आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : जो रुट (इङ्ल्यान्ड)

शनिबार, ०४ कात्तिक २०८०, १० : ५२
शनिबार, ०४ कात्तिक २०८०

जो रुट इङ्ल्यान्डका निकै अनुभवी खेलाडी हुन् । खासगरी तेस्रो नम्बरमा क्रिज समाल्न आउने ३२ वर्षीय रुट इङ्ल्यान्डको थुप्रै महत्वपूणर् सफलताका सारथी पनि हुन् । सन् २०१९ मा पहिलो पटक इङ्ल्यान्डलाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाउन पनि उनले महत्वपूणर् भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ को विश्वकपमा उनी इङ्ल्यान्डका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि बनेका थिए । त्यो विश्वकपमा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पाँचौँ स्थानमा थिए । उनले त्यो विश्वकपमा ११ पाली खेल्दै ६१.७७ को औसतले कुल पाँच सय ५६ रन बनाएका थिए । उनले दुई सतक र तीनवटा अर्धसतक पनि बनाएका थिए । 

जारी विश्वकपमा पनि इङ्ल्यान्डले निकै विश्वास गरेका खेलाडी हुन्, रुट । उनले जारी विश्वकपमा हालसम्म एक सय ७० रन बनाइसकेका छन् । न्युजिल्यान्डविरुद्धको खेलमा उनले ७७ रन बनाएका थिए । उनले बंगलादेशविरुद्धको खेलमा पनि ८२ रन बनाएका थिए । 

अफगानिस्तानविरुद्धको खेलमा भने उनी खासै जम्न सकेनन् । त्यो खेलमा उनले ११ रनमात्र बनाउन सके । तर, त्यो खेलमा उनले एक विकेट पनि लिएका थिए । उनी इङ्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार रन बनाउने खेलाडी हुन् । 

रुटले हालसम्म इङ्ल्यान्डका लागि एक सय ६५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय क्रिकेटको एक सय ५४ पालीमा उनले ४८.९७ को औसतले कुल ६ हजार चार सय १६ रन बनाएका छन् । 
एकदिवसीय क्रिकेटमा उनले १६ सतक र ३८ वटा अर्धसतक प्रहार गरिसकेका छन् । एकदिवसीय खेलमा उनको उत्तकृष्ट प्रदर्शन अविजित एक सय ३३ रन हो । उनले एकदिवसीय क्रिकेटमा ८४ वटा क्याच पनि लिएका छन् । 

यसैगरी रुटले टेस्ट क्रिकेटमा एक सय ३५ खेल खेल्दै ५०.२९ को औसतले कुल ११ हजार चार सय १६ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ३० सतक र ६० वटा अर्धसतक प्रहार गरिसकेका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन दुई सय ५४ रन हो । उनले टेस्ट क्रिकेटमा एक सय ८३ वटा क्याच पनि लिएका छन् ।

यसका अतिरिक्त उनले देशका लागि ३२ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलेका छन् । टी—२० क्रिकेटमा उनले ३५.७२ को औसतले कुल आठ सय ९३ रन बनाएका छन् । टी—२० मा उनले पाँचवटा अर्धसतक पनि प्रहार गरेका छन् ।

टी—२० क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन अविजित ९० रन हो । टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १८ वटा क्याच पनि लिएका छन् । यसैगरी उनले टेस्ट क्रिकेटमा ६०, एकदिवसीय अन्तर्राष्ट्रियमा २७ र टी—२० अन्तर्राष्ट्रियमा ६ वटा विकेट पनि लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप