आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

क्रिकेटर शेखविरुद्ध ‘यौन दुर्व्यवहार’को आरोप, प्रहरी भन्छ–‘अहिलेसम्म जाहेरी आएको छैन’

सोमबार, २५ भदौ २०८०, ०८ : ३४
सोमबार, २५ भदौ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजानपछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको एक किशोरीले आरोप लगाएकी छिन् ।

आइतबार साँझ एकाएक सामाजिक सञ्जालमा आसिफ शेखले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक भएको छ । तर निवेदनको विषयमा बुझ्दा प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए । 

उनले भने, ‘मलाई आज बिहानैदेखि धेरै जनाले फोन गरिरहनुभएको छ । मेरो कार्यालयमा त्यस्तो कुनै निवेदन आएको छैन । निवेदन दिन तयार पारिएको हो भने मलाई थाहा छैन । मेरो कार्यालयमा अनौपचारिक वा औपचारिक कुनै उजुरी वा निवेदन आएको छैन ।’

पीडित भनिएकी किशोरीले आफ्नो निवेदनमा आसिफसँग चिनजान भएपछि आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर ‘अनुचित सहवास’ गर्न खोजेको आरोप लगाएकी छिन् । 

आसिफले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भनेर दुईजना किशोरीले आरोप लगाएका छन् । कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रलाई सम्बोधन गरेर लेखिएको उक्त निवेदन उनीहरूले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् । 

भदौ १५ र २३ गतेको मितिमा दुईजना किशोरीहरूको नाममा लेखिएको निवेदन रातोपाटीलाई प्राप्त भएको छ । तेस्रो किशोरीले सो निवेदनलाई पुष्टि हुने गरी महिला सेललाई सम्बोधन गरेर आसिफको व्यवहार ‘गलत’ भएको भन्दै कागज गरेको पाइएको छ । 

राष्ट्रिय टिमका विकेट किपर ब्याट्सम्यान सेखबारे लागेको आरोपका सम्बन्धमा अनौपचारिक जानकारीमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले बताए । उनले भने–‘यौन दुर्व्यवहार भएको भनेर सामाजिक सञ्जालमा आएको निवेदनहरू देखियो, तर हालसम्म प्रहरी कार्यालयमा लिखित उजुरी वा जाहेरी परेको छैन । बाहिर देखिएको निवेदन हेर्दा उजुरी वा जाहेरी दिन खोजिएको हो कि जस्तो देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप