आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘कोशीमा विद्रोहका लागि शेरबहादुरजीले मलाई धन्यवाद दिनुपर्छ’

यो घटनाले केन्द्रीय गठबन्धन तलमाथि हुँदैन : डा. शेखर कोइराला
आइतबार, २८ असोज २०८०, १९ : ०१
आइतबार, २८ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशको राजनीति घटनाले केन्द्रीय गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् । एमालेसँग मिलेर मुख्यमन्त्री बनको केदार कार्कीले गठबन्धनलाई पनि समेटेर जाने नेता कोइरालाले बताए । 

यस्तै कांग्रेसको भागमा परेको मुख्यमन्त्री माओवादीलाई दिएपछि कोशी प्रदेशमा विद्रोह गर्नुपरेको उनको भनाइ छ । मुख्यमन्त्री कार्कीलाई गठबन्धन कायम गरेर अगाडि बढ्न आफूले आग्रह गरेको नेता कोइरालाले बताए । 

कांग्रेसका ८ सांसदले विद्रोह गर्दा कोशीमा कांग्रेसकै सरकार बनेको भन्दै सभापति शेरबहादुर देउवाले आफूलाई धन्यवाद दिनुपर्ने उनको तर्क छ । कोशी प्रदेशको सत्ता समीकरणपछि विकसित राजनीतिक घटनामा केन्द्रित रहेका रातोपाटीका लागि लोकेन्द्र भट्टले कांग्रेस नेता शेखर कोइरालासँग गरेको कुराकानीको तल प्रस्तुत छ –

shekhar koirala (2)

कोशी प्रदेशमा तपाईंको समूहले विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाउने परिस्थिति किना आयो ?

यसमा पार्टीका सबै दोषी हुनुहुन्छ । मैले भनिराखेँ– उद्धव थापाजी दुई–दुई चोटि असफल हुनुभयो । राप्रपाले उहाँलाई मत दिँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभापति शेरबहादुर देउवाजीसँग राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनजीले पनि कुरा गर्नुभएको रहेछ । के भन्नुभयो थाहा छैन । तर, म हाम्रो संसदीय दलको नेता (उद्धव थापा)लाई राप्रपाले विश्वासको मत दिँदैन भन्नेमा विश्वस्त थिएँ । आज पनि छु ।

मैले सभापतिजीलाई पटक–पटक भनेँ । एक त नेपाली कांग्रेसको भागको कोशी प्रदेश खुसुक्क माओवादीलाई बुझाउनुको सट्टा उहाँहरू संसदीय दलको नेता परिवर्तन गरेको भए हुने थिएन ? संसदीय दलको नेता फेरेको भए मैले के गर्न सक्थेँ र ? जो संसदीय दलको नेता बन्थ्यो उसैलाई स्वीकार्य गरेर हिँड्नुपर्थ्यो ।

तर, कोशीमा मान्छे (मलाई) भित्तामा पुर्‍याउन थालेपछि के गर्ने ? मेरो ठाउँमा तपाईं भए के गर्नुहुन्थ्यो ? बिरालालाई ढोका थुनेर कुट्न थालियो भने चिथोर्छ भने जस्तै हो ।

कोशी प्रदेशबारे उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसँग पनि तपाईं समन्वय नगरेर एक्लै अगाडि बढ्नुभयो भन्ने छ । तपाईंले समन्वय नगर्दा एक्लिने परिस्थिति बनेको हो कि उहाँहरूले साथ दिन नचाहेका हुन् ?

सबै कुरा बाहिर ल्यायो भने काम हुँदैन । त्यो पनि बुझ्नुपर्छ ।  कतिपयलाई कुरा बताएँ, कतिपयलाई कुरा बताइन । तर, उहाँहरूले के सोच्नुभयो थाहा छैन । यहाँको गठबन्धन तलमाथि नहोस् भन्ने हो कि ? कोशीले यहाँको गठबन्धन तलमाथि हुँदैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ । त्यो हामीले बुझिरहेका छैनौँ । केन्द्रको गठबन्धन किन तलमाथि गर्ने ?

तर, कोशीमा मान्छे (मलाई) भित्तामा पुर्‍याउन थालेपछि के गर्ने ? मेरो ठाउँमा तपाईं भए के गर्नुहुन्थ्यो ? बिरालालाई ढोका थुनेर कुट्न थालियो भने चिथोर्छ भने जस्तै हो । मैले सुरुमा केदार कार्की (कोशीको मुख्यमन्त्री) को नाम लिएको होइन । 

shekhar koirala (4)

मैले संसदीय दलको नेता फेरौँ भनेको हो । संसदीय दलको नेता कसलाई बनाउने भन्दा केदार कार्की भनेको हुँ । कोशी प्रदेशको कांग्रेस संसदीय दलमा केदार कार्की त वैकल्पिक नेता हुन् नि ! यसअघि संसदीय दलमा पनि उहाँले प्रतिस्पर्धा गर्नुभएको थियो । संसदीय दलको नेता नफेरेर माओवादीलाई मुख्यमन्त्री बुझाएपछि मलाई चिन्ता लाग्यो । माओवादीले जे–जे माग्यो, त्यही त्यही दिँदै जाने हो भने हामी कहाँ पुग्छौँ ? मेरो चिन्ता त्यो हो । 

एमालेसँग समीकरण कसरी मिल्यो ? 

मैले ओलीजी (एमाले अध्यक्ष केपी शर्मा ओली) सँग भेटेको पनि छैन । एमालेका अरू साथीहरूसँग त भेटघाट भइरहन्छ । कहिले संसद्मा भेट हुन्छ कहिले कता भेट हुन्छ । चिया गफ भइरहन्छ । तर, यो बिचमा ओलीजीसँग भेटेको छैन ।

उद्धव थापालाई  फेरि मुख्यमन्त्री बनाउने निर्णय गरेको भए विरोध हुन्थ्यो, विद्रोह हुँदैन थियो । विरोध त मैले गरिहाल्थेँ ।

ओली र तपाईंबिच संवाद नभएरै कोशीमा एमालेले केदार कार्कीलाई समर्थन गर्‍यो त ? ओलीले तपाईंलाई ग्रीन सिंनल दिएर केदार कार्की मुख्यमन्त्री बन्ने परिस्थिति बन्यो होला । भेटर कुरा नभएपनि टेलिफोन संवाद त भयो होला नि ?

हाम्रो टेलिफोन संवाद पनि भएको छैन । संसदीय दलको नेता परिवर्तन नगर्ने र उद्धव थापाजीलाई नै राख्ने वा माओवादीलाई मुख्यमन्त्री दिने भनेपछि अनि न अगाडि बढ्यो कुरा । मैले कांग्रेसको भागमा परेको मुख्यमन्त्री जोगाउन केदार कार्कीजीलाई अगाडि बढ्नुहोस् भनेको हो । उहाँ अगाडि बढ्नुभयो ।

माओवादीलाई मुख्यमन्त्री छोड्दा तपाईंले विद्रोह गर्न भन्नुभयो । गठबन्धनले उद्धव थापालाई नै मुख्यमन्त्रीका रूपमा अगाडि सारेको भए विद्रोह गर्नु हुन्थ्यो ?

उद्धव थापालाई  फेरि मुख्यमन्त्री बनाउने निर्णय गरेको भए विरोध हुन्थ्यो, विद्रोह हुँदैन थियो । विरोध त मैले गरिहाल्थेँ । कांग्रेसको मान्छेले मुख्यमन्त्री पाउँदा विद्रोह हुँदैन नि !

shekhar koirala (3)

आफ्नो गुटको मान्छेलाई मुख्यमन्त्री बनाउन शेखर कोइराला दलीय पद्धतिविरुद्ध उभिए भनेर कतिपय टिप्पणी गरेका छन् । यसमा के भन्नुहुन्छ ।

मैले कांग्रेसको मुख्यमन्त्री बनाउन अडान लिएको हुँ । यसमा अरू कुरा के छ र ? सभापतिजीले पटक–पटक मसँग दोस्रो पटक पनि असफल भएपछि ‘उद्धव थापाले विश्वासको मत पाउँदैन, त्यो हुँदैन’ भन्नुहुन्छ । उहाँ हुँदैन भन्दैमा कांग्रेसले मुख्यमन्त्री नै छोडिदिने त ? प्रश्न यहाँनिर हो ।

कोशी प्रदेशमा केदार कार्की र इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रधानमन्त्री र सभापतिले तपाईंले के प्रस्ताव गर्नुभएको थियो ? तपाईंले किन भन्नु भएन ?

प्रधानमन्त्रीले ‘तपाईंले छोडिदिनुस् । जे भयो भयो । केदार कार्कीको दाबी फिर्ता गर्नुपर्‍यो’ भन्नुभयो । मैले ‘अब सम्भव छैन’ भनेँ । त्यहाँ नाम परिवर्तन गर्ने कुरा पनि भयो । केदारबाहेक अर्को नाम दिनुहोस् भन्नुभयो । मैले त्यो पनि हुँदैन भनेँ । केदारबाहेक उहाँहरूलाई अर्को नाम किन चाहियो ? त्यसको उहाँले जवाफ दिन भएन ।

केदार कार्कीले विद्रोहको नेतृत्व गर्नुभयो । उहाँलाई नै मुख्यमन्त्री स्वीकार गर्दा अराजकतालाई प्रशय दिए जस्तो हुन्छ भनेर विकल्प खोज्नु भएको हो कि ?

माओवादीलाई मुख्यमन्त्री दिने भनेर बसेर निर्णय गर्ने हाम्रो पार्टीको सभापति र पदाधिकारी हुन् अराजकता त । त्योभन्दा अराजक केही हुन्छ ? हामी जतिसुकै गठबन्धनमा भए पनि हाम्रो भागमा परेको मुख्यमन्त्री माओवादीलाई दिनुहुन्छ ? त्यो त मिल्दैन त । यसमा म प्रचण्डलाई दोष नै दिन्नँ । हाम्रा पदाधिकारीहरूको गल्ती छ । 

कोशीमा तपाईंले पार्टी पदाधिकारीसँगको लडाइँ जित्नुभएको हैन त ? खुसी हुनुहुन्छ ?

खुसी हुने वा मैले जितेँ भन्ने होइन । मलाई शेरबहादुरजीले धन्यवाद दिनुपर्ने हो । नेपाली कांग्रेसको मान्छे मुख्यमन्त्री भयो नि !

शनिबार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र तपाईंबिच बालुवाटारमा गठबन्धन कायम राख्ने सहमति भयो । यो सहमति नै किन गर्नुपर्‍यो ?

उहाँहरू (प्रचण्ड–देउवा)ले कोशीको कुरा जसरी पनि मिलाउने भन्नुभयो । मैले भने –केन्द्रीय गठबन्धन केही हुँदैन भन्ने पक्का गर्छु । त्यही अनुसार हामी तीन जनाले हस्ताक्षर गरेका हौँ ।

प्रधानमन्त्री प्रचण्डले कोशीमा सहमतिको सरकार सम्भव छैन भन्नुभयो । कोशीमा गठबन्धन एमालेसँगको सहमति कार्यान्वयन हुन्छ कि गठबन्धनसँग मिलेर अगाडि बढ्नुहुन्छ ?

उहाँ (प्रधानमन्त्री)ले भन्नुभएको कुरा तार्किक रूपमा ठिक छ । हाम्रो सभापतिजीले पनि त्यहीँ हुनुहुन्छ । मैले पनि त्यही भन्ने हो । मेरो पनि त्यही हो ।

अब यसो विचार गरौँ देशको परिस्थिति, राजनीतिक अवस्था, आर्थिक सामाजिक अवस्था, धार्मिक अवस्था र सांस्कृतिक अवस्थाले देश कहाँ पुगेको छ ? कतै व्यवस्था कोल्याप्स हुने दिशातिर त गइरहेको छैन ? हामीले केही गर्न सकेका छैनौँ । अराजकता चारैतिर फैलिराखेको छ । संसदीय व्यवस्थामा सरकार र विपक्ष हुनुपर्छ । त्यो महत्त्वपूर्ण पनि हो ।

अब कोशी प्रदेशको विपक्षी को त ?

मैले त्यो भनेको होइन । मैले भन्न खोजेको देशको परिस्थिति हेरेर पनि हामीहरुले केही न केही गर्नुपर्छ कि जस्तो लाग्छ । मैले कोशीको भनिराखेको होइन । व्यवस्था जान थालिसक्यो । हामी लडाइँ लडिरहने कुरा हुँदैन ।

यो व्यवस्था फालिदिने चाहिँ कसले हो ? तपाईंहरुको डर चाहिँ को सँग हो ?

हामीले । हामी भनेको जसले सरकार चलाउँदैछ, जसले राज्य सञ्चालन गर्दैछ । देश अराजकतातिर अगाडि बढिरहेको छ । तपाईं गएर गृहमन्त्री र अर्थमन्त्रीलाई गएर सोध्नुहोस् – सकारात्मक कुरा केही पाउनुहुन्छ ? सकारात्मक माहौल ल्याउनुपर्‍यो नि त । जताततै भ्रष्टाचार र अराजकता छ ।

कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि हिजोे सिधै केदार कार्की तपाईंको निवासमा आउनुभयो । आज उहाँ फर्किँदा के भनेर विराटनगर पठाउनु भयो ?

मिलेर जाऔँ । अहिले हामीले गठबन्धन तोड्नुहुँदैन भनेर उहाँलाई मैले भनेको छु । तर, के गर्नुहुन्छ ? गर्ने त उहाँले हो नि ! ३९ जना एमालेका सांसदले साथ दिनुभएको छ । मैले चाहिँ गठबन्धन नतोड भनेको छु भन्न चाहिँ ।

shekhar koirala (1)

मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गर्दा उहाँलाई सहयोग नगरेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाउनुहुन्छ ?

उहाँलाई सरकारमा लिनुपर्छ । भोलि–पर्सी भए पनि गठबन्धनका सबैलाई सरकारमा सहभागी गराउँदा राम्रो हुन्छ । मैले सबैलाई समेटेर अगाडि बढ्नु भएको छु । देशको परिस्थिति र राजनीतिक परिस्थिति बुझेर चल्नुपर्ने बेला आएको छ । देशमा मैलाएको अराजकतालाई सम्हाल्नुपर्ने चुनौती छ ।

अहिले इजराइलमाथि प्यालेस्टानी समूह हमासले हमला गर्दा इजरायलका पूर्व प्रधानमन्त्री वार क्याबिनेटमा बसेर काम गरिराख्नु भएको छ । उहाँ सरकार चलाइरहेको पार्टीको होइन । राष्ट्र अप्ठ्यारोमा परेका बेलामा सबै एक ठाउँमा आउनुपर्छ । अहिले राष्ट्र अप्ठ्यारोमा छ । सबै दलहरू मिल्नुपर्ने परिस्थिति सिर्जना भइरहेको मैले देखिरहेको छु । अराजकताले देश र व्यवस्था चुनौती दिइराखेको छ ।

कोशी प्रदेशबारे शेखर कोइरालाले लिएको अडानले भोलि पार्टीमा विभाजनतिर लिन्छ कि भन्ने कांग्रेसजनमा चिन्ता देखिन्छ । देउवाले कार्यशैली नसच्याउने र शेखर कोइरालाले कम्प्रमाइज नगर्ने अवस्थामा कांग्रेस दुर्घटनामा जान्छ किन भन्ने कांग्रेसीजनमा संशय पैदा गरेको छ । उनीहरुलाई पार्टी विभाजन हुँदैन भनेर कसरी आश्वस्त पार्नुहुन्छ ?

कुनै जनमानामा पार्टी विभाजन कसले गर्‍यो ? सबैलाई थाहा छ । मैले किन पार्टी विभाजन गर्ने ? म त्यो चाहन्नँ । मलाई जति दुःख भए पनि, जति दुःख भए पनि पार्टीभित्रै बस्छु ।

कोशीमा विद्रोह गर्ने सांसदलाई कारबाही कुरा थियो । यो कुरालाई कसरी व्यवस्थापन गर्नु भयो ?

पार्टीको पदाधिकारी बसेर अर्को पार्टीको मान्छेलाई मुख्यमन्त्री दिने निर्णय गर्नुहुन्छ ? नेपाली कांग्रेसको भागमा नपरेको भए जे गरे पनि हुन्थ्यो । कोशी प्रदेश त नेपाली कांग्रेसको भागमा परेको हो । नेपाली कांग्रेसको भागमा परेको मुख्यमन्त्री उहाँले माओवादीलाई दिनहुन्छ त । मैले अघि भने उद्धव थापाले नै सरकारको नेतृत्व गरेको भए विद्रोह गर्दिनँ थिएँ, विरोध गर्थेँ भनेर । त्यही अनुसार सबै कुरा व्यवस्थापन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप