आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ब्रह्माण्डमा पृथ्वी बाहेक पनि जीवन छ ?

सोमबार, २५ भदौ २०८०, १६ : २९
सोमबार, २५ भदौ २०८०

जुलाई, २०२३ । अमेरिकाको एक संसदीय समितिका सदस्यलाई अमेरिकी नौसेनाका लडाकु विमानको क्यामेराले आकाशमा रेकर्ड गरिएका तीन वटा भिडियो देखाइयो ।

यी श्याम श्वेत भिडियोका तस्बिर केही धमिला थिए । ती मध्ये एउटामा एउटा चम्किलो अण्डाकार वस्तु आकाशमा तीव्र गतिमा उडिरहेको र घुमिरहेको देखियो ।

त्यसलाई देखिरहेका  नौसेनाका पाइलटहरूको प्रतिक्रिया पनि रेकर्ड भयो । उनीहरूको कुराले यस्तो लाग्यो कि उनीहरू चकित थिए । 

फरक–फरक समयमा रेकर्ड भएका दुई भिडियोमा यस्तै रहस्यमय वस्तु आकाशमा उस्तै गरी उडेको देखियो ।

यो भिडियो फुटेज धेरै पहिले लिक भएको थियो । तर अमेरिकी रक्षा मन्त्रालयले यसलाई सन् २०२० मा आधिकारिक रूपमा जारी गरेको थियो ।

यसलाई लाखौँ मानिसले युट्युबमा हेरेका छन् । तर यस वर्षको जुलाईमा अमेरिकी संसद्को एक समितिका सदस्यहरूले आफ्नो उद्देश्य सत्यको फेदमा पुग्नु रहेको बताए ।

तर यसले पृथ्वी बाहेक अन्य कुनै ग्रहमा जीवन छ कि छैन भन्ने उत्सुकता बढाएको छ ।

पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ कि छैन भनेर बीबीसीले एउटा रिपोर्ट प्रकाशित गरेको छ । 

ufo1आकाशमा नजर

ग्रेग एगिगियन अमेरिकाको पेन स्टेट युनिभर्सिटीमा इतिहास र बायो एथिक्सका प्राध्यापक हुन् । 

उनका अनुसार शताब्दीयौंदेखि मानिसहरूले आकाशमा रहस्यमय चीजहरू देख्दै आएका छन् । रहस्यमय उड्ने वस्तुहरूलाई युएफओ अर्थात् अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट भनिन्छ । 

उनी भन्छन्, ‘युएफओ बारे पहिलो पटक सन् १९४७ मा चर्चा सुरु भयो जब केनेथ अर्नल्ड नामका एक निजी पाइलटले अमेरिकाको पश्चिमी तट नजिकै उडान भर्ने क्रममा आकाशमा विशेष ढाँचामा केही वस्तुहरू तीव्र गतिमा उडिरहेको देखे । उनलाई यो कुरा अनौठो लाग्यो ।’

‘निकै छिटो यो समाचार जङ्गलको आगो जस्तै फैलियो र एक पत्रकारले यसलाई फ्लाइङ ससर अर्थात् उडन तस्तर नाम दिए । पछि त्यस्ता चीजहरूलाई युएफओ भन्न थालियो । र चीजहरू अर्को ग्रहबाट आएको हुन सक्ने अनुमान गर्न थालियो । त्यसैले यो ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण छ ।’

त्यसपछि, युएफओ देखिएको भन्दै दाबी गर्ने घटनाहरू द्रुत रूपमा बढ्न थाले ।

ग्रेग एजिगियनका अनुसार सन् १९५० को दशकमा युएफओ देखियो भन्नेहरूको लहर थियो । युएफओ देखियो भन्ने समाचारहरू अमेरिकाको वासिङ्टन, इटाली र युरोपको स्पेन र त्यसपछि ल्याटिन अमेरिकाबाट आउन थाले ।

सन् १९५४ मा, फ्रान्सबाट युएफओ देखिएको भन्ने खबर मात्रै आएन केही मानिसहरूले त्यहाँ भित्र बसेका मानिस देखेको भनेर पनि दाबी गरे । 

skyत्यसपछि ७०, ८० र ९० को दशकमा पनि यस्ता समाचार आइरहे ।

केही हदसम्म यी समाचारको एउटा कारण अमेरिका, उसका सहयोगी र सोभियत संघबीच करिब ४५ वर्षसम्म चलेको शीतयुद्ध थियो भनी ग्रेग एगिजियन भन्छन् ।

त्यस बेला दुवै खेमाले एक अर्काको गोप्य जानकारी सङ्कलन गर्न विभिन्न तरिका अपनाइरहेका थिए । त्यसै बेला अन्य ग्रहमा बस्ने एलियनले हिरोसिमा र नागासाकीमा भएको आणविक हमला देखेको हुनसक्छ र कौतुहलता वा डरले पृथ्वीको परिक्रमा गरिरहेका थिए भन्ने पनि मानिसहरूले अनुमान लगाएका थिए ।

ग्रेग भन्छन्, ‘यसको दोस्रो कारण सन् १९५० को दशकमा धेरै देशहरूबीच चन्द्रमामा पुग्ने वा माथि जाने दौड सुरु भएको थियो ।’

‘अन्तरिक्ष युगमा सार्वजनिक भएका विज्ञान कथा पुस्तकहरू र फिल्महरूले पनि युएफओसँग सम्बन्धित विश्वासहरूलाई बलियो बनाएको थियो । प्रविधिको क्षमता बढ्दै गएकाले पहिलो पटक चन्द्रमा वा मङ्गल ग्रहमा मानिस बस्ने सम्भावनाको चर्चा भइरहेको थियो । निस्सन्देह, मानिसहरूले सोच्न थाले कि यदि हामीसँग यो क्षमता छ भने, हामी भन्दा धेरै विकसित सभ्यताहरूसँग निश्चित रूपमा धेरै क्षमता र प्रविधि हुनेछ ।’

सम्भवतः सन् २०१० देखि यस विषयमा मिडियाको चासो निकै बढेको र यसबारे विस्तृत रूपमा छलफल हुन थालेको ग्रेग एगिजियन बताउँछन् ।

sky1नयाँ उदीयमान संसार

खोज पत्रकार लेस्ली केनले २३ वर्षदेखि युएफओसँग सम्बन्धित समाचारमा रिपोर्टिङ गर्दै आएकी छन् । उनका अनुसार अमेरिकाको रक्षा विभाग सन् २०१० देखि नै युएफओबारे जानकारी जुटाउनका लागि एक गोप्य कार्यक्रम चलाइरहेको छ जसलाई अब उनीहरुले युएफओको साटो अनआइडेन्टिफाइड एनोमेलस फिनामिना वा युएपी भनिन्छ । युएपी अर्थात् यस्ता रहस्यमयी चिज वा घटना जसलाई बुझ्न सकिँदैन । 

‘युएफओबारे विभिन्न धारणा जोडिएको थियो जसको मजाक उडाइन्थ्यो । अर्को कुरा अब अचम्मको रहस्यमयी चिज आकाशमा मात्रै नभई पानी मुनी पनि देखिएको खबर आइरहेका थिए । यस्तोमा यी रहस्यमयी घटनालाई व्यापक तरिकाले परिभाषित गर्नका लागि यसलाई युएपी भनिँदै छ ।’

सन् २०१७ मा अमेरिकी युएपी टास्क फोर्सका प्रमुखले यो प्रोजेक्टका लागि कोष र सहायताको कमीले दिक्क भएर राजीनामा दिए र यो कुरा सार्वजनिक गरिदिए । 

लेस्ली केनका अनुसार युएपी टास्क फोर्सका प्रमुखले उनलाई आफ्ना सहकर्मीहरूसँग बैठकमा बोलाए र विभिन्न कागजात, भिडियो र जानकारी साझा गरे ।

त्यसैको आधारमा लेस्लीले आफ्नो टोलीसँग मिलेर न्युयोर्क टाइम्समा समाचार प्रकाशित गरिन् । त्यसपछि यो विषयमा धेरै चर्चा हुन थाल्यो ।

सरकारी अधिकारीहरूले यस कार्यक्रमको लागि रकम उपलब्ध गराउन स्वीकृति पाए र यसबारे गम्भीरतापूर्वक अनुसन्धान थालियो ।

यस वर्षको जुनमा, लेस्ली केनले व्हिसलब्लोअर र पूर्व वरिष्ठ अमेरिकी गुप्तचर अधिकारी डेभिड ग्रुससँगको अन्तर्वार्तामा आधारित अर्को कथा प्रकाशित गरिन् । डेभिड ग्रुस अफगानिस्तानमा अमेरिकी सैन्य अभियानमा पनि संलग्न थिए ।

उनको दाबी अनुसार अमेरिकाले धेरै वर्षदेखि एक गोप्य परियोजना चलाउँदै आएको छ जस अन्तर्गत दुर्घटनाग्रस्त युएपीहरू कब्जा गरिन्छ र यिनीहरूका सामग्री र सम्भवतः यिनीहरूका पाइलटहरूको अवशेषहरू रिभर्स इन्जिनियरिङ मार्फत अध्ययन गर्ने गरिन्छ ।

लेस्ली केनले भनिन्,  ‘ यो एकदमै महत्त्वपूर्ण दाबी हो । यस विषयमा उनले यस परियोजनामा काम गर्ने व्यक्ति र गुप्तचर विभागसँग सम्बन्धित धेरै वरिष्ठ अधिकारीहरूसँग पनि कुराकानी गरेकी थिइन् । उनले यो जानकारी अमेरिकी संसद्मा पेस गरिन् । धेरै मानिसहरूले डेभिड ग्रशले युएपीको अवशेष न त देखेको न छोएकोसमेत भने । तर ग्रशले कुन दिन र स्थानमा युएपी खसेको र कसले कब्जा गरेको भन्ने जानकारी दिए । तर यो सबै जानकारी वर्गीकृत छन् । अर्थात् यसलाई सार्वजनिक गर्न सकिँदैन । अमेरिकी संसद्ले यसको छानबिन गर्नुपर्छ ।’

अमेरिकी रक्षा मन्त्रालयले अनुसन्धानकर्ताहरूसँग यी दाबीको पुष्टि गर्ने जानकारी नभएको बताएको छ ।

रक्षा मन्त्रालयले युएपीको रिभर्स इन्जिनियरिङको आयोजना पहिले पनि नभएको र अहिले पनि नभएको बताएका छन् । डेभिड ग्रसले अमेरिकी संसद्को सुनुवाइमा शपथ लिएर आफ्नो बयान दिएका थिए । यस क्रममा पूर्व सैनिक अधिकारीहरूले पनि आफ्नो आँखाले देखेका घटनाबारे जानकारी दिएका थिए । 

संसदीय समितिको सुनुवाइको उद्देश्य सरकारले यस विषयमा केही लुकाइरहेको छ कि छैन भनी पत्ता लगाउनु हो ।

लेस्ली केन भन्छिन्, ‘मैले १७ वर्षदेखि भनेको छु कि यो हवाई यातायातको सुरक्षा र राष्ट्रिय सुरक्षाको मुद्दा हो जसको छानबिन हुनुपर्छ । मैले के भन्न खोजेको थिएँ भने युएफओ साँच्चै अस्तित्वमा छ । र यो एक फरक संसार हो । सांसदहरूलाई धेरै गोप्य जानकारी दिइएको छ त्यसैले उनीहरूले यसलाई यति गम्भीर रूपमा लिइरहेका छन् । तर संसारका आम जनतालाई पनि पृथ्वीमा मात्र नभएर बाहिर पनि ब्रह्माण्डमा जीवन छ भन्ने थाहा पाउने अधिकार छ । हामीसँग यसको प्रमाण छ ।’

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप