मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

वीर अस्पतालको कर्मचारी भर्नामा चलखेल, म्याद सकिने दिन सूचना !

शुक्रबार, १७ कात्तिक २०८०, १८ : १६
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । देशकै जेठो सरकारी अस्पताल वीर अस्पतालमा विभिन्न खालका विवाद भइरहन्छन् । चरम राजनीतिकरण र कर्मचारीका चलखेलका कारण बारम्बार सो अस्पतालमा समस्या आइरहन्छन् । 

पछिल्लो पटक वीर अस्पतालमा कर्मचारी भर्नामा त्यस्तै चलखेल भएको पाइएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्थानको स्वीकृत दरबन्दी अन्तरगत वीर अस्पतालमा करारमा कर्मचारी भर्ना गर्नेगरी गत कात्तिक १० गते नै एउटा निर्णय भयो । 

तर, उक्त निर्णय गुपचुप राखेर म्याद सकिने दिन अर्थात आज शुक्रबार मात्रै सार्वजनिक भएको पाइएको छ । पदपूर्ति समितिबाट १० गते भएको निर्णय म्याद सकिने दिन त्यो पनि कार्यालय समय सकिने बेलामा मात्रै सार्वजनिक गरिएपनि कर्मचारीहरु आक्रोशित बनेका छन् । 

उच्च तहका अधिकारीहरुले आफ्ना मान्छेलाई भर्ती गर्ने योजनाका साथ निर्णय लुकाएर सूचना ढिलागरी प्रकाशित गरेको उनीहरुको आरोप छ । ‘स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि–२०७६’ अनुसार प्रतिष्ठानले कात्तिक १० गते नै पदपूर्तिको निर्णय गरेको सूचनामा उल्लेख छ । 

उक्त सूचनाअनुसार मेडिकल ल्याब टेक्नेसियन, ल्याब टेक्नेसियन, इलेक्ट्रिसियन, प्लम्बर, लिफ्ट असिस्टेन्टसहित १३ जना कर्मचारी माग भएको थियो । उक्त पदमा दरखास्त दिनका लागि योग्य उम्मेदवारलाई शुक्रबारसम्मको समयमात्रै दिइएको भएपनि चलखेलका आधारमा सूचना नै लुकाउने काम भएको एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार दरखास्त आह्वानको निर्णय गर्दा समेत केही जिम्मेवार अधिकारीलाई बाइपास गरेर बैठक राखिएको थियो । 

सूचना अनुसार कात्तिक १९ गते नै अन्तरवार्ताको मिति राखिएको छ । उसो त हालै प्रतिष्ठानले रिक्त पदहरुमा पदपूर्ति गर्नेगरी समिति बनाएको थियो । सहायक निर्देशक डा श्रवण थापालगायतको समितिले यसबारे कार्य गर्दै आएकोमा कात्तिक १० मा निर्णय गरेर अनियमित ढंगले कर्मचारी भर्ना गर्न लागेको कर्मचारीहरुको आरोप छ ।

‘यो अलि पारदर्शी काम भएको छैन । आफ्नो मान्छे हाल्नका लागि सूचनासमेत लुकाउने काम भएको छ’ एक अधिकारीले भने, ‘कम्तिमा सूचना निकालिसकेपछि समय त दिनुपर्छ, कार्यविधिअनुसार करारमा कर्मचारी भर्नाको व्यवस्था भएपनि सट्याकसुट्क काम गर्न खोजिएको छ । यो गलत छ ।’ उनले शुक्रबार मात्रै अस्पतालको सूचनामा पार्टी यसबारेको सूचना टास भएको जानकारी दिए । 

यस्तै सहायक निर्देशक थापाले भने तुरुन्तै पदपूर्ति गर्नुपर्ने भएकाले आफूहरुले सूचना निकालेको बताए । तर, ढिलागरी सूचना जारी भएकोबारे उनले स्पष्ट जवाफ दिएनन् ।

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप