बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी – एडम जाम्पा (अस्ट्रेलिया)

बुधबार, ०८ कात्तिक २०८०, १० : २४
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । जारी एकदिवसीय विश्वकपमा बुधबार पाँच पटकको उपाधि विजेता अस्ट्रेलियाले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । आफूले खेलेका अघिल्ला चारमध्ये दुई खेलमा पराजय भोगेकाले नेदरल्यान्ड्सविरुद्धको खेल सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न अस्ट्रेलियाका लागि निकै महत्त्वपूर्ण छ । 

तर, जारी विश्वकपमा अप्रत्याशित नतिजा निकाल्दै बलियो दक्षिण अफ्रिकालाई पराजयको नमिठो स्वाद चखाइसकेको नेदरल्यान्ड्सलाई अस्ट्रेलियाले कमजोर आँक्ने भुल भने पक्कै गर्ने छैन । यी दुई राष्ट्रबिचको खेल हुने दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा खेलिने छ ।

जारी विश्वकपमा यो स्टेडियममा निकै रन बनेको देखिन्छ । त्यसैले नेदरल्यान्ड्सका ब्याट्सम्यानलाई बढी रन बनाउनबाट रोक्न अस्ट्रेलियाले आफ्ना बलरहरूमाथि निकै आशा गरेको छ । त्यसमध्ये पनि अनुभवी स्पिनर एडम जाम्पाबाट अस्ट्रेलियन समर्थकले अझ उत्कृष्ट प्रदर्शनको आका गरेका छन् ।

सुरुका दुई खेलमा खासै प्रभावकारी नदेखिएका ३१ वर्षीय जाम्पा त्यसपछिका दुई खेलमा भने लयमा फर्किएका थिए । भारतविरुद्धको खेलमा विकेट लिन नसकेको जाम्पाले दक्षिण अफ्रिकाविरुद्धको खेलमा भने एक विकेट हात पारेका थिए । ती दुवै खेलमा अस्ट्रेलिया पराजित भएको थियो ।

त्यसपछि श्रीलंकाविरुद्धको खेलमा लयमा देखिएका जाम्पाले आठ ओभरमा एक मेडन राख्दै ४७ रन खर्चिएर चार विकेट लिएका थिए । लगत्तै पाकिस्तानविरुद्धको खेलमा पनि जाम्पाले १० ओभरमा ५३ रन खर्चिएर चार विकेट हात पारेका थिए । ती दुवै खेलमा अस्ट्रेलिया विजयी भएको थियो ।

अर्थात् जाम्पाले उत्कृष्ट प्रदर्शन गरेको दुवै खेलमा अस्ट्रेलिया विजयी भएको थियो । जाम्पाले हालसम्म अस्ट्रेलियाका लागि एकदिवसीय र टी—२० गरी दुई ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र खेलेका छन् । उनले टेस्ट भने खेल्ने अवसर पाएका छैनन् । 

जाम्पाले ८९ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक सय ५१ विकेट लिइसकेका छन् । एकदिवसीयमा उनको उत्कृष्ट प्रदर्शन ३५ रन दिएर पाँच विकेट हो । उनले एक पटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । उनले १० पटक चार विकेट हात पारेका छन् । 

यसका अतिरिक्त यी लेग स्पिनरले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७३ खेल खेल्दै ८२ विकेट लिइसकेका छन् । टी—२० मा उनको उत्कृष्ट प्रदर्शन १९ रन खर्चिएर पाँच विकेट हो । टी—२० मा उनले एक पटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप