आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

खेलाडीहरू पहिलो पटक रङ्गिन जर्सीमा सजिएको पाँचौँ विश्वकप

बुधबार, १७ असोज २०८०, ०९ : ४४
बुधबार, १७ असोज २०८०

काठमाडौँ । चौथो विश्वकप जस्तै पाँच विश्वकप पनि दुईवटा राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका थिए । पाँचौँ विश्वकपको आयोजक अस्ट्रेलिया र न्युजिल्यान्ड थिए । विश्वकपको पाँचौँ संस्करण सन् १९९२ को फेब्रुअरी २२ देखि मार्च २५ तारिखसम्म आयोजना भएको थियो ।

यसअघिका विश्वकप चार—चार वर्षमा आयोजना हुँदै आएको थियो । तर, चौथो र पाँचौँ विश्वकपको बिचमा पाँच वर्षको अन्तर रहन गयो । चौथो विश्वकप रिलायन्स कम्पनीले प्रायोजन गरेकोमा पाँचौँ संस्करण भने बेन्सन्स एण्ड हेजेज कम्पनीले प्रायोजन गरेको थियो ।

अर्को अर्थमा पनि विश्वकपको पाँचौँ संस्करण केही फरक थियो । यसअघिका विश्वकपमा आठ राष्ट्रले भाग लिँदै आएकोमा पाँचौँ विश्वकपमा नौवटा राष्ट्रले सहभागिता जनाएका थिए । यो विश्वकपमा पहिलो पटक सहभागी राष्ट्रहरूले रङ्गिन जर्सीको प्रयोग गरेका थिए ।

196527.3

यसअघिको विश्वकपमा सहभागी सबै राष्ट्रका खेलाडीले सेतो रङको पोसाक प्रयोग गर्ने गरेका थिए । यसका अतिरिक्त विश्वकपको पाँचौँ संस्करणमा सेतो रङको क्रिकेट बल र कालो ‘साइट स्क्रीन’ को पनि प्रयोग गरिएको थियो ।

क्रिकेट प्रतियोगितामा कालो ‘साइट स्क्रीन’ प्रयोग गर्ने परम्परा अहिले पनि कायमै छ । विश्वकपको यही संस्करणमा पहिलो पटक दक्षिण अफ्रिकाले पनि सहभागिता जनाएको थियो । यो विश्वकप आयोजना हुनुअघि नै दक्षिण अफ्रिकाले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएको थियो । 

विश्वकपको पाँचौँ संस्करणमा पनि जिम्बाब्वेले सन् १९९० आईसीसी ट्रफी जितेर सहभागिता जनाउने अवसर पाएको थियो । अघिल्लो संस्करणमा पनि जिम्बाबे आईसीसी ट्रफी विजेताकै रूपमा विश्वकपमा सहभागी भएको थियो । 

पाँचौँ विश्वकपमा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज र जिम्बाबेले भाग लिएका थिए । विश्वकपको पाँचौँ संस्करण अस्ट्रेलियाको ११ र न्युजिल्यान्डको सातवटा रंगशालामा खेलाइएको थियो । 

image

पाँचौँ विश्वकपका खेलहरू ११ जना अम्पायरले खेलाएका थिए । अम्पायरहरूको छनोट प्रतियोगितामा सहभागी राष्ट्रहरूबाटै गरिएको थियो । सबैभन्दा बढी खेल खेलाउने अम्पायर वेस्ट इन्डिजका स्टिभ बकनर र न्युजिल्यान्डका ब्रायन अलड्रिज थिए । उनीहरूले नौ—नौ खेल खेलाएका थिए । 

म्याच रेफ्रीमा अस्ट्रेलियाका पिटर वर्ग र न्युजिल्यान्डका फ्रान्क क्यामरुन थिए । यो विश्वकपमा खेलको ढाँचामा पनि परिवर्तन गरिएको थियो । सहभागी नौवटै टोलीलाई एउटै समूहमा राखेर सबै राष्ट्रलाई एकअर्कासँग एक—एक खेल खेलाइएको थियो । 

त्यसपछि अङ्क तालिकाको सबैभन्दा माथि रहने चारवटा टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेका थिए । आफूले खेलेका आठमध्ये सात खेलमा विजयी हुँदै १४ अङ्कसहित पहिलो स्थानमा रहेर आयोजक न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको थियो । विश्वकपको पाँचौँ संस्करणमा कुल ३९ वटा खेल खेलाइएको थियो ।

आठमध्ये पाँच खेलमा विजयी भएको इङ्ल्यान्ड ११ अङ्कसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको थियो । इङ्ल्यान्डको एक खेल अनिर्णीत रूपमा सकिएको थियो । यसदेखि बाहेक १० अङ्कसहित दक्षिण अफ्रिका तेस्रो र नौ अङ्कसहित पाकिस्तान चौथो हुँदै सेमिफाइनलमा पुगेका थिए । 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १९ रनले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि दक्षिण अफ्रिकाको लक्ष्यमा हेरफेर गरिएको थियो ।

196523.4

यसैगरी प्रतियोगिताको फाइनलमा पाकिस्तानले इङ्ल्यान्डलाई २२ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । पाकिस्तानले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । निर्धारित ५० ओभरमा पाकिस्तानले ६ विकेट गुमाएर दुई सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय २७ रनमात्र बनाउन सकेको थियो ।

पाकिस्तानका प्रभावशाली खेलाडी इमरान खानको यो अन्तिम विश्वकप थियो । कप्तान इमरान खानले पाकिस्तानका लागि ७२ रनको योगदान गरेका थिए । जावेद मियाँदादले पनि पाकिस्तानका लागि ५८ रन बनाएका थिए । 

इन्जमाम उल हकले ४२ र वसिम अकरमले ३३ रन जोडेका थिए । पाकिस्तानले अतिरिक्त रूपमा पनि ३२ रन पाएको थियो । यसका अतिरिक्त पाकिस्तानी बलर वसिम अकरम र मुस्ताक अहमदले तीन—तीन विकेट लिएका थिए । 

196539.3

न्युजिल्यान्डका मार्टिन क्रोले सर्वाधिक चार सय ५६ रन बनाएका थिए । पाकिस्तानका जावेद मियाँदादले चार सय ३७, दक्षिण अफ्रिकाका पिटर क्रिस्टेनले चार सय १०, अस्ट्रेलियाका डेविड बुनले तीन सय ६८ र पाकिस्तानका रमिज राजाले तीन सय ४९ रन बनाएका थिए ।

यसैगरी उक्त विश्वकपमा पाकिस्तानका वसिम अकरम सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले कुल १८ विकेट लिएका थिए । इङ्ल्यान्डका इयान बोथमले १६, पाकिस्तानका मुस्ताक अहमदले १६, न्युजिल्यान्डका क्रिस ह्यारिसले १६ र जिम्बाबेका एडो ब्रान्डेसले १४ विकेट लिएका थिए । उक्त विश्वकपमा न्युजिल्यान्डका मार्टिन क्रो म्यान अफ दी सिरिज घोषित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप