सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुशेऔँसीको सुरुवात र कुश प्रयोगको विधिविधान

बिहीबार, २८ भदौ २०८०, ११ : ००
बिहीबार, २८ भदौ २०८०

कुश के हो र यसको उत्पत्ति

कुश सिरु परिवारको एक पवित्र हरियो वनस्पति हो । शास्त्रहरूमा कुशको उत्पत्तिका सम्बन्धमा दुईवटा धारणा उल्लेख भएको पाइन्छ । मत्स्यमहापुराणमा उल्लेखित कथा अनुसार बराह रूपका विष्णु भगवानले समुन्द्रमा डुबेकी पृथ्वीको उद्धार गर्दा बराहको रौँ पृथ्वीमा खसेर उम्रिएको वनस्पति भनिएको छ । दोस्रो भनाइ अनुसार जालन्धरकी पतिव्रता श्रीमती वृन्दाले ढुङ्गामा शालिग्राम, रूखमा पीपल, वनस्पतिमा कुश... आदि हुनु परोस् भनेर विष्णुलाई दिएको श्रापअनुसार कुश भएको भन्नेको पनि पाइन्छ । यसर्थ कुशलाई हिन्दु दर्शनमा भगवान विष्णुको प्रतीकका रूपमा मानिन्छ । 

हाम्रो सनातन हिन्दु परम्परामा कुशको धार्मिक, औषधीय र जैविक तथा वातावरणीय महत्त्व रहेको पाइन्छ । माथि उल्लेख गरे अनुसार धार्मिक अनुष्ठान तथा पितृकर्म जस्ता जुनसुकै कार्य गर्दा पनि कुशको प्रयोग गरिन्छ । जस्तै कुशको औँठी लगाउने, कुशको आशनमा बस्ने, यज्ञोपवित धारण गर्नुपूर्व कुशको जनै लगाउने आदि आदि । यो कुशको औँठी लगाउँदा ‘ॐ पवित्रस्थो वैष्णयौ सवितुर्वः प्रसव उत्पुनाम्यच्छिद्रेण पवित्रेण सूर्यस्य रश्मिभीः । तस्यते पवित्रपते पवित्र पुतस्य यत्कामे पुने तच्छकेयम्’ भन्ने मन्त्रोच्चरण गरिन्छ । 

कुशको उपयोगिता र महिमालाई लिएर विभिन्न कर्मकाण्ड, श्रीमद्भागवत् गीता, गरुड पुराण, यथर्व वेद र विष्णुमहापुराणमा यसरी वर्णन गरिएको छ । 

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ।

करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात् नुहाउँदा, जप, स्नान गर्दा, दानगर्दा, पूजापाठ, पितृकार्यमा समेत प्रयोग हुने बहुउपयोगी कुशलाई हिन्दु धर्मावलम्बीहरूले महत्त्वका साथ प्रयोग गर्छन् । 

औषधीय महत्त्वमा यसको जरा र पातले रक्तसञ्चार, पत्थरी, अल्सर, रक्तप्रद, मूत्ररोग, पायल्स साथै अन्य रोगको प्रतिरोधक क्षमता बढाउँछ । पक्षाघात, हृदयाघात, नसा, मष्तिस्काघात जस्ता डरलाग्दा रोगको उपचारमा यसको प्रयोग गरिन्छ भन्ने आयुर्वेदका जानफकारहरूको भनाइ छ । यसै गरी कुशले वरिपरिका सानातिना र आँखाले नदेखिने किटाणुहरू नाश गर्छ र विकिरणलाई समेत नियन्त्रणमा राख्छ भन्ने विश्वास गरिन्छ । यसैले हिन्दू परम्परामा कुशलाई घरघरमा ल्याएर राखिने प्रचलन आज पनि पाइन्छ । 

कुश वन जङ्गलमा पनि पाउन सकिन्छ र मानिसले खेतीका रूपमा पनि लगाउँछन् । शास्त्रीय विधानअनुसार कुश रोप्ने वा लगाउने र उखेल्ने वा काट्ने पनि निश्चित समय हुन्छ । कुश अघिल्लो वर्ष श्रावण शुक्ल चतुर्दशीका दिन रोपिन्छ । कुश रोपण गर्दा ‘कुशाग्रे बसतो रुद्रः कुशामध्ये तु केशव । कुशामूले स्थितो ब्रह्मा कुशान्मे देहीमेदिनी’ भन्ने मन्त्रोच्चारण गरिन्छ । अर्को वर्षको भाद्रकृष्ण औँसीमा काट्ने वा उखेल्ने गरिन्छ । कुश काट्दा वा उखेल्दा ‘ॐ बिरञ्चेनो सहोत्पन्न परमेष्टि निसर्गजः । नुदःसर्वाणि पापानी दर्भः स्वस्ति करो भवः’ भन्ने मन्त्रोच्चारण गरिन्छ । कुश नपाएमा सिरु, बाबियो, काँस, तुलसी, पीपल, दुबो, शालिग्रामले पनि काम चलाइन्छ । 

लघुस्मृति पुराणका अनुसार अन्य समयमा काटेको वा उखलेको कुशले एक दिन मात्र, कुशेऔँशीको दिन उखलेको कुशले एक वर्षसम्म र कुशेऔँशी अझ सोमबार (सोमबारे कुशेऔँशी) पर्न गएमा सो दिन उखेलेको वा काटेको कुशले १२ वर्षसम्म त्यसको गुणअनुसार काम गर्छ भन्ने शास्त्रीय भनाइ छ । 

कुशेऔँसी के हो र किन मनाइन्छ ? 

कुशेऔँसी सनातन हिन्दु धर्ममा एक महत्त्वपूर्ण पर्व हो । यो औँसी हरेक वर्षको भाद्रकृष्ण अमावाष्यका दिन पर्छ । यस वर्ष भदौ २८ गते बिहीबार परेको छ । जब सूर्य सिंहराशिमा प्रवेश गर्छन् तब पितृहरू पितृपक्ष सुरु हुन लाग्यो भनेर बाहिर निस्कने, रमाउने, सूर्योपासना गर्ने गर्छन् अरे । किनकि सूर्यनारायण पितृका पनि देवता मानिन्छन् । 

माथि उल्लेख गरिए अनुसार कुशेऔँसीका दिन उखेलेको कुशले एक वर्षसम्म यसको फल दिन्छ भनिएको छ । यसैले वर्षवर्षदिनको कुश औँसीमा ब्राह्णले यजमानको घरघरामा कुश लैजाने चलन आजसम्म परम्परागत रूपमा चलिआएको पाइन्छ । ब्राह्मणले यजमानका घरमा कुश लगेर राख्दा ‘दर्भो यः उग्र औषधिस्तं ते बध्नामि आयुषे’ अर्थात् दर्भ (कुश) तत्काल फल दिने पवित्र औषधी हो भन्ने वर्णन गरिएको छ । 

गोकर्णेऔँसी तथा उत्तर गया 

यो कुशेऔँसीलाई गोकर्णेऔँसी पनि भनिन्छ । यो गोकर्णेऔँसीको पनि दुईवटा उद्धरण पाइन्छ । पहिला गोकणले यहीँ बसेर भागवतमहापुराण लगाई तर्पण तथा श्राद्ध गरेर आफ्नो दाजु धुन्दुकारीलाई प्रेतलोकबाट उद्धार गरी पितृलोकमा पठाएको कथा पाइन्छ । 

यसै गरी स्कन्द पुराणअन्तर्गत हिमवत् खण्डको अध्याय ८५ मा नेपालको गोकर्णतीर्थको बारेमा यस्तो कथा उल्लेख गरिएको छ । पहिला महादेव पशुपतिनजिकको श्लेशमान्तक वनको मृगस्थलीमा एकसिङे ठूलो मृग भएर विचरण गरिरहनुभएको थियो । त्यसै भएर माता पार्वती पनि गुह्येश्वरीका रूपमा त्यहीँ अभिर्भाव हुनुभयो । ब्रह्मा, विष्णु र इन्द्रले भगवान् शिवलाई खोज्दै जाँदा माता गुह्येश्वरीलाई भेटेर महादेवको हुलिया लिए र भेट्नेबारेको सल्लाह पनि लिए । सोहीअनुसार ब्रह्माले एकसिङे मृगको फेदमा, विष्णुले माझमा र इन्द्रले टुप्पोमा समाते । सिङ भाँचिएर तीन टुक्रा भयो । यसको सानो अंश स्वास्थानीमा पनि पाइन्छ । महादेव प्रकट हुनुभयो र ब्रह्माले समातेको सिङ यही कुशेऔँसीका दिन गोकर्णमा लगेर शिवलिङ्गसँगै स्थापित गरिदिनु भन्नुभयो रे । यही कथाअनुसार गोकर्णलाई गोकर्णेश्वर महादेव भन्न थालियो । यसैलाई उत्तर गया पनि भन्न थालियो । 

बाबुको मुख हेर्ने दिन 

बुद्धोक्त पराजिकाय नामक धर्म ग्रन्थअनुसार कुशेऔँसीलाई बुबाको मुख हेर्ने दिनका रूपमा मनाउने सांस्कृतिक परम्परा रहेको छ । मुख हेर्ने भनेको केवल अनुहार मात्र हेर्ने भनेको होइन । हामी सनातनी हिन्दुहरूमा पितृ देवो भवः, मातृदेवो भवः, गुरु देवो भवः र अतिथि देवो भवः भन्ने शास्त्रीय मान्यतालाई शिरोधार्य गरिने संस्कार छ । यसको मतलब जजसका बुबा जीवित हुनुहुन्छ, उहाँहरूलाई आजका दिन आदर सम्मान गर्ने, कुराकानी गर्ने, सँगै बस्ने वा घुम्न जाने, मीठा–मीठा सन्तुलित भोजन गराउने, नयाँ कपडा दिने, बिरामी भएमा उपचार गर्ने दिनका रूपमा पनि लिइन्छ । 

जजसको बुबा दिवङ्गत हुनुभएको छ, उहाँको सम्झनामा माथिको कथा अनुसार काठमाडौँको गोकर्ण, उत्तर गयाका रूपमा वेत्रावती, रसुवाको गोसाइँकुण्ड, बराहक्षेत्र, तिब्बतको मानसरोवर, ठूला नदीदोभान, त्रिवेणी वा अन्य महत्त्वपूर्ण तीर्थस्थलमा गएर तर्पण, सिदा दान वा पिण्ड दान (श्राद्ध) गरिन्छ । जसलाई ती कार्य गर्ने अनुकूल मिल्दैन त्यस्तो अवस्थामा सूर्यनारायणलाई एक अँजुली पानी अर्पण गर्ने र पितृलाई सम्झेर अर्को अँजुली पानी दायाँ हाँतको चोरऔँला र बुढीऔँलाको बीचबाट अर्पण गर्नु भनेको पाइन्छ । मातातीर्थऔँसीमा आमाको सम्झना गरिन्छ भने गुरु पूर्णिमाका दिन गुरुको सम्झना गरिन्छ । यसैगरी कुशेआँैसीमा बुबाको सम्झना गरिन्छ । 

  मोतीराम भट्टको जन्मजयन्ती र कुशेऔँशी 

साहित्यिक काल विभाजनअनुसार मोतीराम भट्टलाई माध्यमिक कालीन नेपाली साहित्यका प्रणेता मानिन्छ । उनी त्यो युगका शृङ्गारिक युवा कवि मानिन्छ । मोतीराम भट्टले नेपाली साहित्यमा कथा, निबन्ध, कविता, अझ खास गरी गजलमा र गजल वाचनमा ठूलो फड्को मारेको पाइन्छ । 

मोतीराम भट्टले आदिकवि भानुभक्तको कृतिहरूको छापाखानामार्फत प्रचार प्रसार गराएर नेपाली साहित्यलाई भण्डारमा कल्पवृक्ष वा कामधेनुको प्रवेश गराउनु भएकोलाई उनी काठमाडौँको भोसीको टोलमा कुशेऔँशीका दिनमा जन्मेर ३० वर्षको उमेरैमा सोही दिन परलोक भए । यस दिन उनलाईको जन्मजयन्ती मनाउँदै श्रद्धाञ्जली मनाउन साहित्यिक सङ्घसंस्था, विद्यालय, महाविद्यालयहरूमा साहित्यिक कार्यक्रमहरूको आयोजना गरिन्छ । यस दिन नेपाली साहित्य परिषद्मा पनि उहाँको सम्झनामा समस्यापूर्ति कविता गर्ने चलन रही आएको छ । यस वर्षको समस्यापूर्तिको शीर्षक ‘लाज आफैँ लजायो’ भन्ने रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप