शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको सर्रे अम्वासमा विश्वस्तरको कम्युनिस्ट अध्ययन केन्द्र बनाउँछौँ : सचिव भट्टराई

बुधबार, १३ भदौ २०८०, १० : २१
बुधबार, १३ भदौ २०८०

जनकपुरधाम । नेकपा एमालेको सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले सिरहाको सर्रे अम्वासमा कम्युनिष्टहरुको अध्ययन केन्द्र बनाइने बताएका छन् ।

कम्युनिस्ट आन्दोलनको ७५औँ वर्षको अवसरमा सिरहाको सर्रे अम्वासमा नेकपा एमालेले आयोजना गर्न लागेको सचिवालय बैठक सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले सर्रे अम्वासमा २०४६ साल भदौ ९–१४ भएको नेकपा मालेको चौथौँ अधिवेशन निकै महत्त्वपूर्ण भएकोले अध्ययन केन्द्रको रूपमा विकास गर्ने र देश विदेशबाट कम्युनिस्ट आन्दोलनको वारमा जानकारी लिन खोज्नेहरू आउने दाबी गरे ।

तत्कालीन नेकपा मालेको चौथो अधिवेशन सर्रे अम्वासमा बसेर महत्त्वपूर्ण नीति लिएकोले भन्दै सचिव भट्टराईले सर्रे अम्वास कम्युनिस्ट आन्दोलनको हिसाबले ऐतिहासिक स्थल भएको बताएका छन् ।

यही बैठकबाट कम्युनिस्ट र कांग्रेस मिलेर पञ्चायती व्यवस्था हटाउन सङ्घर्ष गर्ने निष्कर्षमा पुगेको, माओसेतुङको विचारभन्दा नेपाली अनुकूल बहुदलीय व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको र महासचिवमा मदन भण्डारीलाई सर्वसम्मत चयन गरेकोले सर्रे अम्वास ऐतिहासिक स्थल भएकोले सचिवालय बैठक गर्न लागेको सचिव भट्टराईले बताएका छन् । 

मदन भण्डारीले लिएको जनताको बहुदलीय जनबाद(जबज)को आधार पनि यही बैठकले तय गरेको भन्दै सचिव भट्टराईले नेपालमा कम्युनिस्ट आन्दोलन विकसित भएको विषयको स्थलको रूपमा सर्रे अम्वासको ऐतिहासिक महत्त्व रहेकोले कम्युनिस्ट अध्ययन केन्द्र बनाउन  विकास गरिने बताएका छन् ।

मदन भण्डारीको षड्यन्त्रपूर्वक दुर्घटना

सोही पत्रकार सम्मेलनमा सचिव भट्टराईले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मदन भण्डारीको सामान्य दुर्घटना नभएर षड्यन्त्रमूलक दुर्घटना भएको बताएका छन् । ‘आज पनि विश्वास छ । मदन भण्डारीको सामान्य दुर्घटना होइन,’ सचिव भट्टराईले भने, ’एमाले यी विषयलाई त्यतिकै छाड्दैन । समय लाग्न सक्छ ।’

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली सहित सचिवालयका सदस्यहरू र आयोगका प्रमुखहरूको सहभागी रहने पत्रकार सम्मेलनमा जनाएको छ । आज  बिहान ११ बजेदेखि हुने सचिवालय बैठकले महत्त्वपूर्ण निर्णय गर्ने, चौथो महाधिवेशन सफल बनाउन भूमिका खेलेका नेता कार्यकर्तालाई सम्मान गर्ने, कम्युनिस्ट आन्दोलनका सहिदहरूको नाम स्मारक निर्माण गर्ने लगायतको कार्यतालिका रहेको बताएका छन् ।

नेकपा एमालेले कम्युनिस्ट आन्दोलनको ७५औँ वर्षको अवसरमा सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्वासमा भदौ ९ मा सचिवालय बैठक गर्ने निर्णय गरेको थियो । ३४ वर्षपछि हुन लागेको बैठक प्रतिकुल मौसमका कारण चार दिन सारिएर आज गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप