ब १९ करोड ६० लाख रुपैयाँ लगानी गरेका थिए ।

अटो, अटो पार्टस्, सेयर धितो कर्जातर्फको लगानी घट्यो

समीक्षा वर्षमा बैंकहरुले सवारी कर्जा (अटो लोन) सँगै अटो पार्टस्, सेयर धितो कर्जातर्फको लगानी भने घटाएका छन् । केन्द्रीय बैंकका अनुसार समग्रमा हायर पर्चेज लोनमा १.३ प्रतिशतले वृद्धि भए पनि सवारी तथा सवारी स्पेयर पार्टस् तर्फको कर्जा लगानी ४.५ प्रतिशतले घट्न पुगेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले हायर पर्चेजतर्फ १ खर्ब ५९ अर्ब २० करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सेयर धितो कर्जाः

मौद्रिक नीतिको १२ करोडको सीमा र १५० प्रतिशतको जोखिमभारका कारण यस वर्ष मार्जिन प्रकृतिको कर्जा ५.२ प्रतिशतले घट्न पुगेको छ । केन्द्रीय बैंकका अनुसार बैंकहरुले यो वर्ष सेयर धितो कर्जामा कुल ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँमात्र कर्जा लगानी गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा ५.२ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले सेयर धितो कर्जामा ८० अर्ब ५० करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए ।

केन्द्रीय बैंकका अनुसार समीक्षा वर्षमा बैंकहरुले २५ लाखसम्मको सेयर धितो कर्जामा ७ अर्ब ३ करोड ५० लाख रुपैयाँ, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ, ५० लाखदेखि १ करोड रुपैयाँसम्म ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँ र १ करोडमाथि ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप