शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छः चित्रबहादुर केसी

बुधबार, १५ कात्तिक २०८०, १५ : १५
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् । 

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बबताए । उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताए । उनले समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरूका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका बताए । उनले शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाए । 

उनले भने, ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन । बिपनाको कुरा छाडिदिऊँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् । आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन । समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो । समानुपातिक राखेको त दलितहरू, विपन्न समुदायहरू, जनजातिहरू, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौँ । तर समानुपातिकमा त पार्टी भित्रका सबभन्दा धनाढ्यहरू, पहुँचवालाहरू आएपछि समानुपातिकको औचित्य के ? यसमा गम्भीर रूपले विचार गर्नुपर्छ । समानुपातिकमा पटक–पटक शक्ति, सम्पत्ति भएकाहरू दोहोरिएर आउने हो भने समानुपातिकको औचित्य रहन्न हाम्रो पार्टीको ठहर छ ।’

उनले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताए । त्यस्तै विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप