सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

शुक्रबार, २६ असोज २०८०, १५ : ४४
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।  

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा खाद्यान्नको मूल्यवृद्धि भएको यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गरिन् । उनले हवाई यातायात र स्थल यातायातमा ठगी हुनसक्ने भन्दै यात्रुको सहज यात्राका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गरिन् ।

प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकहरुको समस्यामा सरकार बेखबर रहेको बताए । उनले वीर अस्पतालबाट चिकित्सकहरुलाई अन्यायपूर्ण ढंगले निकालिएको बताए । त्यस्तै कालोबजारी भइरहँदा पनि सरकार बेखबर बनेको उनको भनाई छ ।

प्रतिनिधि सभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गरे । उनले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपालको उत्पादन पद्धतिमा नयाँ ढंगले सोचेर संरचनागत परिवर्तन गर्न आवश्यक भएको बताए । उनले विद्यमान आर्थिक संकट र चुनौतीहरुलाई संरचनागत परिवर्तन मार्फत् आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयादशमीको शुभकामना दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न आग्रह गरे ।

प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले दसैको समयमा हुने गाडी दुर्घटनाप्रति सरकार बेलैमा सचेत हुनुपर्ने बताए । उनले दसैँमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदा झडप हुने घटनाहरु आउने भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले दशैँको समयमा डेंगुको संक्रमण बढेको भन्दै लामखुट्टे मार्नका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप