आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्प प्रभावित क्षेत्रबाट जनार्दन शर्मा : द्रुतगतिमा उद्धार गर्न सफल भयौँ, अब राहतका लागि तयारी गर्दछौँ

शनिबार, १८ कात्तिक २०८०, १७ : ५२
शनिबार, १८ कात्तिक २०८०

रुकुम पश्चिम । शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो क्षति पुर्‍याएको छ । शनिबार बिहान साढे ६ बजे हामी काठमाडौँबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमतर्फ लागेका थियौँ । बिहानै हामी जाजरकोटको खलङ्गामा पुग्यौँ । त्यहाँका भूकम्प प्रभावित जनतालाई भेट्यौँ, धेरै कच्ची घरहरू भत्किएको अवस्था छ । 

खलङ्गाका घाइतेहरूलाई भेटेर जाजरकोटको नलसिङगाड नगरपालिकामा गयौँ । त्यहाँ पनि त्यहाँका घाइते बिरामीलाई भेट्यौँ । ६ जना गम्भीर घाइतेहरूलाई हेलिकोप्टरमार्फत चौरजहारी अस्पताल पुर्‍यायौं । केही घाइतेलाई स्काई ट्रकमार्फत नेपालगञ्ज पठायौँ । 

चौरजहारीपछि हामी सानो भेरीमा गयौँ, त्यहाँका भूकम्प प्रभावित मृतकका परिवार, घाइतेहरूलाई प्रधानमन्त्रीज्यू सहित भेटघाट गर्‍र्यौ । त्यसपछि हामी मुसिकोटमा आयौँ । जिल्ला अस्पतालमा गएर बिरामीहरूसँग भेटघाट गर्‍र्यौँ । गम्भीर अवस्थामा रहेका बिरामीलाई त्यहाँबाट हामीले नेपालगञ्ज अस्पताल पठायौँ ।

त्यसपछि हामी आठबिसकोट नगरपालिकामा  गयौँ । त्यहाँ पनि भूकम्पले नराम्रोसँग क्षति पुर्‍याएको छ । मानवीय क्षति पनि भएको छ । त्यहाँ घाइतेसँग भेटघाट गरेपछि २ जना गम्भीर घाइतेलाई नेपालगञ्ज लिएर आयौँ । 

अहिलेसम्म जाजरकोटमा १०१ जनाको निधन भएको छ । रुकुममा ३९ जनाको निधन भएको छ । सामान्य घाइतेहरु धेरै छन् । झन्डै डेढ सय गम्भीर घाइतेको सुर्खेत, नेपालगञ्ज लगायत त्यहाँका अन्य अस्पतालहरूमा उपचार भइरहेको छ । अरू जिल्लाका, पालिका अस्पतालमा पनि उपचार भइरहेको छ । गम्भीर घाइतेलाई आवश्यकता अनुसार सुविधा सम्पन्न अस्पतालमा रिफर गर्ने काम पनि भइरहेको छ । 

घाइतेहरूको उपचारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्य मन्त्रालयको टिम स्थलगत रूपमा प्रभावित क्षेत्रमा पुगेका छन् । उनीहरूले सामान्य घाइतेको स्थलगत रूपमा उपचार गरिरहेका छन्, गम्भीर घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याइसकिएको छ । भेरी अस्पताल, सुर्खेत अस्पताल र नेपालगञ्ज अस्पतालमा उपचार भइरहेको छ । 

रुकुम, जारजरकोटमा रहेका अधिकांश कच्ची घरमा क्षति र असर परेको छ । रुकुमको आठबिसकोट नगरपालिका, सानीभेरी, चौरजहारी नगरपालिका, नलसिङगाड, भेरी नगरपालिकामा कच्ची घरहरू करिब ९० प्रतिशत जस्तो, कतै ६० प्रतिशतजती ध्वस्त भएको रिर्पोट छ । 

प्रधानमन्त्री ज्यूसँगै ३ वटा हेलिकोप्टर, स्काई ट्रक घटनास्थलमा लगेर छिटो छिटो उद्धारको काम गर्न सकियो । अब भूकम्प प्रभावितहरुका लागि राहतको आवश्यकता छ । घर भत्किएकाहरूलाई पालको व्यवस्था गर्नुपर्ने आवश्यकता भएकोले त्यसको व्यवस्थापनका लागि काठमाडौँ फर्किएर आएका छौँ । अब रातभरि पाल खोजेर भोली बिहानसम्म तयारी गरेर भूकम्प प्रभावित क्षेत्रमा जाने तयारी गरेको छु । 

घाइतेहरूको त उद्धार गरियो अब घरबार विहीन भएका जनतालाई तत्काल अस्थायी बसोबासका लागि सामग्री चाहिएको छ । आजको बेलुका उनीहरूलाई कहाँ बस्ने भन्ने बासको समस्या छ । उपचारका लागि उद्धारमा लाग्दा आज राहतको काम गर्न भ्याइएन, भोली जसरी पनि उनीहरूलाई कमसेकम एउटा टेन्टको व्यवस्था कसरी गर्ने भनेर काठमाडौँ फर्केर विभिन्न संघ–संस्थासँग सम्पर्क गरिरहेका छौँ । कहाँ–कहाँ टेन्ट पाइन्छ, खोजेर भोली बिहान भूकम्प प्रभावित क्षेत्रमा जान लागिरहेका छौँ ।

घटनास्थलबाट द्रुतगतिमा उद्धारको काम भएको छ । भूकम्प प्रभावित क्षेत्रका जनता शोक, पीडा र त्रासमा छन् । सबैतिर सन्नाटा छाएको छ । प्रधानमन्त्रीज्यूले हामी साथमा छौं, आज हामीले उद्धार गर्‍र्यौँ भोली हामी राहत सामग्री पठाउँछौँ, अन्य आवश्यक व्यवस्था गर्छौ भनेर काठमाडौँ आउनुभएको छ । 

भूकम्प प्रभावित क्षेत्रमा ठूलो राहत प्याकेजको आवश्यकता देखिन्छ । प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक निर्णय गरेर अघि बढ्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय दातृ निकायहरूले पनि सहयोग गर्ने बताएका छन् । देशभरिबाट नै सहयोग गर्छौ भन्ने वातावरण बनिरहेको छ । हामी सबै मिलेर भूकम्पले भत्काएका बस्तीहरूको पुनर्निर्माण पनि गर्छौ, राहत र उद्धारको काम पनि गर्छौ भनेर प्रधानमन्त्री फर्कनुभएको छ । भोली बस्ने मन्त्रीपरिषद्को बैठकले यसबारे आवश्यक निर्णय गर्ला । 

भूकम्प प्रभावित क्षेत्रमा रहेका प्रत्येक वडा–वडामा कति वटा घरहरू कामै नलाग्ने गरी भत्किएको छ भनेर सर्वे गर्न साथीहरूलाई भनेको छु । भत्किएका घरहरूको रेकर्ड निकाल्ने काम हुँदैछ । सरकारलाई धन्यवाद छ, द्रुतगतिमा उद्धारको काम गर्न सकियो । भोलीदेखि कम्तीमा पाल र खाद्यान्नको व्यवस्था गर्नुपर्नेछ । त्यसका लागि हामीले प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेका छौँ, उहाँले त्यसका लागि प्रतिबद्धता जनाउनुभएको छ । 

देशैभरिबाट भूकम्पपीडितहरुका लागि सहानुभूति आइरहेको छ, सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै सहयोग सद्भाव व्यक्त गर्नेहरू सबैलाई धन्यवाद पनि दिन चाहन्छु । 

(भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पुगेका रुकुम पश्चिमका सांसद एवं पूर्वमन्त्री जनार्दन शर्मासँग रातोपाटी संवाददाता शम्भु दंगालले गरेको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन शर्मा ‘प्रभाकर’
जनार्दन शर्मा ‘प्रभाकर’
लेखकबाट थप