चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री महिन्द्र राय यादवले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारत सम्बन्धमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन् ।
रातोपाटीसँग कुरा गर्दै मन्त्री यादवले एउटा देशको राजदूतले अर्को देशको विरुद्धमा अभिव्यक्ति दिनु कूटनीतिक मर्यादा विपरीत भएको बताए । नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभएर सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक समेत रहेकाले सम्बन्धको बारेमा राजदूत चेनले यसरी कुरा उठाउन नमिल्ने बताए ।
राजदूत चेन सोङले सोमवार आयोजित एक कार्यक्रममा भारतसँग भइरहेको विद्युत् व्यापारबाट नेपालले घाटा व्यहोरिरहेको अभिव्यक्ति दिएका थिए । ‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दश अर्बको विद्युत् निर्यात गर्यो, जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत् आयात गर्यो । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?’ राजदूतले चीनसँग व्यापार गर्न पनि नेपालसँग आग्रह गरेका थिए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादवले कोसँग व्यापार गर्ने वा नगर्ने भन्ने निर्णय गर्नमा नेपाल स्वतन्त्र रहेको बताए ।
साथै उनले चीनले आफ्नो नयाँ नक्सामा नेपाली भूभागबारे उल्लेख गर्दा चुच्चे नक्सा नसमेटेकोप्रति पनि असन्तुष्टि पोखे । उनले भने, ‘नेपालको संसदले पारित गरेको, संविधानमा उल्लेख भइसकेको संविधानलाई चीनले मान्यता नदिनु भनेको नेपालको सार्वभौमिकताको अपमान हो ।’
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा नक्सालगायतका विषयमा छलफल हुने उनले बताए । उनले नेपालले छिमेकी मित्र राष्ट्रसँग समान सम्बन्ध राख्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?