सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जनकपुरधाममा झुलनोत्सवको रौनक, तस्बिरहरु
झुलनोत्सव

जनकपुरधाममा झुलनोत्सवको रौनक, तस्बिरहरु

आधुनिक समयमा पनि आकर्षण बढ्दो
बिहीबार, १४ भदौ २०८०

जनकपुरधाम । जनकपुरधामका अधिकांश मठ मन्दिर दुलहीझैँ सजाइएको छ । मठमन्दिरमा भजन किर्तनसहित झुलनोत्सव मनाइँदैछ ।

साउन शुक्ल तृतीया तिथिबाट सुरु हुने झुलनोत्सव पूर्णिमासम्म प्रत्येक राति जारी रहनेछ । झुलनोत्सव जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिरलगायत धनुषा, महोत्तरी, सिरहा, सर्लाही जिल्लास्थित मठ मन्दिरमा धुमधामका साथ मनाउने परम्परा छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष रुपले यो पर्व मनाइन्छ । यसका लागि जानकी मन्दिरदेखि देवीदेवताको प्रतीमा स्थापित प्रत्येक मठमन्दिरमा विशेष किसिमका साजसज्जा गरिएका सिंहासनमा देवीदेवताको प्रतीमा राखी झुलाउने परम्परा पौराणिककालदेखि चल्दै आइएको छ ।

एकातर्फ राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाइने गरिन्छ । रत्नसागर मन्दिरको झुला नाच सबैभन्दी बढी प्रसिद्ध रहेको स्थानीयवासी बताउँछन् । झुला र नाच हेर्नका लागि मन्दिरमा भक्तजनहरुको साँझ पर्ने बित्तिकै भिड लाग्ने गर्दछ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाउने गरिन्छ ।

सन् १७३० मा जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास वैष्णव भएपछि उनले नै झुला महोत्सव आरम्भ गरेको बताइन्छ । त्यही बेलादेखि जनकपुरधामस्थित मठ मन्दिर र आसपासका जिल्लामा रहेका मठमन्दिरहरुमा समेत झुला प्रारम्भ भएको मानिन्छ ।

सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ ।

आधुनिक समयमा पनि आकर्षण बढ्दो

मिथिलाञ्चलमा धान रोपाइँ समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता सुरु हुने गर्दछ । यसक्रममा अधिकांश मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्त्व झल्किने लोकगीत गाएर बेलुकीको समयमा भक्तजनहरु झुम्मिने गर्दछन् ।

आधुनिकतासँगै कयौं पर्वको अस्तित्व धरापमा परे पनि झुलनोत्सवप्रति अहिलेका युवायुवतीहरुमा आकर्षण कायमै छ । झुल्नोत्सवमा युवतीहरु झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती, पञ्चामृत र नैवेध बाँड्ने परम्परा छ ।

मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरि झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा छ ।

जानकी मन्दिर एवम् राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु मानिन्छ । जानकी मन्दिरमा विशेष किसिमका तीन वटा सिंहासनमा राम, सीताको मूर्ति राखी झुला झुलाउने परम्परा छ । सीता, रामलाई झुलामा झुलाउँदै विभिन्न धार्मिक, सांस्कृतिक लोककथाहरु गीतको माध्यमबाट गाउने गरिन्छ भने धार्मिक विधिअनुसार यो महोत्सव १५ दिनसम्म मनाइने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया