बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक कुटपिट घटना : पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप

शुक्रबार, २९ भदौ २०८०, १५ : २२
शुक्रबार, २९ भदौ २०८०

मकवानपुर । हेटौंडामा भएको चिकित्सक कुटपिट घटनामा पक्राउ परेकामाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप गरिएको छ । पक्राउ परेका ४ जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी कार्कीका अनुसार घटनामा संलग्न भएकाहरुलाई सिसिटिभी फुटेजका आधारमा बिहीबार ४ जनालाई पक्राउ गरिएको थियो भने अन्यलाई पक्राउ गर्ने पक्रिया अघि बढाइएको छ । प्रहरीले टेक्निकल र म्यानुअल सिस्टमबाट घटनाको अनुसन्धान थालेको उनले बताए ।

सो घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न प्रहरीको प्राविधिक टिमले सीसीटीभी फुटेज विश्लेषणको काम गरिरहेको र उक्त विश्लेषणको रिपोर्टका आधारमा चिकित्सकमाथि हातपात गर्ने जो कोहीलाई पनि हिरासतमा लिइने उनले बताए । प्रहरीले घटनाका विषयमा प्राप्त उजुरी विश्लेषण गरी अनुसन्धान प्रक्रिया थालेको उनको भनाई छ । घटनामा संलग्न रहेकाहरुको बयान लिने, सोधपुछ गर्ने र सो घटनामा जोडिएर आएका प्रमाणका आधारमा योजना निर्माण गरिएको भए वा देखिएका सबैलाई पक्राउ गरी अनुसन्धान गर्ने उनले बताए ।

हालसम्म प्रहरीले घटनामा संलग्न भएका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको थियो ।

उक्त घटनाका विषयलाई लिएर हेटौंडामा सम्पूर्ण स्वास्थ्य संस्था पूर्ण रुपमा बन्द गरिएको छ । हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मीक बाहेका सबै सेवा प्रवाह बन्द गरिएको छ । हेटौंडा अस्पतालमा पनि आकस्मीक र फार्मेसि बाहेकका सेवा बन्द गरिएको छ । 

स्थानीय प्रशासनले सुरक्षा प्रत्याभूति दिलाउन नसकेको र त्रासपूर्ण वातावरणमा काम गर्न नसक्ने भन्दै हेटौंडा अस्पतालका ७९ जना चिकित्सकले सामूहिक राजीनामाको तयारी गरेका छन् । उनीहरुले राजीनामा पत्रमा हस्ताक्षर गरी हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा समक्ष बुझाएका हुन् । घटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाही नभए डा. सापकोटाले उक्त राजीनामा पत्रमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गरेका छन् ।

यता नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले उक्त घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै २ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् भने सीसीटीभी फुटेजमा देखिएका सबैलाई पक्राउ गरी कारबाही गर्न उनले माग गरेका छन् ।

गत बुधाबार हेटौंडाको सञ्चो अस्पतालमा २ चिकित्सकमाथि हातपात भएको थियो । अस्पतालको हाई डिफिसियन्सी युनिट (एचडियू)मा सञ्चो अस्पतालका जनरल फिजिसियन डा. विकास थापा र हेटौंडा अस्पतालका एनएसथेसिया विभागका डा. प्रशान्त विडारीलाई हातपात गरिएको थियो ।

गत साउन २५ गते डेंगु संक्रमणका कारण हेटौंडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर डाक्टरहरुमाथि हातपात भएको थियो । प्रधानको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसअघि हेटौंडा–१ स्थित उक्त अस्पतालमा उपचारका लागि भर्न भएका प्रधान थप उपचारका लागि भरतपुर लगिएको थियो । मृत्यु भएको एक महिना पछि मृतकका परिवार र आफन्तले अस्पतालका चिकित्सकहरुमाथि हातपात गरेका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप