बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

सोमबार, १५ असोज २०८०, २३ : ३२
सोमबार, १५ असोज २०८०

काठमाडौँ । शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको लाइसेन्स निलम्बन गरेको हो । 

त्यसका लागि केही महिना अगाडि विभागमा उजुरी परेको थियो । यसमा प्रारम्भिक अनुसन्धान गर्दा ती मेनपावरको संलग्नता देखिएको भन्दै विभागले निलम्बन गरेर थप अनुसन्धान थालेको हो ।  वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरी थप अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राख्ने निर्णय गरिएको विभागले जनाएको छ । 

त्यसरी निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी रहेका छन् ।  विभागका महानिर्देशक मदन दाहालले जापानमा कामदार लैजानका लागि उनीहरूले नक्कली कागजात पेश गरेका थिए । २०७६ सालदेखि केही वर्षभित्रमा यस्तो खालको शंकास्पद कागजात पेश गरेको पाइएको उनीहरूमाथि थप अनुसन्धान जारी रहेको उनको भनाई छ । 

यो विषयमा विभागमा गत असारमा नै उजुरी परेको थियो । उजुरी परेकामध्ये केहीको प्रमाण पुगेपछि उनीहरूले सफाइ पाएका थिए । प्रमाण नपुगेकाहरूको हकमा निलम्बन गरेर थप अनुसन्धान गर्न लागिएको महानिर्देशक दाहालले बताए । 

जापानका कामदार भिसामा पठाउनको लागि भन्दै ती मेनपावर व्यवसायीले तालिम लिएको नक्कली प्रमाणपत्र पेश गरेका थिए । यो विषयमा विभागमा उजुरी परेपछि विभागका निर्देशक कविराज उप्रेतीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिको छानबिनको निष्कर्षको आधारमा विभागले निलम्बन गरेर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको हो ।

manpower

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप