बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित
सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ ।
शुक्रबार बिहान सोही विद्यालयको दुई वटा शौचालय बगाएको थियो । यद्यपी बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन् । मेलम्ची–भोताङ सडकखण्डस्थित मेलम्ची बजार पारीको बाटोसँगै मेलम्ची नवलपुर सडकखण्ड सडक पनि सञ्चालनमा आएको मेलम्ची वडा नम्बर १० का वडाध्यक्ष अमृत खनालले जानकारी दिए । मेलम्ची–तालामाराङ अन्तर्गत सिमखेतमा जमेको लेदो पन्छाएसँगै यातायात आवतजावत हुन थालेको छ ।
मेलम्ची–४ स्थित पिप्ले–पाटी भञ्ज्याङ बाटो सञ्चालनमा आए पनि जोखिम कायमै रहेको स्थानीयले बताएका छन् । पहिराले मेलम्चीनगरका आधा दर्जन घर जोखिममा छन् । आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।
पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार खाल्डे खोलामा पहिरो गएपछि वैकल्पिक माध्यमबाट यात्रुलाई सहज बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार जिल्लाको अधिकांश ठाउँमा बाढी र पहिरो जाने क्रम बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक : उपाध्यक्ष पाण्डे
-
राम्रा योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री महरा
-
झिनो अंकले नेप्से सूचक बृद्धि, ४ अर्ब २३ करोड माथिको कारोबार
-
बजारमा माग बढेपछि जुनेलो र फापर खेती गर्दै किसान
-
अरहान्त, अमिर, बिपना र स्वस्थानी राष्ट्रिय र्याङ्किङ स्क्वासको फाइनलमा
-
शर्मा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय