सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय समिति

१० वटा समितिको सभापतिमा ११ जनाको उम्मेदवारी : एकमा प्रतिस्पर्धा, नौमा सर्वसम्मत

आइतबार, १० भदौ २०८०, २३ : ०१
आइतबार, १० भदौ २०८०

काठमाडौँ । संसद्का विषयगत समितिका सभापतिमा विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार हुने समिति सभापतिको निर्वाचनका लागि विभिन्न दलका सांसदहरूले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् । जसअनुसार कांग्रेसले तीन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । त्यसमध्ये सांसद आरजु राणा र रामहरि खतिवडाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र  सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसकै सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । 

राणाको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर र समर्थकमा सुर्यप्रसाद ढकाल तथा माओवादीको रुपासोशी चौधरी रहेका छन् । खतिवडाको प्रस्तावकमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू र समर्थकमा माओवादीका हितराज पाण्डे तथा एमालेका बलराम अधिकारी रहेका छन् । चालिसेको प्रस्तावकमा कांग्रेसकै दीपक खड्का, र समर्थकमा एमालेका पदम गिरी र माओवादीका छिरिङ डन्डुल लामा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईवटा समितिको सभापतिमा उम्मेदवारी दिएको छ । सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति र किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । पोखरेलको प्रस्तावकमा कांग्रेसका राजन केसी र समर्थकमा एमालेका दामोदर भण्डारी छन् । साहको प्रस्तावकमा कांग्रेसकी शान्ति विक र समर्थकमा एमालेका आश्मा कुमारी चौधरी रहेकी छन् ।

माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीको प्रस्तावकमा माओवादीकै पूर्णबहादुर घर्ती र समर्थकमा एमालेका महेशकुमार बर्तौला, कांग्रेसका रमेश लेखक र राप्रपाका ध्रुवबहादूर प्रधान छन् ।

एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा माओवादीका ज्ञानु बस्नेत सुवेदी छन् । जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् । खानको प्रस्तावकमा कांग्रेसकी रमा कोइराला र समर्थकमा पनि कांग्रेसकै सपना राजभण्डारी रहेकी छन् । पराजुलीको प्रस्तावकमा रास्वपाकै डोलप्रसाद अर्याल र समर्थकमा असिम साह रहेका छन् ।

१० मध्ये यो उद्योग समितिमा मात्रै २ जनाको उम्मेदवारी परेको छ । यो समितिमा खान र पराजुलीको प्रतिस्पर्धा हुने भएको छ भने बाँकीमा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ ।  

संसद्को पूर्वाधार विकास समितिको सभापतिमा भने राप्रपाका दीपक सिंहले उम्मेदवारी दर्ता गरेका छन् । सिंहको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा एमालेका प्रेमलाल महर्जन रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप