सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

अस्ट्रेलिया र वेस्ट इन्डिजले श्रीलङ्कामा खेल्न अस्वीकार गरेको छैटौँ विश्वकप

बुधबार, १७ असोज २०८०, १२ : १२
बुधबार, १७ असोज २०८०

यसअघिका विश्वकप एउटा वा दुईवटा राष्ट्रले आयोजना गर्दै आएकोमा विश्वकपको छैटौँ संस्करण भने तीनवटा राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका थिए । छैटौँ विश्वकपको आयोजकका रूपमा भारत, पाकिस्तान र श्रीलङ्का रहेका थिए ।

पाँचौँ विश्वकप आयोजना भएको ठिक चार वर्षपछि सन् १९९६ मा छैटौँ संस्करण आयोजना भएको थियो । छैटौँ विश्वकपका खेलहरू फेब्रुअरी १४ देखि मार्च १७ तारिखसम्म आयोजना भएको थियो । विश्वकपको यो संस्करण विल्स नेभी कटले प्रायोजन गरेको थियो । त्यसैले छैटौँ संस्करणको नाम पनि ‘विल्स विश्वकप—९६’ राखिएको थियो । 

Wills_World_Cup_1996

यो विश्वकपमा सहभागी टोलीको सङ्ख्या बढाएर १२ पुर्‍याइएको थियो । यो विश्वकपसँग एउटा रमाइलो घटना पनि जोडिएको छ । छैटौँ विश्वकप आयोजना हुँदा श्रीलङ्काको राजनीतिक स्थिति सहज थिएन । त्यसैले अस्ट्रेलिया र वेस्ट इन्डिजको टोलीले श्रीलङ्कामा खेल्न अस्वीकार गरेका थिए ।

आयोजकमध्येको एक श्रीलङ्का क्रिकेट बोर्डले सुरक्षा स्थिति बढाउने आश्वासन दिए पनि यी दुई टोलीले त्यहाँ खेल्न मानेनन् । त्यसैले श्रीलङ्का सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । यो विश्वकपमा खेलहरू भारतका विभिन्न १७ वटा रंगशालामा खेलाइएको थियो ।

यसैगरी पाकिस्तानका ६ वटा र श्रीलङ्काका तीनवटा रंगशालामा यो विश्वकपका खेलहरू खेलाइएको थियो । छैटौँ विश्वकपमा कुल ३७ वटा खेल खेलाइएको थियो । त्यसमध्ये १७ वटा खेल भारतमा खेलाइएको थियो । पाकिस्तानमा १६ र श्रीलङ्कामा चारवटा खेल खेलाइएको थियो ।

छैटौँ विश्वकपमा १२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । प्रतियोगिताको समूह ‘ए’ मा श्रीलङ्का, अस्ट्रेलिया, भारत, वेस्ट इन्डिज, जिम्बाबे र केन्या रहेका थिए । समूह ‘बी’ मा भने दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, इङ्ल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र नेदरल्यान्ड्स रहेका थिए । 

285643.5

प्रतियोगिताको प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका टोलीहरूले एकअर्कासँग एक—एक खेल खेलेका थिए । समूहगत चरणमा केन्याले वेस्ट इन्डिजलाई ७३ रनले हराएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा केन्याले हासिल गरेको यो पहिलो जित थियो । 

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा कुनै पनि एसोसिएट सदस्य राष्ट्रले टेस्ट राष्ट्रमाथि हासिल गरेको यो चौथो जित पनि थियो । यसअघि सन् १९७९ को विश्वकपमा एसोसिएट सदस्य श्रीलङ्काले भारतलाई, सन् १९८३ को विश्वकपमा जिम्बाबेले अस्ट्रेलियालाई र सन् १९९२ को विश्वकपमा जिम्बाबेले इङ्ल्यान्डलाई हराएका थिए । 

यो विश्वकपमा समूहगत चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने चार टोली क्वार्टरफाइनलमा पुग्ने प्रावधान राखिएको थियो । यसअघिका पाँचवटा विश्वकपमा क्वार्टरफाइनलको प्रावधान राखिएको थिएन । 

समूह ‘ए’ बाट श्रीलङ्का पहिलो, अस्ट्रेलिया दोस्रो, भारत तेस्रो र वेस्ट इन्डिज चौथो हुँदै अन्तिम आठमा पुगेका थिए । समूह ‘बी’ बाट भने दक्षिण अफ्रिका पहिलो, पाकिस्तान दोस्रो, न्युजिल्यान्ड तेस्रो र इङ्ल्यान्ड चौथो हुँदै अन्तिम आठमा प्रवेश गरेका थिए । 

प्रतियोगिताको क्वार्टरफाइनलमा श्रीलङ्काले इङ्ल्यान्डलाई पाँच विकेटले, भारतले पाकिस्तानलाई ३९ रनले, वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १९ रनले र अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

8xMi641s

यसैगरी प्रतियोगिताको सेमिफाइनलमा श्रीलङ्काले भारतलाई र अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हराएर फाइनलमा स्थान पक्का गरेका थिए । फाइनलमा भने श्रीलङ्काले अस्ट्रेलियालाई सात विकेटले हराउँदै उपाधि जितेको थियो । पहिलो संस्करणदेखि सहभागी हुँदै आएको श्रीलङ्काले विश्वकपको उपाधि चुमेको यो पहिलो पटक थियो । 

अस्ट्रेलियाले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । श्रीलङ्काले भने ४६.२ ओभरमा तीन विकेट गुमाएर दुई सय ४५ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । फाइनलमा श्रीलङ्काका लागि अरविन्दा डा सिल्भाले अविजित एक सय सात, असानका गुरुसिन्हाले ६५ र कप्तान अर्जुना रणतुङ्गाले अविजित ४७ रन बनाएका थिए । 

यसैगरी श्रीलङ्काका अरविन्दा डा सिल्भाले तीन विकेट पनि लिएका थिए । त्यसैले उनी फाइनल खेलमा म्यान अफ दी म्याच पनि घोषित भएका थिए । म्यान अफ दी सिरिजको पुरस्कार पनि श्रीलङ्काकै सनथ जयसूर्याले पाएका थिए । 

sachin

भारतका सचिन तेन्दुल्करले सर्वाधिक पाँच सय २३ रन बनाएका थिए । अस्ट्रेलियाका मार्क वाले चार सय ८४, श्रीलङ्काका अरविन्दा डा सिल्भाले चार सय ४८, दक्षिण अफ्रिकाका गेरी क्रिस्टेनले तीन सय ९१ र पाकिस्तानका सइद अनवरले तीन सय २९ रन बनाएका थिए ।

shane warne

सबैभन्दा बढी विकेट लिने बलर भने भारतका अनिल कुम्बले थिए । उनले प्रतियोगिता अवधिभरमा कुल १५ विकेट लिएका थिए । यसका अतिरिक्त पाकिस्तानका वकार युनिसले १३ तथा जिम्बाबेका पल स्ट्रङ, वेस्ट इन्डिजका रोजर होपर, अस्ट्रेलियाका डामिन फ्लेमिङ र अस्ट्रेलियाकै शेन वार्नले १२—१२ विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप