बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अब पढ्दै, कमाउँदै मकवानपुरगढीका विद्यार्थी

शुक्रबार, ०५ असोज २०८०, १९ : १५
शुक्रबार, ०५ असोज २०८०

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्यार्थीहरुलाई उत्पादनसंग जोड्न विद्यालयस्तरमा नै पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । गाउँपालिकाले स्थानीय प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको प्रयोगात्मक शिक्षालाई उत्पादनमुखी बनाउने उद्देश्यअनुसार पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढाएको हो ।

पालिकाले नमुनाको रुपमा चालु आर्थिक वर्ष २०८०/०८१ मा पहिलो पटक सो कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढाएको मकवानपुरगढी गाउँपालिकाका सूचना अधिकारी राम घलानले जानकारी दिए । 

उनका अनुसार पालिकाले नमुनाको रुपमा पहिलो पटक उक्त कार्यक्रम प्राविधिक विद्यालयबाट सुरु गर्ने गरी अघि सारेको र सो कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विद्यार्थीहरु कक्षा १२ को अध्ययनपछि विदेश पलायन हुने दर बढ्दो रहेको र अहिलेका विद्यार्थीहरु उत्पादनका विषयमा कुनै जानकारी नहुने समस्या देखिएकाले सो कार्यक्रम अघि सारिएको उनको भनाई छ ।

पहिलो चरणमा मकवानपुरगढी गाउँपालिकाले वडा नं २ स्थित श्री वंशगोपाल माध्यमिक विद्यालय, कर्लेमा सो कार्यक्रम सञ्चालनको तयारी गरिएको उनले बताए । सो विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत छात्र तथा छात्राहरुलाई सहभागी गराएर कृषि तथा पशुजन्य पदार्थ उत्पादन गर्ने तयारी पालिकाको रहेको छ । 

विद्यार्थीहरुले उत्पादन गरेका वस्तुहरु विक्री वितरणबाट प्राप्त रकम उनीहरुकै अध्ययन तथा अन्य कार्यमा खर्चिने गरी कार्यक्रम कार्यान्वयनको तयारी रहेको छ ।

उनका अनुसार सो कार्यक्रमअन्तर्गत रैथाने बालीहरुको प्रवर्द्धनमा पनि पालिकाले काम गर्नेछ । 

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सिपयुक्त एवम् स्वावलम्बी नागरिक बन्न सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य छ । 

सो कार्यक्रममार्फत् सिँचाई एवम् कृषि यान्त्रिकरणमा सहयोग गर्नुका साथै कृषि प्रसार कार्यक्रमका गतिविधिहरु सञ्चालनका लागि भूमिका निर्वाह गरिनेछ ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तानका अनुसार उत्पादनसंग जोड्न नसक्दा वर्षेनी युवा तथा विद्यार्थीहरु विदेश पलायन दर उच्च हुँदै गएकाले गाउँपालिकाले सो कार्यक्रम अघि सारेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप