मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

इसरोका वैज्ञानिकले १७ महिनादेखि तलब नपाएको जिकिर

बुधबार, ०६ भदौ २०८०, १६ : ५६
बुधबार, ०६ भदौ २०८०

चन्द्रयान ३ ले बुधवार भारतीय समयानुसार साँझ ६.०४ मा चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयास गर्नेछ । यदि इसरो यसो गर्न सफल भयो भने, भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट–ल्यान्ड गर्ने पहिलो देश बन्नेछ ।

इसरो र चन्द्रयानको चर्चा भइरहेका बेला यता भारतीय कांग्रेस नेता दिग्विजय सिंहले चन्द्रयान ३ को अवतरणका लागि काम गरिरहेका वैज्ञानिकले १७ महिनादेखि तलब नपाएको बताएका छन् ।

दिग्विजय सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भने, ‘हामीलाई गर्व छ कि इसरोका वैज्ञानिक चन्द्रयान – ३ को अवतरण सफल बनाउन मेहनत गरिरहेका छन् । हामी भगवानसँग प्रार्थना गर्छौँ कि मिसन सफल होस् । यसका साथसाथै पत्रिकामा यस्ता खबर पनि आइरहेका छन् कि जो वैज्ञानिकले यस्तो गरिरहेका छन् उनीहरुले १७ महिनादेखि तलब पाएका छैनन् । प्रधानमन्त्रीले यो कुरामा ध्यान दिनुपर्छ । ’

दिग्विजय सिंहको बयानपछि मध्य प्रदेश भाजपा अध्यक्ष बिडी शर्माले दिग्विजय सिंहले योजनाबद्ध ढङ्गले देशलाई बदनाम गर्ने काम गरेको बताएका छन् ।

‘जुन देशका जनतालाई हाम्रा वैज्ञानिकमा गौरव छ, उनीहरूबारे यस्ता प्रश्न उठाइँदै छन् जबकी उनीहरूका लागि प्रार्थना गर्नुपर्छ ।’

चन्द्रयान–२ फेल भएपछि चन्द्रयान – ३ मिसन १४ जुलाईमा लन्च गरिएको थियो । ५ अगस्टमा चन्द्रयान–३ ले चन्द्रमाको कक्षमा प्रवेश गर्‍यो । १७ अगस्टमा दुवै मोड्युल रोभर र ल्यान्डर स्पेसक्राफ्टबाट अलग्गिएको थियो । 

दक्षिण अफ्रिकामा ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो अवतरणको प्रक्रियालाई अनलाइनमार्फत हेर्नेछन् । 

अन्तरिक्ष एजेन्सी इसरोले ल्यान्डिङ कुनै समस्या बिना हुने दाबी गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप