बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

प्रचण्डको चीन भ्रमण, कति पटक पुगे ?

शनिबार, ०६ असोज २०८०, १३ : २५
शनिबार, ०६ असोज २०८०

चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी चीन भ्रमणका लागि शनिवार बिहान चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेपछि चिनियाँ राष्ट्रपतिसँग पहिलो भेट गर्दैछन् । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन आज चिनियाँ समय अनुसार राती आठ बजे चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । 

सोही समारोहमा चीनले ६ वटा देशका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरेको छ । चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजपछि प्रचण्डको चीन भ्रमणको तालिका सुरु हुनेछ । मध्यान्ह ४ बजे राष्ट्रपति सीसँगको भेट महत्त्वपूर्ण हुनेछ । यस अघि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा गएका बेला सी सँग प्रचण्डको भेट भएको थियो । त्यसभन्दा पहिले सन् २०१६ मा चिनियाँ राष्ट्रपति भारत भ्रमणका बेला पनि प्रचण्ड र सीको भेट भएको थियो ।   

प्रचण्डको चीन यात्रा

सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौतापछि तत्कालीन एकीकृत नेकपा माओवादीका माओवादी पार्टी मूलधारको राजनीतिमा प्रवेश गर्न बाटो खुल्यो । त्यस लगत्तै भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठुलो राजनीतिक दल पनि बन्यो र प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेको पहिलो साता उनले पहिलो पटक चीनको भ्रमण गरेका थिए ।  

२००८ अगष्ट महिनामा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण नै चीन भएको थियो । तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग प्रचण्डको भेट भएको थियो । बेइजिङ ओलम्पिक्सको समापन समारोहमा भाग लिन चीन आएका थिए ।

प्रचण्डले चीन भ्रमण गरेपछि नेपालमा नेपालका प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गरेको भनेर चर्चा परिचर्चा सुरु भएपछि प्रचण्डले चीन भ्रमणबाट फर्के लगत्तै आफ्नो प्रथम औपचारिक भ्रमण भारतबाट हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको हैसियतमा गरिएको चीन भ्रमण अनौपचारिक नै भनियो । 

चीन भ्रमणबाट फर्के लगत्तै २००८ सेप्टेम्बर महिनामा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तोमा पाँच दिने भारत भ्रमण गर्न पुगेका थिए । 

प्रचण्डको दोस्रो चीन भ्रमण दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा २०१७ को मार्चमा चीनले आयोजना गरेको बोआओ सम्मेलनमा भाग लिन हाइनान प्रान्तमा आएका थिए । त्यसपटक पनि उनको चीनको भ्रमण अनौपचारिक नै थियो । त्यसअघि नै २०१६ सेप्टेम्बर महिनामा प्रचण्डले भारतको चार दिने राजकीय भ्रमण गरेपछि चीन भ्रमणमा आएका थिए । 

त्यसपछि, सन् २०१८ को सेप्टेम्बर महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा पार्टी गठन भएपछि चार दिनका लागि चीन भ्रमणमा आएका थिए । त्यतिबेला एकीकृत नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच एकीकरण भएर नेकपा गठन भएपछि प्रचण्डले भारतको भ्रमण गरेर फर्के लगत्तै भारतको भ्रमण सकेपछि चीनको भ्रमणमा आएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सहित आठ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भए लगत्तै नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन हाइनानमा आयोजना गरिएको बोआओ फोरममा सहभागी हुनका लागि निम्तो दिएका थिए । तर, प्रचण्डले चिनियाँ निम्तोलाई अस्वीकार गरी पहिलो भ्रमण भारतबाट गर्ने भन्ने अडान राखेका थिए । 

प्रचण्ड प्रधानमन्त्री भएको ६ महिनापछि गत जेठ १७ देखि २० गतेसम्म भारतको चार दिने भ्रमण गरेका थिए । अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि अमेरिका हङकङ हुँदै शनिवार बिहान चच्याङ प्रान्तको हाङचौंमा आयोजना गरिएको एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड चिनियाँ भूमि टेकेका हुन् ।  

प्रचण्ड आइतबार चीनको राजधानी बेइजिङ पुग्नेछन् । भोलि व्यापारीहरूको सम्मेलनमा सहभागी हुनेछन् भने सोमबार चिनियाँ प्रधानमन्त्रीसँग भेट गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप