मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

महरा प्रकरणले ‘ब्याकफुट’मा प्रचण्ड सरकार, देउवा हाबी

शुक्रबार, ०८ भदौ २०८०, ०९ : २९
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय सरकारमाथि हाबी हुन थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेस चैत १७ मा सहभागी भए पनि देउवा पाँच महिनासम्म रक्षात्मक थिए ।

पुस १० मा नेकपा एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएपछि देउवामाथि पार्टीबाटै घेराबन्दी थियो । चुनावी गठबन्धन सरकार निर्माण गर्दा जोगाउन नसकेको भन्दै उनीमाथि आक्रोश थियो । पुस २६ मा प्रतिपक्षी बेञ्चबाटै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर देउवाले सहकार्यको हात अगाडि बढाए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिएर राष्ट्रपति, चार प्रदेशको नेतृत्व, केन्द्र र तीन प्रदेश सरकारमा देउवाले आफ्नो पार्टीलाई सहभागी गराए । केन्द्रदेखि प्रदेशसम्म एमालेसँग सहकार्य छोडेर माओवादी केन्द्र यो बिचमा कांग्रेस नेतृत्वको गठबन्धनमा आइपुगेको छ । महामन्त्री गगन थापाले देउवाको विकल्पबारे बहस छेडिरहेका बेला देउवाले पार्टीभित्र आफ्नो शक्ति परीक्षण गराएका छन् । साउन पहिलो साताको केन्द्रीय कार्यसमिति र साउन अन्तिम साता बसेको संसदीय दलको बैठकमा देउवाको पक्षमा अभूतपूर्व अभिमत प्रकट भयो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको गतिविधिसँग बेखुस रहेका देउवाले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाउँदै गए । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनेकोमा देउवा पक्षीय नेताहरूले केन्द्रीय समिति बैठकमा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रोश पोखेका थिए । कांग्रेस सांसद सुनील शर्मा पक्राउपछि गृहमन्त्री श्रेष्ठ कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको पनि निसानामा परे ।

महराले दिएको मौका

सुन तस्करी संलग्नता रहेको प्रहरीले किटानी गरे पनि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई उन्मुक्ति दिएको भन्दै सार्वजनिक रूपमै गृहमन्त्रीको आलोचना हुन थाल्यो ।

सुन तस्करीमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष महराको पक्षमा उभिँदा गृहमन्त्री श्रेष्ठ नैतिक रूपमा कमजोर भए । यही मौकामा देउवाले गृहमन्त्री श्रेष्ठलाई ट्रयापमा पारेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘नारायणकाजीको गतिविधि उहाँलाई मन पर्ने कुरा भएन । तर, लामो समय उहाँ बोल्नु भएन । बोल्ने अवस्थामा पनि हुनुहुन्नथ्यो,’ कांग्रेसका एक नेताले भने,  ‘अहिले सबै हिसाबले दह्रो ढंगले खुट्टा टेकेको अवस्था छ । उहाँ मौकाको प्रतीक्षामा हुनुहुन्थ्यो । महराको विषयले उहाँलाई मौका दियो । त्यसपछि उहाँले नारायणकाजीमाथि दबाब बढाउनु भयो ।’

आन्तरिक र गठबन्धनको बैठकमा देउवा गृहमन्त्रीको विकल्प खोज्नुपर्ने गरी प्रधानमन्त्री प्रचण्डसँग प्रस्तुत हुन थालेका थिए । देउवाले गृहमन्त्री फेर्नुपर्ने संकेत गरेपछि प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई साउन २६ मा धुम्बाराही पठाएको बुझिएको छ ।

धुम्बाराही स्रोतका अनुसार साउन २६ मा देउवाले गृहमन्त्री श्रेष्ठलाई गठबन्धनको मर्म अनुसार नचले ‘राम्रो नहुने’ चेतावनी दिएका थिए । देउवाको दबाब सामु गृहमन्त्री श्रेष्ठ निरीह बनेपछि गृह प्रशासन देउवाको तजबिजमा चल्ने स्थिति बनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा त्यसैको पहिलो कडी हो ।

देउवासँगको भेटपछि गृहमन्त्री श्रेष्ठले उपत्यका प्रहरी प्रमुखसहित पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) को अकस्मात् सरुवा गरेका थिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीको ठाउँमा प्रहरी प्रधान कार्यालय प्रशासन विभागका दीपक थापालाई जिम्मेवारी दिइएको छ । ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभागमा सरुवा गरिँदा मानवस्रोतका सन्दीप भण्डारीलाई प्रतिष्ठानमा सरुवा गरिएको छ । कार्य विभाग प्रमुख मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ । अपराध अनुसन्धान विभागका एआईजी टेकबहादुर तामाङ, प्रदेश समन्वय विभागका सुदीप गिरी र केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यको जिम्मेवारी भने यथावत राखिएको छ ।

यही बीचमा पाँच जना एसएसपीको सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्की, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी, प्रहरी प्रधान कार्यालयका भूपेन्द्रबहादुर खत्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका सानुराम भट्टराई र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सोमेन्द्रसिंह राठौरको सरुवा भएको छ । ज्ञवाली, कार्की र केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको लिड गरिरहेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित उच्च अधिकारी मुछिएका थिए । उनीहरू अहिले पुर्पक्षका लागि थुनामा छन् ।

यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री खाणकी पत्नी मञ्जुसमेत मुछिएका थिए । नक्कली शरणार्थी खडा गर्ने गिरोहबिच आरजु र मञ्जुलाई रकम बुझाएको दाबीसहितको टेलिफोन अडियो अनुसन्धान क्रममा फेला परेको थियो ।

भुटानी शरणार्थी प्रकरणमा पीडितको थप उजुरी परेपछि पुनः अनुसन्धानको तयारी हुँदा उनीहरूको सरुवा भएको देखिन्छ । यस्तै ललिता निवास प्रकरणमा पनि पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई साक्षी बनाएकोमा सरकारमाथि प्रश्न उठेको छ ।

सत्ता गठबन्धनको प्रभावमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रहरीले साक्षीका रूपमा मात्र बयान लिएको देखिन्छ । सत्ता गठबन्धनको बैठकमा कांग्रेस सभापति देउवाले पूर्वप्रधानमन्त्रीलाई प्रतिवादी बनाउन नहुने अडान लिएका थिए । गठबन्धनको छलफलमा सहभागी नेताहरूका अनुसार त्यसमा प्रधानमन्त्री प्रचण्डको पनि समर्थन थियो ।

देउवालाई नेपाल र यादवको साथ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पनि साथ पाएपछि देउवालाई सरकारमाथि हाबी हुन सहज भएको नेताहरू बताउँछन् । कांग्रेसलाई दबाबमा राख्न गठन गरिएको समाजवादी मोर्चाले पनि अहिले प्रचण्डमाथि दबाब थपेको छ ।

समाजवादी मोर्चाको नेतृत्व गरिरहेका माधव नेपाल र मोर्चामा सम्मिलित जसपा अध्यक्ष उपेन्द्र यादवलाई देउवाको ढाडस छ भने उनीहरू देउवाको एजेण्डासँग एक मत देखिन्छन् । देउवा ललिता निवास प्रकरणमा मुछिएका नेपाल र गौर हत्याकाण्डका आरोपित यादवको बचाउमा उत्रिएका थिए ।

सुशासनका सन्दर्भमा सरकारले विरोधाभाषपूर्ण कदम चालेको देउवाले नजिकबाट नियालेका थिए । उनी निकट एक नेताले भने, ‘रवि लामिछानेलाई महान्यायाधिवक्ताले दोहोरो राहदानी प्रकरणमा क्लिन चिट दिनुभयो । रेशम चौधरीलाई आम माफी दिने काम भयो । यो कुरालाई सभापतिज्यूले नोटिसमा राख्नु भएको थियो । तर, विरोधमा उत्रिने स्थितिमा उहाँ हुनुहुन्थेन ।’

उनका अनुसार सुनील शर्माको पक्राउ र उपेन्द्र यादव आरोपित बनाइएको गौरहत्या काण्डको छानबिन अगाडि बढाउने सहमतिपछि देउवालाई सरकारमाथि हाबी हुन ब्याकअप मिल्यो ।

सिङ्गो कांग्रेस नै सरकारविरुद्ध रहेको सन्देश गएका बेला माधव र उपेन्द्रको ब्याकअपमा सरकारमाथि देउवाले दबाब बढाएको देखिन्छ । गठबन्धनका सबैजसो शीर्ष नेता गृहमन्त्री श्रेष्ठको कार्यशैलीसँग असन्तुष्ट रहेको लुकेको छैन ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले त व्यक्ति हिरो हुने नाममा व्यवस्थामाथि खतरा पैदा गराउने गरी गृहमन्त्री श्रेष्ठ प्रस्तुत भइरहेको बताएका छन् । कांग्रेस, एमाले र आफूहरूलाई तर्साएर शासन गर्ने कुरा स्वीकार्य नहुने उनको भनाइ छ ।

‘नारायणकाजीलाई शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव ङ्याक्ने मौकाको खोजीमा थिए । केपी ओलीको टाउको दुखाइ पनि नारायणकाजी बनेको लुकेको छैन,’ कांग्रेसका एक नेता भन्छन् ।

देउवासँगको विश्वास डगमगाउन नदिन प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठमाथि हस्तक्षेप बढाएको देखिन्छ । स्रोतका अनुसार देउवाले गृहमन्त्री श्रेष्ठ फेर्नुपर्ने अडान राखे पनि प्रधानमन्त्री प्रचण्ड अहिले त्यो कदम उठाउन तयार छैनन् । ‘गृहमन्त्री हटाउँदा समस्या हुन्छ भन्ने प्रधानमन्त्रीको बुझाइ छ । बरु शेरबहादुर देउवाले जे भन्छन्, मानिदिने मुडमा उहाँ देखिनुहुन्छ,’ स्रोतले रातोपाटीलाई भन्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप