आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुर सिमराको फोहर वीरगन्ज महानगरमा विसर्जन गर्ने सम्झौता

बुधबार, ०६ भदौ २०८०, १० : २४
बुधबार, ०६ भदौ २०८०

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा उत्सर्जन भएको फोहर वीरगन्ज महानगरमा पठाउने भएको छ । उपमहानगरले आफ्नो क्षेत्रबाट उत्सर्जन हुने फोहोर वीरगन्ज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइट) मा विसर्जन गर्ने सम्झौता भएको हो । 

यसै साता जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबीच पाँच बुँदे सम्झौता भएको छ । सम्झौता पत्रमा जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार जीतपुर सिमराले अब दैनिक उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि वीरगन्जको नगवास्थित ल्याण्डफिल्ड साइट प्रयोग गर्नेछ । त्यसबापत जीतपुरसिमराले वीरगन्ज महानगरपालिकाको कार्यालयलाई प्रति मेट्रिक टन कर बाहेक एक हजार छ सय ५० रुपैयाँ बुझाउनेछ ।

जीतपुरसिमराबाट हाल दैनिक ५ देखि ६ मेट्रिक टनसम्म फोहोर उत्सर्जन हुने गर्दछ । उक्त फोहोर व्यवस्थापनका लागि नगरभित्र उचित ल्याण्डफिल्ड साइट नहुँदा उपमहानगरपालिकाको कार्यालयलाई फोहोर व्यवस्थापन गर्न असहज भइरहेको थियो ।

उपमहानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको वडा नं. १ मा पर्ने दुधौरा खोलाको ल्याण्डफिल्ड साइटमा स्थानीयले अवरोध गरेका थिए । दुधौराका स्थानीयले फोहोर विसर्जन गर्न नदिएपछि उपमहानगरपालिकाले वडा नं. ४ र वडा नं. १४ को सिमानामा पर्ने दुधौरा खोलामा फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको थियो । उक्त स्थानमा पनि विरोध भएपछि उपमहानगरपालिकाले विकल्प खोजेको हो ।

फोहोर व्यवस्थापन गर्ने ठाउँको अभावमा उपमहानगरपालिकाले केही दिन फोहोर उठाउन सकेन । जसका कारण बजार क्षेत्र र नगरबासीका घरमा फोहोर थुप्रिन पुगेको थियो ।
नगर क्षेत्रभित्र फोहोर व्यवस्थापन तत्काल हुन सक्ने अवस्था नभएपछि उपमहानगरपालिकाले वीरगन्ज महानगरसँग सहकार्यको प्रस्ताव राखेको र उक्त प्रस्तावमा वीरगन्ज महानगर सकारात्मक देखिएपछि द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौता गर्ने क्रममा जीतपुरसिमराका प्रवक्ता एवम् वडा नं. ४ का अध्यक्ष ईश्वर खत्री, वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, योजना महाशाखा प्रमुख बालाराम खड्काको उपस्थिति रहेको थियो । सम्झौतापछि प्रवक्ता खत्रीले जीतपुरसिमरामा ल्याण्डफिल्ड साइटको उचित व्यवस्थापन नभएसम्म वीरगन्ज लगिने बताए । उनले अब फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकासंगै नगरवासीको समेत भूमिका स्थापित गर्न प्रयास गरिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप