बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालमा एमआरआई मेसिनबाट सेवा सुरु

२९ करोड ७१ लाख बजेटमा मेसिन खरिद
शुक्रबार, २९ भदौ २०८०, १० : ०६
शुक्रबार, २९ भदौ २०८०

सुर्खेत । सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा एमआरआई मेसिनसहितको सेवा सुरु भएको छ । शुक्रबारदेखि उक्त मेसिन सञ्चालनमा ल्याइएको हो । 

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सञ्चालन गरिएको हो । 

१५ महिना देखिको लामो प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन पाउँदा खड्काले खुसी व्यक्त गरे । 

सुर्खेतमै एमआरआई मेसिनबाट सेवा सुरु भएपछि अब उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको खड्का बताउँछन् । 

एमआरआई उच्चस्तरको प्रविधि हो । चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । यो मेसिनले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुने खड्काले बताए ।

ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ ।  मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ ।

आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ । एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातु, मोबाइल, फोन, घडी, क्रेडिट कार्ड तथा विद्युतीय उपकरण एमआरआई गरिएको स्थानमा लैजान मिल्दैन । ‘एमआरआईले सबैजसो रोग पत्ता लगाउन सहयोग गर्छ,’खड्काले भने,‘ मुख्यतया नसाको रोगमा एमआरआई प्रयोग गर्ने गरिन्छ । थाई, कम्मर तथा अन्य विभिन्न भागको मासुमा ट्युमर पलाएको अवस्थामा समेत एमआरआई प्रयोग गर्न सकिन्छ ।’ 

प्रदेश अस्पतालको यो मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको हो । प्राविधिक विवरण, प्राविधिक विशिष्टताका हिसाबले यो मेसिन उच्च गुणस्तर रहेको दाबी उनको छ । अहिले सम्म नेपालकै सबै भन्दा बढी क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा गरिएको छ ।

सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो । उक्त मेसिन २९ करोड ७१ लाख बजेटमा खरिद गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप