शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मीको १६ दिने विशेष पूजा, आराधना सुरु

शुक्रबार, ०५ असोज २०८०, २० : ३७
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् ।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष असोज १९ गते शुक्रबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।  

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

साक्षात् भगावन् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उप प्राध्यापक चिन्तामणि भट्टराईले जानकारी दिए । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुनेछ । 

देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र समेत रचना गरेको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रु समेत नाश हुने उनले बताए ।

प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप