शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघको कार्यालयमा जान छाडे कर्मचारी

नियमित कार्य सञ्चालन गर्न सुवेदीको पत्राचार
बुधबार, १५ कात्तिक २०८०, १६ : ५१
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । दुई पक्षीय विवादका कारण असहज अवस्था सिर्जना भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा कर्मचारी जान छाडेका छन् । 

विगत तीन दिनयता कर्मचारीहरूले घरबाटै कार्यालयको काम थालेका हुन् । ‘काम गर्न असहज अवस्था भएपछि हामी कार्यालय गएका छैनौँ’, एक कर्मचारीले भने, ‘असन्तुष्ट पक्षले एउटा कुरा भन्ने र संस्थापनले अर्को कुरा भन्ने हुँदा काम गर्न असहज भएपछि घरबाटै कम गर्न थालेका छौँ ।’

यसबारेमा केही दिन पहिला संस्थापन पक्षका अध्यक्ष बद्री केसीलाई प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार रावतले काम गर्न असहज भएको जानकारी गराएका थिए । सो जानकारी पछि केसीले नै तत्कालका लागि घरबाटै कार्यसम्पादन गर्न निर्देशन दिएको बताइएको छ । 

अध्यक्ष केसीले असन्तुष्ट पक्षले कार्यालयमा होहल्ला गर्नेदेखि अनावश्यक दबाब दिएपछि कर्मचारी मानसिक तनावमा देखिएको बताए । कर्मचारीमा परेको असहज अवस्थालाई मध्यनजर गर्दै हाललाई घरबाटै कार्यसम्पादन गर्न भनिएको उनको भनाइ छ । 

यसैबीच असन्तुष्ट पक्षले भने कार्यालय खुला गर्न आग्रह गर्दै कार्यकारी निर्देशक राउतलाई बुधवार पत्र पठाएको छ । आरके शर्मा पक्षका महासचिव बुद्धि सुवेदीले कार्यालय नियमित सञ्चालन गर्न आग्रह गर्दै पत्र पठाइएको बताए । राउतलाई पठाइएको पत्रमा कार्यालय के कति कारणले बन्द गरिएको हो भन्नेबारे जानकारी सहित खोल्न भनिएको छ । 

पत्रमा भनिएको छ, ‘ गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा विदेशबाट गैरआवासीय नेपालीहरु नेपाल आएको अवस्था छ । यो अवस्थामा आफ्नो केन्द्रीय कार्यालयमा एनआरएनहरु कार्यालय बन्द भएको कारण जान नपाएको स्थिति छ । केन्द्रीय कार्यालय बालुवाटार पछिल्लो दुई दिनदेखि बन्द रहेको कारण नेपाल आएका एनआरएनले आफ्नो नियमित काम गर्न नसकेको अवस्था देखिएको छ । सार्वजनिक बिदा बाहेक कार्यालय खोल्नुपर्ने नियम रहे पनि के कति कारणले कार्यालय बन्द गरिएको हो ? त्यसको जानकारी सहित कार्यालय खोल्न अनुरोध गर्दछु ।’

एनआरएनएको ११ औँ विश्व सम्मेलनबाट बद्री केसी विजयी भएपनि अध्यक्षका दुई प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले नतिजा अस्वीकार गरेका छन् । असन्तुष्ट पक्षले शर्मालाई अध्यक्ष घोषणा गरेर आफू नै आधिकारिक दाबी गरेपछि दुई पक्षीय तनाव हुँदै आएको छ । सोही क्रममा मंगलबार कार्यालयमा युवा संघले केसीलाई बधाई दिन आयोजित कार्यक्रममा हातपात समेत भएको थियो । सो घटनापछि दुवै पक्षले एक अर्कालाई कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप