मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्यमाथि लापरबाही

चिकित्सकको आन्दोलनका कारण बिरामीलाई सास्ती

आइतबार, ३१ भदौ २०८०, २३ : ०८
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । रामेछापकी मीना तामाङ सामान्य मान्छेसरह हिँडडुल गर्न सक्दिनन् । उनको हातखुट्टा डम्म फुलेको थियो । वीर अस्पतालको टिकट काउन्टरको अगाडि भेटिएकी उनी बेन्चमा बसेर कहिले खुट्टा तल झार्ने, कहिले पसारेर बस्ने गरिरहेकी थिइन् ।

शुक्रबार पनि अस्पताल आएकी उनलाई आइतबारका लागि भिडियो एक्सरे गर्न डाक्टरले बोलाएका थिए । ‘हातखुट्टा दुखेर गाह्रो भएको छ, आज एक्सरे गरी डाक्टरले औषधि दिन्छन् कि भनेर हतारहतार आएँ, तर अस्पताल नै बन्द रहेछ,’ उनले भनिन्, ‘रामेछापबाट उपचार गर्न आएको तीन दिन भयो, काभ्रेस्थलीमा आफन्त छन्, त्यहीँबाट ट्याक्सीमा ७०० रुपैयाँ तिरेर आएँ । अब फर्किन पनि त्यत्ति नै पैसा लाग्छ ।’

सरकारी अस्पतालमा राम्रो र सस्तोमा उपचार हुन्छ भनेर आएको तर समयमै उपचार नहुँदा ओहोरदोहोरमै झन् धेरै खर्च हुने भएको उनको गुनासो छ ।

लामो समयदेखि घाँटी सुक्ने, खसखस हुने जस्ता समस्याका कारण पाल्पाबाट उपचारका लागि आएकी इन्दु बस्यालले अस्पतालमै पुगेपछि मात्र ओपीडी सेवा बन्द भएको थाहा पाइन् । जिल्लामा मेडिकल, अस्पतालहरूमा विगत आठ महिनादेखि उपचार गराइ औषधि सेवन गर्दा निको नभएको जनाउँदै उनले भनिन्, ‘राम्रो र चाँडो उपचार पाइएला भनेर आएँ । तर अस्पताल कहिले खुल्ने हो भन्ने थाहा छैन । घर फर्किएर जाउँजस्तो भयो ।’

साना छोराछोरी र गाइबस्तुलाई छिमेकीको भरमा छोडेर आएको उनको भनाइ छ । ‘३–४ बजेसम्म अस्पताल खुलेन भने घर फर्किन्छु होला,’ उनले भनिन् ।

यस्तै सेती प्रादेशिक अस्पतालबाट रिफर भई वीर अस्पतालमा उपचारका लागि आएका तुलसी चापागाईं पनि ओपीडी बन्द भएपछि चिन्तित छन् । शुक्रबार नै ओपीडीमा जँचाएका उनको स्वास्थ्य परीक्षण पूर्ण नभएपछि आइतबार फेरि अस्पताल पुगेका थिए । लामो समयदेखि रगतमा समस्या देखिएर उपचार गर्दा सम्भव नभएपछि अन्तिम आश बोकेर उनी वीर अस्पतालमा आएका हुन् ।

उनले भने, ‘डाक्टरमाथि हातपात जसले ग¥यो, उसलाई सजाय दिनुपर्छ । हामी सर्वसाधारण जनतालाई यसरी सजाय दिनु हुँदैन ।’

यस्तै, तनहुँबाट ७० वर्षीय श्रीमतीलाई उपचार गराउन पाटन अस्पतालमा आएका बन्धु शर्मालाई अस्पतालको ओपीडी किन बन्द भयो भन्ने पत्तो छैन । श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएपछि उनी उपचार गराउन आएका हुन् ।

उनले भने, ‘अस्पताल बन्द छ भन्छन्, तिज लागेर होला ! अहिले खुल्ला नि !’

यसरी आज नेपाल चिकित्सक संघले चिकित्सकका लागि न्याय माग्दा देशभरका जनताले सास्ती भोग्न बाध्य भएका छन् । देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा ठप्प छन् । जसका कारण नयाँ र फलोअपका लागि आउने बिरामीहरू सेवाबाट बञ्चित भएका छन् ।

भदौ २७ मा हेटौंडास्थित सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले आक्रमण गरेको घटनालाई लिएर नेपाल चिकित्सक संघले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज देशभरका स्वास्थ्य संस्थाको ओपीडी बन्द गरेको छ ।

यस्तै सरकार र आन्दोलरत पक्षबीच वार्ता सुरु भइसकेको छ ।  स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप