मुख्यमन्त्री यादवद्वारा ‘बाटो पत्रकारिताको’ पुस्तक विमोचन
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र गृह, सञ्चार तथा कानुनमन्त्री मो. समिम लगायतका मन्त्रीहरूले संयुक्त रूपमा पत्रकारिता प्रशिक्षण सम्बन्धी पुस्तक विमोचन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बिच शुक्रवार आमसञ्चार प्राधिकरणले प्रकाशन गरेको ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै मुख्यमन्त्री यादवले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तालिम, प्रशिक्षण लगायतका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।
पत्रकारहरूले सत्यतथ्य र विश्वसनीयतालाई अझ सबल बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले भने ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखिदिनुपर्छ, पत्रकार र मिडियालाई म सम्मान गर्छु, मिडियाले गलत कार्यलाई गलत लेखिदिएमा त्यसैलाई आधार मानेर कारबाही गर्न प्रतिबद्ध छु ।’ सकारात्मक गतिविधि एवम् विषयवस्तुहरुलाई समेत पत्रकारहरूले मिडियामा समुचित स्थान दिनुपर्नेमा उनले जोड दिए । पत्रकार र मिडिया क्षेत्रको प्रवर्द्धन सम्बन्धी कार्यहरू अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिँदै मुख्यमन्त्री यादवले आवश्यक बजेट अभाव पूर्ति गरिने विश्वास व्यक्त गरे ।
गृह, सञ्चार तथा कानुन मन्त्री समिमले प्राधिकरणले प्रकाशन गरेको ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तकलाई बढी भन्दा बढी उपयोग गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरे । उक्त अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिंगासन सा कलबार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंह समेतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले प्राधिकरणको वार्षिक प्रतिवेदन समेत मुख्यमन्त्री यादव र गृह, सञ्चार तथा कानुनमन्त्री समिमलाई बुझाए । ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तकको लेखन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहेका पत्रकारिताका वरिष्ठ प्रशिक्षक धर्मेन्द्र झाले गरेको छ । उक्त पुस्तकमा आधारभूत पत्रकारिता, टेलिभिजन पत्रकारिता, श्रब्यदृश्य छायाङ्कन तथा सम्पादन, रेडियो पत्रकारिता, फोटो पत्रकारिता र कृषि पत्रकारिता सम्बन्धी तालिम सञ्चालनका लागि निर्देशिका सहितको पाठ्यक्रम समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण