शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : च्याङ्ग्रो

आइतबार, १९ कात्तिक २०८०, ११ : ५७
आइतबार, १९ कात्तिक २०८०

“हामी त बूढाबूढी भयौँ । माछामासु खान छाडेको पनि दस वर्ष भयो । बाबुनानीहरुलाई भए पनि च्याङ्ग्रो ल्याउनु पर्दैन ?” नवमीको दिन बुबाले नाति नातिनीतिर हेर्दै भन्नु भयो । 

हामी सानो हुँदा बुबाले च्याङ्ग्रो डो¥याएर आउँदा हामी औधी रमाउने गर्दथ्यौँ । हाम्रो घरमा सानोतिनो  सरकारी जागिर खाने परम्परा हजुरबुबाको पालादेखि नै सुरु भएको रहेछ । 

“हजुरबुबा पनि मिलिसिया सिपाई हुनुहुन्थ्यो  र बेलाबेला तोडा चलानमा जानुहुन्थ्यो ।” हजुरआमाले भनेको पटक पटक सुने पनि अर्थ बुझिन । 

हालको नेपाल राष्ट्र बैंकको तोडा चलान कार्यसँग यसको सम्बन्ध थियो कि थिएन थाहा भएन । 

बुबाले पनि गाउँमा प्राविमा पढाउनु हुन्थ्यो । जागिर स्थायी भयो भनेर जेबि चकलेट बाँड्नु भएको अझै याद आउँछ । 

“ला बूढी यो अलग राख । यो दसैँ खर्च हो सरकारले दिएको ।” भन्दै आमालाई दिनु हुन्थ्यो । 

दसैँमा हाम्रा लत्ताकपडा, मरमसला, चानचुन पैसा र धुरीपालीको मर्मत गरेर च्याङ्ग्रो घिच्च्याउन त्यही आमालाई राख्न दिएको पैसाले भ्याउनु हुन्थ्यो बुबाले ।

म पनि सरकारी जागिर खाइ टोपलेको मान्छे हुँ ।  तर,  बिचारा मेरो दसैँ खर्च फूलपाती अष्टमी त देख्नै पाउँदैन । 

“के ल्याइस् त्यो ?” बुबाले मेरो हातमा झुण्डिएको प्लास्टिकको झोलातिर देखाउँदै सोध्नु भएपछि म झसङ्ग भएँ  । झट्पट् मैले जवाफ दिएँ, “च्याङ्ग्रो ।”
पोखरा–७, मासबार, कास्की
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप