बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा मृतावस्थामा भेटियो पाटे बाघ

मङ्गलबार, ०९ असोज २०८०, २२ : १९
मङ्गलबार, ०९ असोज २०८०

 जानकी । बाँकेमा मृतावस्थामा बाघ भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए । 

स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो । बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति पुर्याएको खड्काले बताए ।   

उनका अनुसार मृत बाघले असोज १ गते स्थानीय ठगुलाल थारुको भैँसी, २ गते डिलबहादुर थारुको गाई, ६, गते अमरबहादुर वलीको बाख्रा, ८ गते पुंगीराम थारुको भैँसी, त्यसैगरी ८ गते नै धनवीर थारुको गोरु र आज भीमराजको दुई वटा बाख्रालाई आक्रमण गरेको थियो । 

गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए । मृतावस्थामा भेटिनुपूर्व बाघको नियमन संयुक्तरूपमा बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गरिरहेको पनि उनले बताए । 

“बाघ गाउँमा पसेको खबर स्थानीयवासीले गरेपछि हामीले स्थानीयवासीलाई सजग रहन आग्रह गरेका थियौँ”, उनले भने, “अहिले अचानक बाघ मृत फेला परेको खबर थाहा पायौँ । बाघलाई कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषय भोलिको परीक्षण रिपोर्टले बताउँछ तर अहिले नै बाघको मृत्यु के कारणले र कसरी भएको हो भन्ने विषयमा केही भन्न सकिँदैन ।” 

निकुञ्ज संरक्षण अधिकृत शाहका अनुसार मृतक पाटे बाघको परीक्षण भोलि बुधबार गरिनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप