सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कमिसनको खेल

व्यवस्थापनको कमजोरीले नेपाल एयरलाइन्सलाई १ अर्ब १४ करोड घाटा

कमिसनको चक्करमा पटकपटक इञ्जिन भाडामा लिएर व्यवसाय सञ्चालन !
मङ्गलबार, २६ भदौ २०८०, ११ : १९
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । गत जेठको अन्तिमतिर पर्यटनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले ३ महिनाको अवधिमा करिब ४ अर्ब रुपैयाँ नाफा कमाएको बताए । र, अझै धेरै नाफा कमाउने गरी काम गर्न निगम व्यवस्थापनलाई उनले निर्देशन दिए ।

मन्त्री किराँतीले गत जेठको अन्तिमतिर ३ महिनाको अवधिमा ४ अर्ब नाफा कमाएको भनिरहँदा नेपाल वायुसेवा निगमका पदाधिकारीले बदनियतपूर्वक काम गर्नाले डेढ वर्षको अवधिमा निगमलाई १ अर्ब १३ करोड रुपैयाँ नोक्सान पारेको तथ्य फेला परेको छ । नेपाल एयरलाइन्सले इञ्जिन भाडामा लिई सञ्चालन गर्ने बहानामा ३५ करोड रुपैयाँ विदेशी कम्पनीलाई भुक्तानी गरेको पाइएको छ । बरु सोही अवधिमा निगमको इञ्जिन बिग्रिएको भन्दै बनाउने बहानामा पटकपटक म्याद थप गरेको पाइएको छ ।

 कसरी भयो निगमलाई १ अर्ब १४ करोडको घाटा ?

सामान्यतया एयरबस विमानमा रहने इञ्जिनको ओभरहल गर्नुपर्ने समय ५ वर्षको हुन्छ । उड्नुपर्ने औसत समयका आधारमा विमान उडेमा सामान्यतः ५ वर्षमा विमानको इञ्जिनको ओभरहल गर्नुपर्ने हुन्छ । एकपटक इञ्जिन मर्मत गरी जिरो आवरमा ल्याएपछि सामान्यतया ५ वर्षसम्म इञ्जिन मर्मत गर्नुपर्दैन । एयरबस ३२० मा प्रत्येक २२ देखि २४ हजार घण्टा वा ६ देखि ७ हजार उडान साइकलपछि इञ्जिनमा कुनै समस्या नआए पनि मर्मत गर्नुपर्ने हुन्छ ।

त्यसरी इञ्जिन मर्मत गर्नका लागि प्रत्येक विमान कम्पनीले पहिले नै एमआरओ ( Maintenance, Repair, and Overhaul ) का लागि बोलपत्र आह्वान गरी कम्पनी छनोट गर्नुपर्ने थियो । तर नेपाल एयरलाइन्सले एयरबसको चारवटा विमान आइसक्दा पनि त्यस्तो एमआरओ छनोट गरेको थिएन ।

एमआरओको छनोट गर्दा ग्लोबल टेण्डरका आधारमा छनोट हुने र मर्मतका लागि पनि सस्तो पर्ने भएकाले पहिले नै छनोट गर्नुपर्ने एमआरओ छनोट गर्न नसकेकै अवस्थामा सन् २०२१ को डिसेम्बर २८ मा कतारको राजधानी दोहा पुगेको अवस्थामा त्यहीँ नै ग्राउण्डेड हुन पुग्यो । विमानको बायाँ इञ्जिनमा समस्यामा आएपछि उक्त विमान लामो समय त्यहीँ थन्किने अवस्था आयो । 9N-AKW कलसाइनको उक्त जहाज दोहामा ग्राउण्डेड भए पनि नेपाल एयरलाइन्सले इञ्जिन भाडामा लिन कुनै कम्पनीसँग सम्झौता गरेको थिएन । पहिले नै बोलपत्र आह्वान गरी इञ्जिन भाडामा लिनुपर्ने भए पनि त्यसरी बोलपत्र आह्वान समेत नगरिएको र विमान ग्राउण्डेड भएपछि दबाबका बिच नेपाल एयरलाइन्सले साधारण दरभाउ पत्रबाट २१ दिनका लागि भन्दै इजरायली कम्पनी एमटीयुबाट एयरबस ए३२० को इञ्जिन भाडामा लिएको थियो । भाडामा लिने क्रममा ९ जनवरी २०२२ मा साधारण बोलपत्र आह्वान गरिएको थियो ।

इञ्जिन भाडामा लिन आह्वान गरिएको करिब डेढ महिनापछि मात्रै इजरायली कम्पनी एमटीयुसँग सुरुमा २१ दिनका लागि भन्दै इञ्जिन भाडामा लिइएको थियो । त्यतिबेला जहाज नउडेको अवस्थामा पनि भाडामात्रै दैनिक २ हजार डलर, उडानको भाडा प्रतिघण्टा २ सय ७८ डलर र प्रति साइकल भाडा २ सय ३९ डलर लाग्ने सम्झौता गरी इञ्जिन भाडामा लिइएको थियो ।

उक्त सबै जोड्दा यदि विमान उडेको अवस्थामा दैनिक ६ हजार ५ सय ७० डलर अर्थात् ८ लाख ६० हजार ६ सय ७० रुपैयाँ जति पर्न आउने गरी सम्झौता गरिएको थियो । सुरुमा ४५ दिनभित्र इञ्जिन बनाइसक्ने भनेर ४५ दिनका लागि भाडामा लिइएको उक्त जहाज फेरि ४५ दिन समय थप गरी ९० दिनलाई लिइएको थियो । तर इञ्जिन बनाउने र इञ्जिन भाडामा दिने कम्पनी एउटै कम्पनीको सिस्टर अर्गनाइजेसन भएका कारण नेपाल एयरलाइन्स र एमटीयुको मिलेमतोमा पटकपटक मर्मतको म्याद थपेर इञ्जिन भाडामा लिई चलाइएको थियो । यसरी हेर्दा करिब १८ महिनासम्म नेपाल एयरलाइन्सले इञ्जिन भाडामै लिएर एयरबस ए३२० चलाएको थियो ।

नेपाल एयरलाइन्स स्रोतका अनुसार इजरायली कम्पनी एमटियुसँग भाडामा लिइएको उक्त इञ्जिन ५४२ दिन प्रयोगमा ल्याइँदा ३४ करोड ८४ लाख रुपैयाँ भाडामात्रै तिरिएको छ । जबकि यदि जिरो आवरको सेकेण्ड ह्याण्ड इञ्जिन नै खरिद गरेको भए पनि ६५ देखि ७० करोडमा उपलब्ध हुने नेपाल एयरलाइन्सकै एक इञ्जिनियरले रातोपाटीलाई बताए ।

सार्वजनिक खरिद नियमावलीलाई आधार लिई नेपाल वायुसेवा निगमले बनाएको आर्थिक विनियमावली, २०६५ को नियम २२३ मा विमानका इञ्जिन तथा पार्टपूर्जा भाडामा लिनेदिने सम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार इञ्जिन भाडामा लिनुपर्ने भएमा परल मोलको ६० प्रतिशतभन्दा बढी पर्ने भएमा भाडामा लिन नपाइने व्यवस्था गरिएको छ । अनि इञ्जिन भाडामा लिने प्रयोजनका लागि इञ्जिनियरिङ विभागका प्रमुखमार्फत वार्ताका आधारमा भाडा निर्धारण हुने कुरा उल्लेख छ ।

NAC 2

आर्थिक विनियमावलीको सोही व्यवस्थाका कारण यसअघि भाडामा लिइएको उक्त इञ्जिन गत अगष्ट २८ मा मात्रै फिर्ता पठाइएको छ, जबकि सो समयभन्दा पहिले नै निगमको अर्को जहाज काठमाडौंमै ग्राउण्डेड अवस्थामा थियो । अब फेरि पहिलेकै विधि अनुसार पुनः इञ्जिन भाडामा लिन लागिएको छ ।

पहिले एमटीयुबाट इञ्जिन भाडामा लिए पनि विविध कारणले ५३ दिन जहाज उड्न सकेको थिएन । नेपाल एयरलाइन्सको न्यारो बढी विमान ए३२० को दैनिक औसत कमाई १ करोड ६ लाख रुपैयाँ छ । तर नेपाल एयरलाइन्स व्यवस्थापनले पहिले नै सम्झौता नगर्दा कतारमा पहिलोपटक बिग्रदा ४८ दिन, त्यसपछि ५३ दिन विमान ग्राउण्डेड भयो । जबकि दोस्रोपटक ५३ दिन विमान ग्राउण्डेड हुँदा भाडामा लिइएको इञ्जिन जहाजमै राखियो र भाडामात्रै तिरिरहने काम भयो । विमान नचल्दा दुई पटकमा कुल १ अर्ब ७ करोड नोक्सानी भयो । त्यतिमात्रै होइन, उक्त इञ्जिन लिइसकेपछिकै हिसाब गर्ने हो भने पनि उक्त इञ्जिन विमानमा जोडेर पहिले ५३ दिन र फिर्ता पठाउने भन्दै कतारमा २२ दिन त्यसै राखियो । जसबापत काम नै नगरीकन वा प्रयोगमा नल्याइकन पनि नेपाल एयरलाइन्सले करिब ५ करोड रुपैयाँ त्यसै भुक्तानी गरेको छ ।

नेपाल एयरलाइन्सले एमटीयुबाट इञ्जिन भाडामा लिइपछिकै अवधिलाई मात्रै हेर्ने हो भने भाडाबापत मात्रै कुल ३४ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने दुई पटक विमान ग्राउण्डेड भई पहिले ५३ दिन र पछि २२ दिन गरी कुल ७५ दिन विमान उड्न नसक्दा निगमको कुल ७९ करोड ५० लाखको आम्दानी गुमेको छ । भाडा र गुमेको आम्दानीको हिसाब गर्दा एमटीयुसँग इञ्जिन भाडामा लिँदा र विमान उडाउन नसक्दा कुल १ अर्ब १४ करोड रुपैयाँको घाटा भएको छ ।

 एमटीयुको इञ्जिन फिर्ता पठाएर फेरि उसैसँग इञ्जिन भाडामा लिने तयारी

 अहिले नेपाल एयरलायन्सकै अर्को न्यारो बढी विमान काठमाडौँमा गत जुलाई २६ देखि ग्राउण्डेड छ । 9N-AKX कलसाइनको एयरबस ए ३२० न्यारो बढी काठमाडौँमा ग्राउण्डेढ भएको २ महिना बितिसकेको छ । तर नेपाल एयरलाइन्सकै सार्वजनिक खरिद विनियमावलीले बन्देज लगाएको भन्दै एमटीयुसँग भाडामा लिएको इञ्जिन हतारहतार फिर्ता पठाएर फेरि अर्को इञ्जिन भाडामा लिने कार्य भइरहेको छ ।

पहिले जुन कम्पनीलाई इञ्जिन मर्मतको जिम्मा दिइएको थियो, सोही कम्पनीबाट पुनः इञ्जिन भाडामा लिन लागिएको हो । अहिले इञ्जिन मर्मतको काम गरिरहेको एमटीयुसँग नै पुनः इञ्जिन भाडामा लिन लागिएको छ । जबकि २२ दिन कतारमा त्यसै थन्क्याएर राख्नुको सट्टा सोही इञ्जिन प्रयोग गरेर उडाएको भए निगमको जहाज कम्तीमा २२ दिन उड्न सक्थ्यो ।

 कमिसनकै लोभमा एमआरओ छनोटमा विलम्ब !

 नेपाल एयरलाइन्सकै एक इञ्जिनियरका अनुसार निगमका पदाधिकारीले कमिसनवापत पाउने ठूलो रकमका लागि हालसम्म एमआरओ छनोट भएको छैन । एमआरओ छनोट भएपछि यदि कुनै इञ्जिनमा समस्या देखिएमा इञ्जिन उपलब्ध गराउने जिम्मेवारी र तोकिएकै समयमा बनाउने जिम्मेवारी पनि सोही कम्पनीको रहन्छ । ग्लोबल टेण्डर हुँदा दैनिकरुपमा भाडामा उपलब्ध गराउने इञ्जिनको शुल्क पनि यसअघि तिरिएको रकमभन्दा आधा मूल्यमै प्राप्त गर्न सकिन्छ ।

तर ग्लोबल टेण्डर हुँदा पदाधिकारी र निगमकै वरिष्ठ तहमा बसेका इञ्जिनियरहरुले कमिसन खान नपाउने भएपछि नियतवश अनेक बाहाना देखाएर ग्लोबल टेण्डरलाई पर धकेल्दै लगेको त्यहीँ कार्यरत एक इञ्जिनियरले रातोपाटीलाई बताए ।

समयमै एमआरओ छनोट भएमा भनिएको समय अर्थात् सामान्यतया ४५ देखि ६० दिनभित्र इञ्जिन मर्मत गर्न नसकेमा सोही कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने हुन्छ । तर एमआरओ छनोट पनि नगर्ने र सोही कम्पनीबाट इञ्जिन भाडामा लिएपछि चर्को भाडा लिने र इञ्जिन मर्मतलाई समय लगाउने भएपछि मर्मत गर्ने कम्पनीलाई फाइदा भए पनि सेवा लिने कम्पनी अर्थात् नेपाल एयरलाइन्सलाई भने चर्को घाटा पर्ने गरेको छ ।

यसअघिको इञ्जिन भाडा र विमान ग्राउण्डेड हुँदा निमगलाई १ अर्ब १४ करोड घाटा भइसकेको छ भने फेरि अर्को विमान विगत २ महिनादेखि ग्राउण्डेड भई इञ्जिन भाडामा लिने प्रक्रियामा जाँदा पुनः सोही नियति दोहोरिने सम्भावना छ ।

 करिब १५ करोड कमिसनको खेल

नेपाल वायुसेवा निगमकै एक इञ्जिनियरका अनुसार यस प्रकृतिको व्यापारमा ८ देखि १० प्रतिशतको एजेन्सी कमिसन वा खरिदको कमिसनको व्यवस्था गरिएको हुन्छ । यसैलाई आधार मान्ने हो भने पनि इञ्जिन मर्मतका लागि ग्लोबल टेण्डर नगरी सोझै कुनै कम्पनीलाई मर्मतको जिम्मा दिँदा दुईपटक इञ्जिन मर्मतका लागि करिब ९० लाख अमेरिकी डलर अर्थात् १ अर्ब १८ करोड नेपाली रुपैयाँको कारोबार हुन्छ भने करिब ३५ करोड रुपैयाँ बराबरको इञ्जिन भाडामा गर्दा कुल १ अर्ब ५३ करोडको कारोबार भएको छ ।

यो कारोबारलाई आधार मानेर एजेन्सी कमिसन वा खरिदको कमिसन हेर्ने हो भने पनि १२ करोडदेखि १५ करोड रुपैयाँ कमिसन पाउने सम्भावना रहन्छ । यो कमिसन मर्मतका लागि जिम्मा दिने व्यक्तिदेखि एजेन्सीसम्मले पाउँछन् । मर्मतको समय लम्बिँदा कारोबारको रकम बढ्ने र कमिसनको रकमसमेत बढ्ने हुँदा ग्लोबल टेण्डर नगरी साधारण दरभाउमा खरिद गरी नेपाल एयरलाइन्सलाई भने हानी पुर्‍याउन र एजेन्ट र पदाधिकारीले कमिसनका लागि काम गरिरहेको त्यहीँ कार्यरत कर्मचारीको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप