बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी – स्कट एडवार्डस (नेदरल्यान्ड्स)

बुधबार, ०८ कात्तिक २०८०, १० : ५४
बुधबार, ०८ कात्तिक २०८०

जारी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले हालसम्म चार खेल खेलेको छ । आफूले खेलेका चारमध्ये एक खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । बाँकी तीनवटा खेलमा भने नेदरल्यान्ड्सले पराजय बेहोरेको छ । 

अप्रत्याशित नतिजा निकाल्दै बलियो दक्षिण अफ्रिकालाई हराएपछि नेदरल्यान्ड्सले गतिलै चर्चा बटुलिरहेको छ । त्यसैले बुधबार हुने आफ्नो महत्त्वपूर्ण खेलमा पाँच पटकको उपाधि विजेता अस्ट्रेलिया पनि नेदरल्यान्ड्ससँग निकै सचेत देखिएको छ । 

यो विश्वकपमा नेदरल्यान्ड्सको सबैभन्दा ठुलो हतियार हुन्, कप्तान स्कट एडवार्डस । आक्रामक ब्याट्सम्यानसँगै उनी टोलीका विकेटकिपर पनि हुन् । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराउँदा पनि एडवार्डसले ६९ बलमा एक छक्का र १० चौकाको मद्दतले अविजित ७८ रन बनाएका थिए । 

यसका अतिरिक्त न्युजिल्यान्डविरुद्धको खेलमा पनि २७ बलमा ३० रन बनाएका थिए । मध्यक्रमका क्रिज समाल्न आउनले एडवार्डसले बाँकी दुई खेलमा भने खासै प्रभाव देखाउन सकेका छैनन् । यद्यपि, अर्को अप्रत्याशित नतिजा निकाल्ने धुनमा रहेको नेदरल्यान्ड्सले अस्ट्रेलियाविरुद्धको खेलमा पनि आफ्ना कप्तानबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । 

२७ वर्षीय यी दायाँहाते ब्याट्सम्यानले हालसम्म नेदरल्यान्ड्सका लागि एकदिवसीय क्रिकेटमा एक हजारभन्दा बढी रन बनाइसकेका छन् । उनले ४२ एकदिवसीय अन्तर्राष्ट्रियको ३९ पालीमा ४०.४८ को औसतले कुल एक हजार तीन सय ३६ रन बनाएका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले १४ वटा अर्धशतक पनि बनाइसकेका छन् । एकदिवसीयमा उनको उत्कृष्ट प्रदर्शन ८६ रन हो । उनले ४३ वटा क्याच लिएका छन् भने विकेटकिपरको भूमिकामा आठवटा स्टम्पिङ पनि गरेका छन् ।

यसैगरी उनले देशका लागि ५१ टी—२० अन्तर्राष्ट्रियको ४४ पालीमा २१.१७ को औसतले कुल ६ सय १४ रन बनाएका छन् । टी—२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन अविजित ४२ रन हो । उनले टी—२० मा ४१ क्याच लिएका छन् भने ११ वटा स्टम्पिङ पनि गरेका छन् । 

अर्को रमाइलो संयोग के हो, भने एडवार्डस जन्म अस्ट्रेलियामै भएको हो । उनले सन् २०१८ को अगस्त १ तारिखमा नेपालविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेलमा उनले १८ रन बनाएका थिए भने खेल पनि नेदरल्यान्ड्सले नै जितेको थियो । 

बुधबार नेदरल्यान्ड्स र अस्ट्रेलियाबिचको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा खेलिँदैछ । जारी विश्वकपमा त्यो स्टेडियममा ब्याट्सम्यानले गतिलो रन बनाउँदै आएका छन् । त्यसैले बुधबार हुने अस्ट्रेलियाविरुद्धको खेलमा एडवार्डसको ब्याट्बाट उल्लेख्य सङ्ख्यामा रन बन्ने विश्वास नेदरल्यान्ड्सका समर्थकले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप