बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा तरकारी तथा फलफूलमा हुने विषादी परीक्षण रोकियो

आइतबार, २४ भदौ २०८०, १७ : ४२
आइतबार, २४ भदौ २०८०

धनगढी । डेढ महिनायता विना परीक्षणका तरकारी सोझै सुदूरपश्चिम प्रदेशका उपभोक्ताका भान्सासम्म पुग्ने गरेको छ । सुदूरपश्चिममा रहेका तरकारी तथा फलफूलमा हुने विषादी परीक्षण गर्ने प्रयोगशाला बन्द हुँदा परीक्षण विनाको तरकारी तथा फलफूल सोझै उपभोक्ताका भान्सासम्म पुग्ने गरेको छ ।

सुदूरपश्चिममा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा किराजन्य सङ्क्रमण तथा विषादी परीक्षण कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर भन्सार नाकामा स्थापना गरिएको प्लान्ट क्वारेनटाइन कार्यालयमार्फत चेकजाँच गरिन्थ्यो । खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेनटाइनले किराजन्य सङ्क्रमणको जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु नेपाल भित्रिने गर्छ । तर हाल यी दुई कार्यालयको साउन २८ गतेयता बन्द छ ।

त्यस्तै, आन्तरिक रूपमा कैलालीको अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाई कार्यालयले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने गरेको थियो । तर यो कार्यालय पनि ४५ दिनदेखि बन्द छ ।  कार्यालयमा तरकारी तथा फलफूलमा भएको विषादीको मात्रा परीक्षण गर्ने किट उपलब्ध नभएपछि कार्यालय बन्द भएको हो । अत्तरियाको कृषि उपज थोक बजारभित्र रहेको उक्त कार्यालयले यसअघि दैनिक ५ देखि १० वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गर्दै आएकोमा परीक्षण किट सकिएपछि काम रोकिएको कार्यालयका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।

उनका अनुसार कार्यालयको ल्याबमै अन्तिम पटक साउन १२ गते तरकारीका ६ नमुना परीक्षण गरिएका थिए । जसमा एक तरकारीको नमुनामा खान नमिल्ने विषादीको मात्रा फेला परेको थियो । सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबलको विषादी भेटिएपछि नष्ट गरिएको थियो । त्यसपछि परीक्षण गर्नको लागि किट नभएकाले कार्यालय नै बन्द गरिएको प्राविधिक भट्टले बताएका छन् ।

उक्त कार्यालय क्वारेनटिन कार्यालय गड्डाचौकीमा कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्नाले थप जिम्मेवारीका रूपमा हेर्ने गरेका छन् । उनी हाल तालिमका लागि विदेशमा रहेका छन् । कार्यालयमा एक जना प्राविधिक र सहयोगी करारमा नियुक्त गरिएका छन् । करारका कर्मचारीको पनि चालु आर्थिक वर्षमा नियुक्ति थप नगरिएकाले प्राविधिक भट्टले बताए ।

उनले भने, ‘कार्यालयमा हामीले तरकारी तथा फलफूलको नमुना संकलन गरेर विषादी परीक्षण गर्दै आएका थियौ । साउन १२ गते किट नै सकिएपछि हामी कार्यालयमा गएर पनि काम भएन । नयाँ आर्थिक वर्षमा हाम्रो नियुक्ति पनि थप गरिएको छैन । नियुक्ति थपिने जानकारी दिइएपछि लामो समयसम्म टुङ्गो नलाग्दा के हुने हो भन्ने हामी पनि अन्योलमा छौ ।’

नेपालमै उत्पादित तरकारी फलफूलमा विषादीको परीक्षण गरिँदै आएको विषादी अवशेष द्रुत विश्लेषण इकाईले अघिल्लो आर्थिक वर्षमा २ हजार ५३२ तरकारीका नमुनाको विषादी परीक्षण गरेको थियो । जसमा ८ नमुनामा ग्रिन र एलो लेबलको विषादीको मात्रा भेटिएकाको थियो भने १३ नमुनामा प्रयोग नै गर्न नमिल्ने विषादीको मात्रा भेटिएकाले नष्ट गरिएको थियो ।

प्राविधिकका अनुसार ३५ प्रतिशत भन्दा तल विषादीको मात्र भेटिए ग्रिन लेबल, ३५ देखि ४५ प्रतिशत विषादीको नमुना भेटिए येलो लेबलमा राखिने गरिन्छ । यस्तो तरकारी केही दिन होल्ड गरेर पुनः परीक्षण गरी प्रयोग गर्न सकिन्छ । ४५ प्रतिशत भन्दा माथि विषादीको मात्रा भेटिएमा भने सिधै नष्ट गर्ने गरिएको छ । अत्तरियामा विषादी अवशेष द्रुत विश्लेषण इकाइले परीक्षण गर्दा छ्यापछ्याप्ती विषादी युक्त तरकारी तथा फलफूल भेटिए पनि हाल उक्त कार्यालयको सेवा नै बन्द हुँदा विषादीयुक्त तरकारी उपभोक्ताका भान्सासम्म पुग्ने जोखिम बढेको छ ।

कृषि उपज थोक बजार व्यवस्थापन समिति अत्तरियाका अध्यक्ष नन्दलाल भट्टले बजारमा विषादी परीक्षण रोकिएपछि विषादीयुक्त तरकारी उपभोक्ताको घरमा सोझै पुग्ने बताउँछन् । तर यसप्रति उपभोक्ता हक हितको क्षेत्रमा काम गर्दै निकाय मौन बसेका छन् । राष्टिय उपभोक्ता मञ्च कैलाली अध्यक्ष हरि रेग्मीले सामान्य खाद्य पदार्थ चेकजाँच गर्ने निकायहरूको काम ठप्प हुँदा सर्वप्रथम उपभोक्ताहरू मारमा परेको बताए । आफूहरू यसतर्फ गम्भीर रहेको बताउँदै रेग्मीले प्रशासन कार्यालयमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप