शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

महिला मन्त्री आचार्यको आदेशमा समाज कल्याण परिषद्का सदस्य सचिवलाई परिषद् प्रवेशमा रोक

मङ्गलबार, २३ असोज २०८०, १८ : १४
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टलाई परिषद् प्रवेशमा रोक लगाइएको छ । 

सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर परिषद् पुगेका सदस्यसचिव भट्टलाई परिषद्का कोषाध्यक्ष विनय लामाले मन्त्रीको आदेश भन्दै रोक लगाएका हुन् । सर्वोच्च अदालतको  अन्तरिम आदेश लिएर मंगलबार परिषद्मा कार्यभार सम्हाल्न गएका भट्टलाईलाई कोषाध्यक्षले मन्त्रीको आदेश भन्दै रोकेका हुन् । 

मन्त्रीको निर्देशन भएको भन्दै कोषाध्यक्षले सदस्यसचिव भट्टको पत्र दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएपपछि एकैछिन परिषद्मा भनाभनको स्थिति बनेको थियो । कर्मचारीले सर्वोच्चको अन्तरिम आदेश दर्ता गर्न नमानेपछि सदस्यसचिव भट्टले आफू नै परिषद्को प्रमुख भएको र सर्वोच्चको अन्तरिम आदेश लिएर आएकाले आफूले भनेको मान्नुपर्ने भन्दै दर्ता गर्न आदेश गरेपनि दर्ता शाखाका कर्मचारीले नमानेपछि आफैँ पत्र लिएर प्रशासन प्रमुखकोमा पुगेका थिए ।  कोषाध्यक्ष विनय लामाले मन्त्रालयले पुनः बहालको लागि दिएको पत्र दर्ता समेत रोक लगाएपछि परिषद्मा भनाभन समेत भएको थियो ।

निवेदन दर्ता गर्ने सवालमा कोषाध्यक्षसँग  लामो समय भनाभन भएपछि सुरक्षाकर्मीको उपस्थितिमा परिषद्का कर्मचारीले सदस्यसचिवको निवेदन दर्ता गरेका थिए । निवेदन दर्ता भएपछि सदस्यसचिव भट्टले सर्वोच्चबाट अन्तरिम आदेश पाएसँगै परिषद्मा कार्यभार सम्हाल्न आएको प्रतिक्रिया दिए ।

मन्त्रीपरिषद्को भदौ २९ गतेको निर्णय भन्दै महिला मन्त्रालयले पूर्वन्यायधिशको नेतृत्वमा छानबिन समिति गठन गरी सदस्यसचिव भट्टलाई मन्त्रालयमा हाजिर गराउने निर्णयविरुद्ध सर्वोच्च अदालतले सदस्यसचिव भट्टको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप