बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रियसभा अध्यक्षले भूमिका खेल्न सकेनन् : वामदेव गौतम

मङ्गलबार, ०५ भदौ २०८०, १९ : २५
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताएका छन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा सदस्यले भूमिका खेल्न नसकेकोमा असन्तुष्टि जनाएका हुन् ।

उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने भन्दै संसद्को अवरोध हटाउन सरकार सहयोगी हुने भएपनि उसले गरेन भन्ने गरिएको बताए ।

कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद् अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र नीति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ ? भनेर गौतमले प्रश्न गरे ।

‘अवरोध भइरहेको छ संसद् तर त्यसको मुख्य जिम्मेवार त्यो सदनको अध्यक्षको हुन्छ । राष्ट्रिय सभामा राष्ट्रिय सभा अध्यक्षको हुन्छ । प्रतिनिधि सभामा सभामुखको हुन्छ । मैले त्यो अवरोध हटाउनको निम्ति भूमिका खेलेको जस्तो महसुस गर्न सकिनँ’, उनले भने, ‘प्रतिनिधि सभाको निम्ति सभामुख हो । तर राष्ट्रिय सभाको निम्ति राष्ट्रिय सभाको अध्यक्ष हो । हामी कस्तो संस्कार, संस्कृतिसहितको सदन हाम्रो पुस्ताहरुलाई दिन चाहान्छौँ ?’

उनले समाजवाद पनि यही संसदबाट निर्माण गर्ने भनेर संकल्प गरेको भन्दै के यस्तै हुन्छ संविधान निर्माण गर्ने थलो ? भनेर प्रश्न गरे ।

‘के यस्तै हुन्छ नीति, कार्यक्रम पास गर्ने थलो ? जे मन लाग्यो त्यही गरेको छ । जसलाई जे मन लागेको छ त्यही बोलेको छ । नियम चाहिँदैन । संविधान चाहिँदैन । केही पनि चाहिँदैन । जस्तोसुकै बोलेको छ, र संसद् अवरोध गरेको छ । कसैलाई मन लाग्यो संसद् अवरोध । जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मानेर आउनेहरुले नै आज संसद् अवरोध गरिराखेको छ । के जनताको बहुदलिय जनवादको सिद्धान्तले भन्छ ?’, गौतमको प्रश्न छ ।

उनले शुन्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेकोप्रति असन्तुष्टि जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप