शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मध्य पूर्वको तनावले बढाउँदैछ सुनको भाउ

आइतबार, ०५ कात्तिक २०८०, १४ : ४६
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । गएको हप्ता सुनको भाउ लगातार दोस्रो हप्ता पनि बढ्यो । मध्यपूर्वमा जारी युद्धका कारण सुन बजारमा लगानीकर्ताको आगमन जारी रहँदा बजारमा हरियाली छाएको हो । प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायलमाथि आक्रमण गरेयता वित्तीय बजारमा अनिश्चय ह्वात्तै बढेको छ । यस्तोमा लगानीकर्ताहरूले लगानीको दृष्टिले सुरक्षित मानिएको सम्पत्ति अर्थात् सेफ हेभन एसेटमा लगानी खन्याइरहेका छन् ।

रोचक कुरा चाहिँ के छ भने अमेरिकामा १० वर्षे ट्रेजरीको प्रतिफल बढेर ५ प्रतिशतमा उक्लिँदा पनि सुनको भाउ उकालो नै लागिरहेको छ । इराक र सिरियामा रहेको अमेरिकी सैन्य बेसमा हमासले ड्रोन आक्रमण गरेयता मध्यपूर्वमा युद्ध झनै भड्किएको छ । यी घटनाले अहिलेको द्वन्द्व भड्किएर अमेरिका इरानबिच टकराबको स्थिति उत्पन्न हुने हो कि भन्ने चिन्ता बढाएको छ । सीमामा इजरायलले सेनाको उपस्थिति बढाउँदै जानुले पनि तनाव बढाएको छ ।

शुक्रबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा कारोबार बन्द हुँदा स्पट गोल्ड प्रतिऔंस १ दशमलव ५५ प्रतिशतले बढेर १ हजार ९ सय ८१ डलर २२ सेन्टमा पुगेको थियो । कोमेक्स भने प्रतिऔंस १ हजार ९ सय ७७ डलर २८ सेन्टमा आएर बन्द भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा १ दशमलव ३५ प्रतिशत बढी हो ।

उक्त दिन सुनको भाउ अधिकतम प्रतिऔंस १ हजार ९९६ डलर ८३ सेन्टसम्म पुगेको थियो । यो मेयताकै उच्च हो । ‘भूराजनीतिक तनाव बल्झिँदै गर्दा सुरक्षा महसुस गरेर मानिसहरू सुनमा ओइरिरहेका छन्, मध्यपूर्वमा द्वन्द्व भड्कियो भने सुनको भाउ बढेर २ हजार डलरमा पुग्छ,’ सिकागोस्थित ब्लु लाइन फयूचर्सका प्रमुख बजार रणनीतिज्ञ फिलिप स्ट्रेइबल । गएको हप्ता मात्रै सुनको भाउ साढे २ प्रतिशतले बढ्यो । इजरायलमा आक्रमण भएयता सुनको भाउ प्रतिऔंस झन्डै १ सय ६० डलरले बढेको छ ।  

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने आशङ्का केही मत्थर भएकोले हालैका दिनहरूमा सुनको भाउले टेवा पाएको हो । ब्याजदर महँगो हुँदा सुनको लागत महँगो हुने भएकोले सुनको माग सुस्त रहन्छ । आगामी महिना बस्ने नीतिगत बैठकमा ब्याजदर स्थिर राख्ने अपेक्षा अहिले वित्तीय बजारमा उच्च छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप